१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ १८ बुधबार ०९:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ १८ बुधबार ०९:५९:००

आलु किनेको पैसा नदिएपछि उत्पन्न झगडाले फोहोर व्यवस्थापनमा अवरोध, पक्राउ परेका स्थानीयलाई रिहा गर्न माग 

स्थानीय एक व्यक्तिलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको भन्दै नुवाकोटको ककनीवासीले काठमाडौं उपत्यकाको फोहोर ढुवानीमा अवरोध गरेका छन् । स्थानीय राजेश बलामीलाई प्रहरीवृत्त बालाजुले पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाएपछि रिहाइको मागसहित ककनीवासीले मंगलबार बिहानदेखि फोहोर बोकेका गाडी रोकेर अवरोध गरेका हुन् । 

सरिता राई, प्रमुख, वातावरण विभाग, काठमाडौं महानगरपालिका 
स्थानीयवासीले सडकमा घेरा हालेका र गाडी तोडफोड प्रयाससमेत गरेकाले ढुवानी रोकिएको छ । व्यक्तिगत झगडाको मुद्दामा समेत स्थानीयले फोहोर ढुवानीमा अवरोध गरेका छन् । यद्यपि, प्रहरी प्रशासन परिचालन गरेर अवरोध हटाउने पहल भइरहेको छ । ककनी, सिसडोल, बन्चरेडाँडा क्षेत्रका बासिन्दाले जे समस्यालाई पनि फोहोरसँग जोड्छन्, यसपटकको घटना पनि फोहोरसँग सम्बन्धित छैन । तैपनि, फोहोर ढुवानी रोकेका छन्, यो जायज होइन ।

अवरोधपछि बन्चरेडाँडाँतर्फ फोहोर बोकेर जाँदै गरेका टिपर बाटोमै रोकिएका छन् । स्थानीयवासीले सडकमा घेरा हालेको र गाडी तोडफोड प्रयाससमेत गरेकाले ढुवानी रोकेको महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार व्यक्तिगत घटना र मुद्दामा समेत स्थानीयले फोहोर ढुवानीमा अवरोध गरेका छन् । यद्यपि, प्रहरी प्रशासन परिचालन गरेर महानगरले अवरोध हटाउने पहल गरिरहेको उनको भनाइ छ । ‘ककनी, सिसडोल, बन्चरेडाँडा क्षेत्रका बासिन्दाले जे समस्यालाई पनि फोहोरसँग जोड्छन्, यसपटकको घटना पनि फोहोरसँग सम्बन्धित छैन,’ उनले भनिन्, ‘तैपनि, फोहोर ढुवानी रोकेका छन्, यो जायज होइन ।’

उनका अनुसार सयौँको संख्यामा आएका स्थानीयवासीले फोहोर ढुवानीमा अवरोध गरेका छन् । तत्काल फोहोर ढुवानी खुलाउन सम्भव छैन । प्रहरी प्रशासन लगाउँदा स्थानीय थप आक्रोशित हुने र फोहोर व्यवस्थापनमा जटिल समस्या आउने भएकाले यसबारे सहरी विकास मन्त्रालय, ककनी गाउँपालिका, महानगरपालिका, स्थानीयवासीबीच वार्ता गरिने विभाग प्रमुख राईको भनाइ छ । पक्राउ परेका बलामीलाई रिहा गरे समस्या समाधान हुने राईको भनाइ छ । बलामीविरुद्ध अभद्र व्यवहारअन्तर्गत उजुरी दर्ता भएलगत्तै ३ माघमा प्रहरीवृत्त बालाजुले पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालयलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए ।
काठमाडौं उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । दैनिक दुई सय टिपरले उक्त फोहोर बन्चरेडाँडामा बिसर्जन गर्छन् । 

यस्तो थियो घटना 
ककनीका राजेश बलामी आलु व्यापारी हुन् । उनी बालाजुमा सटर भाडामा लिएर आलु बेच्दै आएका छन् । १५ पुसमा बालाजुकै मिनु छन्त्याल केसी आलु किन्न बलामीकहाँ आएकी थिइन् । उनले उधारोमा आलु किनेर पनि लगिन् । दुई–तीन दिनसम्म पनि आलुको पैसा तिर्न ती महिला नआएपछि बलामी छन्त्यालको घरमै पुगे । घरमा आमाछोरी मात्रै थिए । बलामीले आलुको पैसा नदिएको भन्दै तथानाम मुख छाड्दै घरका अन्य सामान उठाउन थाले । छन्त्यालले आफ्ना श्रीमान्सँग हिसाब–किताब मिलाउन भनिन् । तर, बलामीले केसीको कोठाबाट खाट, दराज, सोफालगायत सामान उठाएपछि ती महिलाले प्रहरीमा उजुरी दिएको महानगरकी वातावरण विभाग प्रमुख राईले बताइन् ।

प्रहरीले कोठामै पुगेर गालीगलौज तथा अभद्र व्यवहार गर्दै सामान उठाएको आरोपमा बलामीलाई अभद्र व्यवहार गरेको भन्दै ३ माघमा पक्राउ गर्‍यो । जिल्ला प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले थप अनुसन्धान थाल्यो । उनलाई रिहा गर्नुपर्ने माग राख्दै स्थानीयले मंगलबारदेखि फोहोर ढुवानीमा अवरोध पुर्‍याएका हुन् । वृत्तका अनुसार ती महिला र उनकी छोरीलाई बलामीले कोठामै पुगेर दुव्र्यवहार, लछारपछार र कुटपिट गरेका थिए ।