
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतले गरेको फैसलाको पूर्णपाठविना पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन्।
आज दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले सत्तागठबन्धनमा भएको सहमतिअनुसार अदालतको फैसलाको पूर्णपाठविनै गृह मन्त्रालय पाउनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले भने, ‘मन्त्रालय दिन किन फैसलाको पूर्ण पाठ चाहियो, पुराण वाचन गर्ने हो र ?’
ओलीले गठबन्धनमा रहेको रास्वपालाई गृह मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड र आफूबीच पनि सहमति कायमै रहेको बताए।
उनले प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धनकै उम्मेदवारलाई सहमति गरेर साझा राष्ट्रपति बनाउने कुरालाई नै साझा राष्ट्रिय सहमतिको कुरा गरेको बताए। अध्यक्ष ओलीले भने, ‘साझा राष्ट्रिय सहमति भनेकै सत्तागठबन्धनभित्रैबाट राष्ट्रपति बनाउने भन्ने कुरा हो, बाहिरको उम्मेदवारलाई बनाउने भन्ने कुरा हाेइन।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा सहभागी हुने टिप्पणी गरे।