१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ माघ १९ बिहीबार ०७:४९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

‘किशोर चिम्पान्जीभन्दा किशोर मानव बढी अधैर्य’

Read Time : > 2 मिनेट
२०७९ माघ १९ बिहीबार ०७:४९:००

चिम्पान्जीका किशोरकिशोरी हामी मानवका किशोरकिशोरीभन्दा खासै फरक नभएको एक नयाँ अध्ययनको निष्कर्ष छ । एउटै भिन्नता किशोर मानव किशोर चिम्पान्जीभन्दा बढी आवेगपूर्ण पाइए ।अमेरिकन साइकोलोजिकल एसोसियसनले जर्नल अफ एक्सपेरिमेन्टल साइकोलोजीमा २३ जनवरीमा प्रकाशित गरेको एक अध्ययनअनुसार अनुसन्धाताहरूले कंगोको जंगलमा जन्मिएका ४० चिम्पान्जी र मानव किशोरकिशोरीको समूहमाथि उनीहरूको जोखिम उठाउने र आवेगको प्रवृत्तिमाथि अध्ययन गरेका थिए । ‘किशोर मानव तीव्र शारीरिक एवं मानसिक परिवर्तनसँग पौँठेजोरी खेलिरहेका हुन्छन् ।

उनीहरू वयस्कको तुलनामा अधिक आवेगपूर्ण, जोखिम मोल्ने र भावनाहरूमाथि नियन्त्रणको सवालमा कमजोर हुन्छन्,’ मिसिगन विश्वविद्यालयकी मनोविज्ञान तथा मानवशास्त्रकी सहप्राध्यापक एवं अध्ययनकी प्रमुख डा. अलेक्स्यान्ड्रा रोसाटी भन्छिन्, ‘हुर्किंदै जाँदा चिम्पान्जीहरूले पनि मानिसले जस्तै धेरै प्रकारका (शारीरिक एवं मानसिक) चुनौतीहरूको सामना गर्छन् ।’ 

अध्ययनमा ५० वर्ष कुल आयु हुने चिम्पान्जीको ८ देखि १५ वर्षको उमेरलाई किशोर वयका रूपमा व्याख्या गरिएको छ । मानिसले जस्तै किशोर चिम्पान्जीले पनि हर्माेनको तीव्र परिवर्तन, नयाँ सामाजिक सम्बन्धहरू सामना गर्छन् । उनीहरूले पनि सामाजिक हैसियतका लागि बढ्दो आक्रमकता एवं प्रतिस्पर्धाको अनुभव गर्छन् । टेक्सास विश्वविद्यालयका मानवशास्त्रका सहप्राध्यापक डा. आरोन स्यान्डेल शिशु तथा वयस्क चिम्पान्जीको तुलनामा किशोर चिम्पान्जीबारे कम अध्ययन भएको बताउँछन् ।

उनी यो अध्ययनमा भने संलग्न थिएनन् । ‘किशोर (चिम्पान्जी)बारे अध्ययन सामग्रीमा निकै ठूलो कमी थियो,’ अनुसन्धाताहरूले यो उमेरबारे खासै ध्यान नदिएको बताउँदै स्यान्डेलले भने, ‘किशोरावस्थाबारे आफ्ना अनुभव निकै जटिल भएकाले पनि वैज्ञानिकहरूले चिम्पान्जीको किशोरावस्थाबारे अध्ययन नगरेका हुन सक्छन् ।’

किशोर चिम्पान्जीहरूलाई दुइटा परीक्षणबाट गुजारिएको थियो । यी चिम्पान्जी काँक्रो मन पराउँदैनथे, तर केरा एकदमै मन पराउँथे, जबकि बदाम अलिअलि मात्रै मन पराउँथे । एउटा कन्टेनरमा उनीहरूलाई देखाएर बदाम राखियो, अर्काेमा केरा र काँक्रोका टुक्रा मिसाएर राखियो र दुईमध्ये एउटा कन्टेनर रोज्न लगाइयो । काँक्रो र केरा सराबरी मिसाएर राखिएको कन्टेनर रोज्दा उनीहरूले काँक्रो वा केरा पाउने सम्भावना उत्तिकै हुन्थ्यो ।

यो खेलमा किशोर र वयस्क दुवै उमेरका चिम्पान्जीहरूलाई एउटा मात्रै कन्टेनर छान्न दिइएको थियो । वयस्कको तुलनामा किशोर चिम्पान्जी काँक्रो र केरा मिसाएर राखिएको कन्टेनरमा बढी गए । यसले उनीहरूमा जोखिम उठाउने प्रवृत्ति बढी भएको उजागर गर्‍यो । केराको सट्टा काँक्रो हातमा पर्दा भने दुवै उमेर समूहका चिम्पान्जीले समान रूपमा चिच्याउने, विलौना गर्ने, टेबल ठोक्नेजस्ता नकारात्मक प्रतिक्रिया प्रदर्शन गरेका थिए । 

दोस्रो परीक्षणमा सबै चिम्पान्जीलाई तुरुन्तै चाहिए केराको एउटा टुक्रा पाइहाल्ने तर एक मिनेट पर्खिए केराका तीन टुक्रा पाउने खेलबाट परीक्षण गरियो । वयस्क र किशोर दुवै चिम्पान्जीमा धेरै टुक्राका लागि पर्खिने दर समान थियो, तर किशोर चिम्पान्जीहरू पर्खिंदा वयस्कको तुलनामा बढी अधैर्य देखिएका थिए । यसबाट उनीहरूले किशोर चिम्पान्जीमा वयस्क चिम्पान्जीको तुलनामा जोखिम उठाउने प्रवृत्ति बढी रहेको तर धैर्यता वयस्कको तुलनामा कम भएको पाए । 

तर, मानवमाथि गरिएको यस्तै खाले परीक्षणमा मानव किशोरकिशोरीले पर्खिएर बढी इनाम लिने भन्दा पनि तत्कालैको इनाममा बढी अभिरुचि देखाएका थिए । स्यान्डेल मानिसको अनुभवलाई अन्य जनावरसँग तुलना गर्दा निकै होस पुर्‍याउनुपर्नेतर्फ औँल्याउँछन् । 

त्यसो भए सधैँ जोखिमपूर्ण व्यवहारमा संलग्न हुन उद्यत् रहने र कम धैर्यता भएका आफ्ना किशोरकिशोरीलाई अभिभावकले कसरी सम्हाल्ने त ? न्युयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका सहप्राध्यापक डा. हिना तलिब उनीहरूको विकासशील दिमागमा के खेलिरहेको छ भन्ने बुझ्नु महत्वपूर्ण हुने बताउँछिन् । मानव किशोरावस्था तीव्र वृद्धि तथा विकासको समय हो । यो उमेरमा उनीहरूको मस्तिष्क नयाँ अनुभव र जानकारीका लागि एकदमै लालायित हुन्छ । यही कारण उनीहरू जोखिम लिन उद्यत् हुने उनको कथन छ । 

आफू को हुँ भन्ने विचारको निर्माण पनि उनीहरूले यो उमेरमा गर्ने तलिब बताउँछिन् । किशोरहरू मस्तिष्कको भावना र प्रतिक्रियालाई नियन्त्रण गर्ने भागमा निर्भर हुन्छन् । यतिखेर बुद्धिको निर्णय निर्माण एवं तर्क गर्ने भाग वृद्धि हुनमा व्यस्त रहने विज्ञ बताउँछन् । तर, यसको अर्थ उनीहरू राम्रो निर्णय र दीर्घकालीन योजना निर्माणका लागि सक्षम हुँदैनन् भन्नेचाहिँ होइन । आवेगमा नरहेका र शान्त भएका बखत उनीहरूमा समस्याको समाधान खोज्ने क्षमता वयस्कहरूमा जत्तिकै हुन्छ भन्छिन् तलिब । 
सिएनएन