१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनिल यादव काठमाडौं
२०७९ माघ १७ मंगलबार १४:१४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालय नपाए के गर्छ रास्वपा ? 

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ माघ १७ मंगलबार १४:१४:००

रिक्त रहेको गृह मन्त्रालयलाई लिएर सत्तासाझेदार दलहरूबीच मतभेद सुरु भएको छ। सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र अब यो मन्त्रालय आफैसँग राख्नुपर्ने दबाब बढेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनभित्र ‘पावर सेयरिङ’ गरेर आफ्नो भागमा परेको यो मन्त्रालय कुनै पनि हालतमा नछाड्ने अडान राखेको छ। 

रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रीमा पुर्नवहाली गर्न आग्रह गर्दै आज बिहान पनि प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेरै भेटेका छन्। उता एमालेले पनि गठबन्धनभित्रको सहमतिअनुसार रास्वपालाई गृह मन्त्रालय दिन प्रचण्डमाथि दबाब बढाएको छ। आइतबार साँझ एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तामा पनि रविलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न ओलीले प्रचण्डलाई दबाब दिएका थिए। 

आइतबार पुनः पार्टी सभापति चयन भएकै दिन लामिछाने प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। गैरसांसदलाई ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्थाअनुसार उनले आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा पुर्नवहाली गर्न प्रचण्डलाई आग्रह गरेका थिए। तर, प्रचण्डले यसबारे कुनै ठोस जवाफ फर्काएनन्। 

स्रोतका अनुसार रविको राहदानीसम्बन्धी विवाद नसुल्झिएका कारण गृह मन्त्रालयको साटो अर्को मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले रविसँग आग्रह गरेका छन्। तर, रविले सरकार गठनअघि गठबन्धनभित्र भएको सहमतिअनुसार गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान राखेका थिए। सहमतिअनुसार गृह मन्त्रालय दिन ढिला गरे सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुने चेतावनीसमेत लामिछानेले दिएको रास्वपा स्रोतले भन्यो। 

लामिछाने आइतबार प्रचण्डसँग भेटवार्तापछि अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा पनि उनले सोही प्रस्ताव राखेका थिए। रास्वपा स्रोतका अनुसार ओली भने लामिछानेको प्रस्तावमा सकारात्मक थिए। ‘त्यो मन्त्रालय तपाईंहरूकै हो। माओवादीले राख्ने भन्ने हुन्न। ढुक्क हुनुस्, म मिलाउँछु,’ ओलीले लामिछानेलाई आश्वास्त पारेको रास्वपाकै एक नेताको दाबी छ। 

तर, माओवादी केन्द्रभित्र भने सरकारको नेतृत्व गरिरहेको दल भएका कारण यो मन्त्रालय आफैँसँग राख्नुपर्ने दबाब बढेको छ। माओवादीभित्र शक्ति बस्नेतको नाम नयाँ गृहमन्त्रीका रूपमा सुनिन थालेको छ। सोमबार भएको माओवादी पदाधिकारी बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई सञ्चारकर्मीले ‘अब गृहमन्त्री को ?’ भनेर जिज्ञासा राखेका थिए। जवाफमा ‘बनाएपछि थाहा हुन्छ,’ भन्दै प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट बाहिरिएका थिए। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनेमा विश्वस्त रहेको बताउँछन्। गठबन्धनभित्र फुट ल्याउन अहिले अनावश्यक हल्ला चलिरहेको उनको दाबी छ। ‘गृह मन्त्रालय हामीले पाउँदैनौँ भन्ने कुरामा हामीलाई विल्कुलै विश्वास छैन,’ उनले भने, ‘पार्टीबाट सभापति रवि लामिछाने जाने कि अरू नै कोही, त्यो दोस्रो कुरा भयो। अहिले भइरहेको बहस गठबन्धनमा फुट ल्याउने हिसाबले भइरहेको हो। कुरा गृहमन्त्रीको होइन, सत्तासाझेदार दलभित्र वैमानश्यता सिर्जना खोजिएको हो। यो हाम्रै मन्त्रालय हो। प्राविधिक कारणवशः आज प्रधानमन्त्री आफैँसँग हुनु स्वाभाविक हो, तर ब्याक टू ब्याक हाम्रै हो, हुन्छ।’

तर, रास्वपाकै अर्का एक सांसद गृह मन्त्रालय आफ्नो पार्टीबाट खोस्न सत्तागठबन्धनभित्र चलखेल सुरु भएको बताउँछन्। माओवादी आफैँले गृह मन्त्रालय राखेको अवस्थामा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने उनी बताउँछन्। ‘रवि लामिछानेको गृहमन्त्री पद खारेज हुनेबित्तिकै प्रधानमन्त्रीले उक्त मन्त्रालय खोस्न खोज्नु राजनीतिक बेइमानी हुन्छ,’ उनले भने, ‘बरु सभापतिज्यूको पासपोर्ट विवाद नसुल्झिएकाले अर्कै पात्र पठाउनुस् भनी आग्रह गर्न मिल्यो। तर, पार्टीको भागको मन्त्रालय नै खोज्नु त यहाँ अरू योग्य छैनन् भनी अपमान गरेजस्तो हुन्छ। यस्तो अवस्थामा सरकारलाई समर्थन गरेर बसिरहन सकिँदैन।’ 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेसँगको भेटमा गृह मन्त्रालय आफूलाई दिएर बदलामा रास्वपालाई अर्को कुनै मन्त्रालय लिन आग्रह गरेका छन्। तर, लामिछानेले त्यो तर्कसंगत नहुने भन्दै अस्वीकार गरेका छन्। पार्टीका महामन्त्री मुकुल ढकाल चित्तबुझ्दो कारणविना गृह मन्त्रालय छाड्न नसकिने बताउँछन्। ‘हामीले गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय किन लिने, त्यसको कारण हामीलाई स्पष्ट खुलाउन सक्नुपर्छ,’ उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अहिले गैरसांसद सभापति लामिछाने नगएको अवस्थामा दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारमध्ये एकले गृह मन्त्रालयको जिम्मेवारी लिने चर्चा छ।