मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अजित अधिकारी काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०६:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे २७ लाखको डिजेल चोरीमा संलग्न व्यवसायी र चालक कारबाहीमा

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०६:१५:००

नेपाल आयल निगम लिमिटेडले अमलेखगन्ज (बारा)स्थित मधेस प्रादेशिक कार्यालयबाट विराटनरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि चलान भएको ट्यांकरबाट २७ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरको १६ हजार लिटर डिजेल चोरीमा संलग्न ढुवानी व्यवसायी र चालक–सहचालकलाई कारबाही गरेको छ ।

चोरी भएको डिजेल बोकेको को १ ख ३६५५ नम्बरबाट आगामी तीन महिनासम्म इन्धन ढुवानी नगर्ने गरी निलम्बन गरिएको छ । पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको पूर्वाञ्चल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गुणराज निरौलाको ट्यांकरलाई कारबाही गरिएको हो । पुराना र पूर्वाञ्चल क्षेत्रमा स्थापित ढुवानी व्यवसायी निरौलालाई चोरी भएको इन्धनको बजारमूल्यको दुई गुणा हुन आउने ५५ लाख चार हजार रुपैयाँ जरिवानासमेत तिराइने निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘ट्यांकरमा रहेको लकिङ तोडेर इन्धन चोरी गर्नु ठूलो अपराध हो । त्यसैले विनियमावलीमा भएअनुसारको हदैसम्मको कारबाही गर्ने निर्णय भएको हो,’ उनले भने । त्यस्तै, इन्धन चोरी गरेर पेट्रोलपम्पलाई बिक्री गर्ने चालक नवराज भुजेल र सहचालक अनिलकुमार चौधरीलाई इन्धन ढुवानी गर्ने ट्यांकर चलाउन आजीवन प्रतिबन्ध लगाउने निर्णय भएको उनले बताए । चोरीमा संलग्न चालक–सहचालकलाई आजीवन ट्यांकर चलाउन रोक लगाउने निर्णय भने पहिलोपटक भएको हो ।

यसअघि चोरीमा संलग्न चालक–सहचालकलाई ६ महिनासम्म निलम्बन गर्ने अभ्यास हुँदै आएको थियो । ढुवानी व्यवसायी र चालक–सहचालकसँग मिलेमतो गरी चार–चार हजार लिटर डिजेल खरिद गर्ने सप्तरीको दुईवटा पेट्रोलपम्प भण्डार आयल स्टोर्स र दिलीप टे«डर्सलाई एक–एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म पेट्रोलपम्प बन्द गराउने निर्णयसमेत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आगामी दिनमा यस्ता घटना दोहोरिन नपाउने गरी कडा कारबाही गर्नु आवश्यक भएको भन्दै कर्मचारीसँग राय मागेका थिए । निगमका कर्मचारीहरूले पनि कडा कदम चाल्न सुझाव दिएपछि चालक–सहचालक, ढुवानी व्यवसायी र पम्प सञ्चालकलाई कडा कारबाही गरिएको हो ।

यसपटक निगम व्यवस्थापनले चोरी घटना हुनासाथ कारबाहीका लागि अग्रसरता देखाएको हो । विगतमा भने चोरी घटनाको छानबिन गर्ने, डिपोबाट कारबाहीका लागि सिफारिस माग्ने र केन्द्रीय कार्यालयबाट कारबाहीको निर्णय गर्न समय लाग्ने गरेको थियो । यसपटक भने चोरी घटना मंगलबार दिउँसो बाहिरिएपछि कार्यकारी निर्देशक थानीको सक्रियतामा बुधबार नै कारबाहीको निर्णय लिइएको हो । साथै, डिजेल चोरी घटनाबारे विस्तृतमा अध्ययन गर्न एक छानबिन टोलीसमेत गठन गरिएको छ । अध्ययन टोलीले चोरी घटनामा कर्मचारीको मिलेमतो भए–नभएको बारेमा समेत छानबिन गर्ने जिम्मेवारी पाएको छ । 

प्रहरीले पुष्टि गरेको थियो चोरी घटना
गत ११ माघमा निगमको अमलेखगन्ज डिपोबाट विराटनगरका लागि निस्केको ट्यांकर एकदिनमै विराटनगर पुग्नुपर्ने थियो । विराटनगरमा तेल खन्याउने ठाउँ नभएकाले पालो कुर्नुपर्ने बहाना बनाएर सप्तरीमै पार्किङ गरी तेल चोरेर पेट्रोलपम्पलाई बिक्री गरेर ट्यांकर बेवारिसे बनाई छाडेको अवस्थामा सप्तरी प्रहरीले १४ माघमा फेला पारेको थियो ।

बरामद ट्यांकरको १ नम्बर च्याम्बरमा चार हजार लिटर डिजेल रहेको र अन्य २, ३, ४ र ५ नम्बर च्याम्बरमा रहेको कुल १६ हजार लिटर डिजेल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरी घटनामा संलग्न ट्यांकरचालक नवराज भुजेल र सहचालक अनिलकुमार चौधरी, चोरीको तेल खरिद गर्ने पम्प सञ्चालकद्वय शेखर गुप्ता र श्यामकुमार शाहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।