१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नकुहिने फोहोर वर्गीकरण गर्दै मजदुरहरू । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फोहोरलाई कम्पोस्ट मल बनाउने काठमाडौं महानगरको योजना अलपत्र

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१९:oo

६ महिनासम्म कसरी अगाडि बढ्ने तयारी नै भएन, फोहोर व्यवस्थापनबारे वर्कसप गरिँदै

फोहोरलाई वर्गीकरण गरी कम्पोस्ट मल बनाउने काठमाडौं महानगरपालिकाको योजना जग्गा अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । मल बनाउनुअघि फोहोर वर्गीकरण गर्न आवश्यक ठाउँ फेला नपर्दा महानगरले यो योजनालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको हो । 

महानगरका अनुसार हाल वडा ४, ७ र १५ बाहेक फोहोरमैला वर्गीकरण प्रक्रिया अगाडि बढाउन सकिएको छैन । जसकारण साउनदेखि स्रोतमै वर्गीकरण गरेर बन्चरेडाँडामा फोहोर लैजाने महानगरको योजनाले पूर्णता पाउन सकेको छैन । महानगरले १ साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर नराखे, नउठाउने र कसुर मानी पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘साउनदेखि नै फोहोर वर्गीकरण गरेर उठाउने भनेको हो, तर अहिलेसम्म कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्न सकेका छैनौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘फोहोर छुट्याइसकेपछि त्यसलाई कम्पोस्ट बनाउनुपर्‍यो । त्यसका लागि न जग्गा प्राप्ति हुन सकेको छ, न उत्पादन भएको मलको व्यवस्थापन गर्नेबारे टुंगो लागेको छ ।’

काठमाडौं महानगर प्रवक्ता नवीन मानन्धर भन्छन्– 

गत साउनदेखि नै फोहोर वर्गीकरण गरेर उठाउने भनेको हो, तर अहिलेसम्म कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्न सकेका छैनौँ । फोहोर छुट्याइसकेपछि त्यसलाई कम्पोस्ट बनाउनुपर्‍यो । त्यसका लागि न जग्गा प्राप्ति हुन सकेको छ, न उत्पादन भएको मलको व्यवस्थापन गर्नेबारे टुंगो लागेको छ ।

महानगरले गत वैशाखमा जारी गरेको सूचनामा १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर पृथकीकरण गर्नुपर्ने उल्लेख थियो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै महानगरवासीलाई स्रोतमै फोहोरको पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरेको थियो । 

फोहोर छुट्याए डस्टबिन दिने
महागरपालिकाले हाल केही फोहोर बन्चरेडाँडा लगेर वर्गीकरण गरे पनि त्यसलाई प्रभावकारी बनाउन सकेको छैन । स्रोतमै फोहोर वर्गीकरण गर्नेलाई भने महानगरले डस्टबिन उपलब्ध गराउन थालेको छ । ‘यहाँ फोहोर वर्गीकरण गरेर उठाउन नसक्दा बन्चरेडाँडामै लगेर फोहोर वर्गीकरण गरिरहेका छौँ । केहीले फोहोर वर्गीकरण गरेर दिने गरेका छन् । उहाँहरूलाई डस्टबिन उपलब्ध गराउने गरेका छौँ,’ प्रवक्ता मानन्धरले भने । उनका अनुसार भिन्न–भिन्न क्षेत्रबाट विकल्प आइरहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे छिट्टै निचोडमा पुगिनेछ । ‘फोहोरबाट मल बनाउने, ग्यास बनाएर पनि अगाडि बढ्नेलगायतका विकल्प आएका छन् । यसबारे हामीले निर्णय लिन सकेका छैनौँ । अब केही दिनमा एउटा वर्कसप गर्दै छौँ । त्यसपछि ठोस निर्णयमा पुग्छौँ,’ उनले भने । 

हाल फोहोरमैला व्यवस्थापन संघ नेपालले तीन वडामा फोहोर वर्गीकरण गरेर उठाउन थाले पनि महानगरले जग्गा उपलब्ध गराउन नसक्दा अन्य वडामा विस्तार गर्ने योजना थाती राखेको छ । संघका महासचिव मित्र घिमिरेका अनुसार तीन वडाबाहेक २२ वडामा केही दिनमै फोहोर वर्गीकरण गर्ने योजना भए पनि त्यसले अझै पूर्ण रूप पाउन सकेको छैन । ‘महानगरले कम्पोस्ट मल बनाउन जग्गा उपलब्ध नगराउँदा अन्य वडामा फोहोरमैला छुट्याएर उठाउन सकिएको छैन,’ संघका महासचिव घिमिरेले भने, ‘महानगरले कम्पोस्ट मल बनाउने जग्गा उपलब्ध गराउने हो भने हामी त तयार छौँ ।’ उनले निजी क्षेत्रले फोहोर छुट्याएर उठाउन प्रारम्भ गरे पनि प्रभावकारी नभएको बताए । ‘हामीले तीनवटा वडामा फोहोर छुट्याएर उठाउने गरे पनि केही बासिन्दाले अझै सहयोग गरेका छैनन् । पूर्ण रूपमा फोहोर छुट्याउने काम भएको छैन । हामी पनि एग्रेसिभ तरिकाले जान सकेका छैनौँ । हामी फोहोर छुट्याउने अभियानमै छौँ । पब्लिकमा जनचेतना अभिवृद्धि पनि बढाइरहेका छौँ,’ उनले भने ।

संघका अनुसार हाल महानगरभित्रका ४, ७ र १५ नम्बर वडामा फोहोर छुट्याएर संकलन भइरहेको छ । संघले २२ नम्बर वडामा पनि केही समयपछि फोहोर छुट्याउने तयारी गरिरहेको छ । संघका अनुसार १, २, ३, ५, ६, ८, ९, १०, ११, १३, १४, १६, १७, २६, २८, २९, ३०, ३१ र ३२ वडामा पनि फोहोर वर्गीकरणको तयारी भइरहेको छ ।

 

ad
ad