Skip This
यातायात कार्यालयबाट चारजना पक्राउ, अभद्र व्यवहारसम्बन्धी मुद्दा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १७ मंगलबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात कार्यालयबाट चारजना पक्राउ, अभद्र व्यवहारसम्बन्धी मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १o:३५:oo

लहानस्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले चारजनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । लहानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा लहान नगरपालिका– ७ का ३३ वर्षीय नन्दन खेतान, नवराजपुर गाउँपालिका– १ का ४१ वर्षीय विष्णुदेव यादव, सप्तरीको खडक नगरपालिका– ३ का ४२ वर्षीय जिवछ ठाकुर र ३२ वर्षीय अनिलकुमार चौधरीलाई पक्राउ गरी सोमबार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ गरिएका चारजनाविरुद्ध सिराहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको कार्यालयमा सवारीचालक अनुमतिपत्र, नवीकरण, सवारी जाँचपास, नामसारी, सवारी कर, दर्ता, ठाउँसारी, रुट परमिटलगायतका काम हुने गरेको छ । 

त्यस्ता कामले पुग्ने सेवाग्राहीलाई काम छिटो गरिदिन्छु भन्दै बार्गेनिङ गर्ने, कार्यालयसम्बन्धी फाइल बोकेर विभिन्न फाँटमा जाने, प्रचलित कानुनले तोकेभन्दा बढी सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने गरेको भन्ने गुनासोको आधारमा अनुगमन गर्ने क्रममा पुष्टि भएपछि तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

कर्मचारी र बिचौलियाको सेटिङ
लहान– ८ मा रहेको यातायात व्यवस्था कार्यालयमा विभिन्न कामका लागि पुग्दा कार्यालयबाहिरदेखि नै लेखापढी व्यवसायी बताउने बिचौलियाले भित्रसमेत पस्न नदिई बार्गेनिङ गरेर आफैँले काम गरिदिने गरेको सेवाग्राही बताउँछन् ।

‘काम छिटो हुन्छ भन्दै त्यसबापत् सरकारी दस्तुरभन्दा ३० देखि ५० प्रतिशतसम्म बढी रकम लिन्छन्, तर रसिद सरकारी राजस्वको मात्र थमाउँछन्,’ सोमबार यातायात कार्यालयमा भेटिएका एक सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘छिटो काम सिध्याएर फर्किने हतार हुन्छ, भित्र फाँटवाला र प्रमुखसम्म सीधै पहुँच भएका बिचौलियाको भर नपरी धरै पाइन्न ।’

दुईपांग्रे, हलुका चारपांग्रे तथा हेभि सवारीचालक अनुमतिपत्र प्राप्तिका लागि त झन् यातायातका बिचौलियले भनेअनुसार रकम नदिए लिखित परीक्षा नै उत्तीर्ण नहुने उनले बताए । ‘आफ्नै बलबुतामा लिखित उत्तीर्ण भए पनि ट्रायलमै फालिने हुँदा त्यसको फाइदा फाँटवाला कर्मचारी, प्रमुख र बिचौलियाले लिइहेका छन् ।’

कार्यालयमा कामको प्रकृतिअनुसार आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर जाने सेवाग्राहीको काम सम्बन्धित फाँटमा पुगेको ३० मिनेटदेखि दुई घन्टाभित्र नभए सम्बन्धित फाँटवालाबाट सेवाग्राहीले क्षतिपूर्ति भराउन सक्ने क्षतिपूर्तिसहितको सेवाको व्यवस्था भए पनि सेवाग्राहीले बिचौलियाको भर नपरी कुनै काम नै नहुने, भए पनि झुलाउने गरेको सेवाग्राहीको गुनासो छ ।