Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ १८ बुधबार ०७:४९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतसँग राणाले जितेको र नेपालीले हारेको व्यापार

Read Time : > 5 मिनेट
२०७९ माघ १८ बुधबार ०७:४९:००

लखनउ र नेपालगन्जको बीचमा भारतको एक प्राचीन सहर छ, बहराइच । सन् १८८५ मा पटनाबाट त्यहाँसम्म रेलमार्ग पुर्‍याउने जिम्मा पाएको बेलायती कम्पनीले पूर्वनिर्धारित योजनामा एउटा महत्वपूर्ण बदलाव गर्‍यो । सुरुवाती योजनाअनुसार गोन्डादेखि ब्रह्मघाटसम्म ‘ब्रान्च लाइन’ विस्तार गर्नुपर्ने थियो । तर, कम्पनीले त्यो स्रोत र समय बहराइचबाट नेपाल सीमानजिक मुख्य लाइन विस्तार गर्नमा लगाउने निर्णय लियो । भारतमा घाग्रा नामले चिनिने कर्णाली नदी क्षेत्रमा पटनादेखि बहराइचसम्मको रेलवे लाइन बनाउने सम्झौता ‘बंगाल एन्ड नर्थ वेस्टर्न कम्पनी’ले पाएको थियो ।

ब्रिटिसहरूले भारतमा रेल निर्माण गर्ने कतिपय कम्पनीसँग निःशुल्क जमिन उपलब्ध गराउने र रेल सञ्चालनबाट भर्पाई गर्ने सम्झौता गर्थे । बंगाल एन्ड नर्थ वेस्टर्न कम्पनीको नेपालको सीमासम्म मुख्य लाइन विस्तार गर्ने निर्णयका पछाडि त्यही आफ्नो खर्च उठाउने र नाफा निश्चित गर्ने स्वार्थ थियो । नाफा बढाउने आधार नेपालसँगको त्यसवेलाको ठूलो व्यापारिक कारोबार थियो । 

त्यो कारोबार भारतबाट नेपालतर्फ आयात हुने सामग्रीको तथ्यमा आधारित थिएन, नेपालबाट भारततर्फ निकासी हुने सामग्रीले ल्याउने आयमा आधारित थियो । त्यसवेला ब्रिटिस भारतले जमिनबाट गर्ने व्यापारको ठूलो हिस्सा नेपालले ओगट्थ्यो । त्यसमा पनि बंगालको मात्रै ९२ प्रतिशत व्यापारको हिस्सा नेपालबाट हुने गरेको इन्डो–नेपाल ट्रेड रिलेसन (१८४६–१९४७ ) का लेखक विजयकुमार तिवारीले उल्लेख गरेका छन् । 

कुनै ठूला उद्योग नभएको, उत्पादनमा सिँचाइको निकै कमजोर व्यवस्था रहेको, मनसुनमा भर पर्ने कृषि अनि पर्यटनको सुरुवातै नभएको समय, हिँडेरै गन्तव्यसम्म पुग्नुपर्ने यातायातको अवस्थामा नेपालले भारतसँग कसरी नाफा कमाइरहेको थियो ? त्यसको जवाफ तथ्यांकहरूले दिन सक्छन् । तर, खास परिवारको स्वार्थका लागि जहानियाँ शासन चलिरहेको देशमा हिसाबकिताब लुकाउनु पहिलो प्राथमिकता हुन्थ्यो । राणाशासनको एक सय वर्षमा नेपालको राजस्व आम्दानीसम्बन्धी धेरैजसो तथ्यांक पाइँदैन । राणाकालमा तथ्यांक लुकाउन उर्दी नै जारी गरिएको थियो— ‘कच्चा नछाड्नु, जम्माजम्मी नपार्नु ।’ 

फलस्वरूप देशको आम्दानी र खर्चको हिसाबकिताबसम्बन्धी पूरा जानकारी श्री ३ सँग मात्र हुने गरेको सरदार भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’मा उल्लेख गरेका छन् । त्यही नीतिले नेपालसँग भारतको व्यापारबारेको तथ्यांक अनुमानमा आधारित छ । तर, ब्रिटिसहरूले भने उपलब्ध भएसम्मको तथ्यांक राख्ने र प्रकाशित गर्ने गरेका थिए । 

राणाकालमा राम्रो नाफामा रहेको नेपालको वैदेशिक व्यापारबाट देशले केही पाएन । यसबाट जित राणाहरूको र हार नेपाली जनताको भएको थियो ।
 

‘विहार र ओरिसाको नेपालसँगको सीमापार व्यापारको वार्षिक प्रतिवेदन १९१९’ मा नेपालले त्यो समयमा कस्ता सामग्री बेचेर नाफा कमाइरहेको भनेर बुझाउने रोचक तथ्यहरू भेटिन्छन् । अहिलेको विहार, झारखण्ड र ओडिसा राज्यहरू त्यसवेला विहार र ओरिसा राज्यअन्तर्गत पर्थे । रिपोर्टमा नेपालले ती राज्यसँग मात्रै औसतमा वार्षिक नब्बे लाखमाथिको व्यापार नाफा गर्ने गरेको भेटिएको छ । 

तिवारीले पनि आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार सन् १९०० देखि १९१३ सम्मको तथ्यांकमा नेपालले भारतसँगको व्यापारमा २१ करोड ९५ लाख व्यापार नाफा गरेको छ । त्यसबाट एक करोड ४६ लाखको हाराहारीमा नेपालको वार्षिक औसत व्यापार नाफा देखिन्छ । यसरी हेर्दा विहार र ओरिसासँग हुने व्यापार नै नेपालको मुख्य व्यापार थियो भनेर बुझ्न सकिन्छ । 

भारतको अनिकालले बढाएको नेपालको अन्न व्यापार :  नेपालको भारतसँगको व्यापार चाणक्यको युगमै स्थापित थियो भन्ने ऐतिहासिक आधार छ । आफ्नो भौगोलिक अवस्थितिको फाइदा उठाउँदै नेपालले कसरी तिब्बतलाई भारतसँग व्यापारमा जोडेको थियो, अनि मध्य–एसियासम्म पुगेको थियो भन्ने विषय नेपालबारे जान्न चाहनेहरूका लागि रुचिको विषय हो । भन्सार विभागले तयार पारेको प्रतिवेदन ‘नेपालमा करको इतिहास’ अनुसार लिच्छविकालमा ऊनीका कपडा, राडीपाखी, सुनचाँदी, सुनचाँदीका गहना, फलाम, फलामबाट बनेका हतियार, तामा, तामाका भाँडाकुँडा, याकको पुच्छर, औषधि नेपालले निर्यात गर्ने व्यापारका प्रमुख वस्तु थिए ।

मल्लकालमा काठका कलाकृतिसँगै जिउँदा जंगली जनावर, जस्तै– बाज, कस्तुरी मृग, बँदेल, हात्ती, घोडा नेपालले निर्यात गथ्र्याे । एउटा बँदेलको त्यसवेलै १५ रुपैयाँसम्म पर्ने गथ्र्याे । मल्लकालमा गाईपालन त सरकारी तवरबाटै गरिएको र नुवाकोटमा गाईका गोठहरू भेटेको कर्क प्याट्रिकले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन् । नेपालको भारतसँगको व्यापार उन्नाइसौँ शताब्दीको सुरुका दशकसम्म पनि परम्परागत निर्यात वस्तुहरू, जंगली उत्पादन तथा जडीबुटीका बिरुवामा आधारित थियो । तर, भारतमा आएको ठूलो प्राकृतिक प्रकोपले नेपाल र भारतको व्यापारको आयाम बदलिदियो । 

उन्नाइसौँ शताब्दीको मध्यतिरबाट धेरै भारतीय राज्यमा लामो खडेरी पर्‍यो, त्यसले भीषण अनिकाल निम्त्यायो । बिबिसी हिन्दीको एक रिपोर्टअनुसार सन् १८६६ मा ओडिसा राज्यमा भएको अनिकालले दश लाख मानिसको ज्यान लिएको थियो । त्यहाँका मानिस खान नपाई मरिरहँदा सोही वर्ष ब्रिटिसहरूले भारतबाट मात्रै बीस करोड पाउन्ड चामल बेलायत निर्यात गरेका थिए । त्यस्तै १८७६ मा मद्रासमा भएको अनिकालले त चालिसदेखि पचास लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ । 

भारतमा परेको अनिकालले नेपालबाट भारतर्फ अन्न निर्यात ह्वात्तै बढ्यो । परम्परागत व्यापारबाट अघि बढेर बीसौँ शताब्दीको सुरुमा नेपालबाट हुने खाद्यान्न, तेलीय उत्पादन, जीवजन्तु तथा जुटलगायत वस्तुको निर्यात बढ्दै गयो । १९१८ मा नेपालबाट निर्यात भएका सामग्रीमध्ये खाद्यान्न, तेलीय उत्पादन, जीवजन्तु, जुट, घिउ, सुर्तीजन्य पदार्थ र टिम्बरले ७८ प्रतिशत व्यापारको हिस्सा ओगटेका थिए । त्यही वर्ष नेपालले २९ लाखका जीवजन्तु भारत निर्यात गरेको थियो । नेपालले एक वर्षभित्र चामल, गहुँ, चना, दाललगायत खाद्यान्न मात्रै एक करोड ७४ लाख ९९ हजार सात सय ८० को निर्यात गरेको थियो । त्यसमा एक करोड ४७ लाख ४८ हजार पाँच सय २५ को त धानचामल मात्रै थियो । 

खाद्यान्नपछि नेपालले गर्ने व्यापार तेलीय उत्पादन थियो । तोरी, तिल आलस मात्रै नेपालले तीसौँ लाखको निर्यात गथ्र्याे । सन् १९१८ मा ३२ लाख एक हजार दुई सय ७२ को तेलीय उत्पादन बिक्री भएको देखिन्छ । त्यस्तै अर्काे ठूलो निर्यात हुने वस्तु जुट थियो । त्यस वर्ष नेपालले जुट मात्रै २५ लाख ८१ हजार आठ सय नौ रुपैयाँको निर्यात गरेको देखिन्छ । त्यस्तै बिहार र ओरिसा राज्यमा मात्रै चार लाख १० हजारको टिम्बर (सालको काठ) निर्यात भएको थियो ।

नेपालको भारतसँगको व्यापारमा टिम्बरको ठूलो हिस्सा थियो । भारतमा कुना कुनासम्म रेलका लिक बन्दा नेपालका तराईका लाखाँै माउन्ड काठ भारतका विभिन्न नाकाबाट निकासी हुन्थ्यो । सन् १८८५ मा मात्रै नेपालले ३६ लाखबराबरको ३५ लाख १७ हजार माउन्ड टिम्बर भारत निकासी गरेको थियो । नेपालबाट भारत जाने टिम्बरमा अनुसन्धानदाताहरूको पनि रुचि थियो । हिमालय स्टेट फर्मेसन एन्ड ब्रिटिस रुल इन नाइनटिन्थ सेन्चुरी’ लेखमा रिचार्ड इंगलिसले लेखेका छन्– ‘भारतमा निर्यात गर्ने टिम्बर कटान हुने क्याम्पमा पहाडबाट गएका मजदुरको भिड लाग्थ्यो ।’

सन् १८७८ देखि १८९० सम्ममा नेपालले दुई करोड ७१ लाखको टिम्बर भारत पठाइएको थियो । बाह्र वर्षको यो तथ्यांकबाट राणाहरूले एक सय चार वर्षमा त्यसवेलाको अर्बौंको काठ ब्रिटिसलाई बिक्री गरेको अनुमान गर्न सकिन्छ । 
नेपालको त्यो व्यापार हाम्रो सम्पन्नताको आधार थिएन : ब्रिटिस भारतसँगको नेपालको त्यो समयको व्यापार हेरेपछि अहिलेको हाम्रो व्यापारको तथ्य दाँज्न मन लाग्नु स्वाभाविक हो । सबैभन्दा पछिल्लो व्यापार तथ्यांकले नेपाल–भारतबीचको व्यापारको दयालाग्दो अवस्था देखाउँछ । 

आर्थिक वर्ष ०७९/८० को ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजारको सामग्री नेपाल आयात भएको छ । त्यसको तुलनामा निर्यात ८० अर्ब, ८० करोड ७४ लाख २१ हजारको छ । यो अवधिमा हाम्रो व्यापारको जम्मा हिस्सामा नौ दशमलव २५ प्रतिशत मात्रै निर्यातले ओगट्छ, ९० दशमलव ७५ प्रतिशत हामी आयात गर्छौं ।

चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख १८ हजारको सामग्री भारतबाट आयात गरेका छौँ भने त्यहाँ हाम्रो निर्यात ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको छ । तर, त्यसवेलाको हाम्रो व्यापारको आधार अत्यधिक उत्पादन र कम उपभोगले तय गरेको थिएन । राणाकालको समाप्ति भएको १५ वर्षपछाडिको एउटा तथ्यले तराई र पहाडी उत्पादनको असमानता र वितरणको समस्याले निर्यातमा योगदान दिएको प्रमाणित हुन्छ । 

पहाडमा तराईमा उत्पादन भएको अन्न पुर्‍याउने कुनै यातायातको सुविधा थिएन । अमृतमान श्रेष्ठले सन् १९६९ मा प्रकाशित गरेको ‘प्रब्लम्स अफ नेप्लिज’ इकोनोमी नामक पुस्तकमा नेपालमा खाद्य वितरणको समस्याबारे उल्लेख गरेका छन् । सन् १९६५ मा तराईमा १३ लाख १३ हजार चार सय ६५ मेट्रिक टन अन्न उत्पादन हुँदा पहाडी क्षेत्रमा पाँच लाख ७० हजार चार सय १२ मेट्रिक टन अन्न उत्पादन भएको थियो । तर, खपतको अवस्था भने उल्टो थियो । तराईमा सात लाख ४७ हजार ६ सय १३ मेट्रिक टन खपत हुँदा पहाडमा आठ लाख एक हजार तीन सय एक मेट्रिक टन खपत भएको थियो । यो तथ्यले तराईले पहाडलाई खाद्यान्न आपूर्ति गर्नभन्दा निर्यात गर्न सहज हुने अवस्थाले पनि नेपालले खाद्यान्न निर्यातबाट नाफा कमाइरहेको थियो । तर, त्यसको मूल्य पहाडका मानिसले भोको पेटबाट तिरिरहेका थिए । 

सन् १९१० को दशकमा नेपालको जनसंख्या वृद्धि माइनसमा गएको थियो । सन् १९११ मा नेपालको जनसंख्या ५६ लाख ३८ हजार सात सय ४९ थियो भने सन् १९२० मा त्यो घटेर ५५ लाख ७३ हजार सात सय ८८ पुगेको थियो । अर्थशास्त्री बिआर श्रेष्ठले आफ्नो पुस्तक ‘इकोनोमी अफ नेपाल’मा त्यसका मुख्य दुई कारण औँल्याएका छन् । पहिलो, नेपाली युवाहरू विश्वयुद्धमा भर्ती हुन गएकाले र दोस्रो त्यसवेलाको महामारीले नेपालीको मृत्यु भएकाले । नेपालले वार्षिक करोडौँको नाफा कमाए पनि त्यसको हिस्सा नेपालीको जनजीवन उकास्ने कार्यमा खर्च भएन ।

‘डेभ्लोपिङ एन इकोनोमी :  नेपाल्स एक्सपिरियन्स’मा अर्थशास्त्री सुखदेव साह सन् १९५० को नेपालको आर्थिक अवस्थालाई मूल्यांकन गर्दा राणा समयमा भएको अति सीमित प्रगति झल्कने उल्लेख गर्छन् । साह लेख्छन्– सार्वजनिक शिक्षा र स्वास्थ्य उपचारको अवस्था नगण्य थियो । देशको युवा जनसंख्या निरक्षर थियो । स्कुल जान लायकमध्ये एक प्रतिशतले पनि त्यहाँसम्म पहुँच राख्दैनथे ।’

त्यसवेला यातायातको सुविधा ‘न’बराबर थियो । नेपालमा राजनीतिक परिवर्तन भएको वर्ष सन् १९५१ मा एक सय किलोमिटर रेलवे ट्र्याक, पचास किलोमिटर रोपवे, चार सय किलोमिटर गाडी चल्ने बाटो थियो, जसमा चार किलोमिटर मात्रै पिच गरिएको थियो । उनका अनुसार शिशु मृत्युदर एक हजारमा तीन सय थियो । सबैभन्दा दयनीय नेपालीको सरदर आयु ३५ वर्ष मात्र थियो । खासमा त्यो व्यापारबाट जित राणाहरूको र हार नेपालीको भएको थियो ।