
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नै निरन्तरता दिने भएको छ । बैंकको बुधबार बसेको ४११औँ सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षका लागि निरन्तरता दिँदै पुनः नियुक्त गरेको हो ।
पोखरेलले स्थापना कालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहाेदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । उनी ०६५ सालदेखि नै दोस्रो वरीयतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
बैंकमा आबद्व हुनुअघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहाेदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छाशक्ति भएका व्यक्तिका रूपमा परिचित छन् ।