Skip This
ग्वार्को फ्लाई ओभर निर्माण रोकियो : घुम्ती नपुग्ने भएपछि डिजाइन परिवर्तन गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १७ मंगलबार o६:१४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्वार्को फ्लाई ओभर निर्माण रोकियो : घुम्ती नपुग्ने भएपछि डिजाइन परिवर्तन गरिँदै

१७ करोड ६ लाख लगानीमा निर्माण हुने फ्लाई ओभर नेपालकै पहिलो हो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o६:१४:oo

गत २३ पुसबाट निर्माण सुरु भएको ग्वार्काे फ्लाई ओभरको (ओभर पास) निर्माण कार्य रोकिएको छ । निर्माण सुरु भएपश्चात् फ्लाई ओभरमुनिको सडकको घुम्ती नपुग्ने भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै निर्माण कार्य रोकिएको हो । गत पुसमै सडक विभागले फ्लाई ओभरको डिजाइन स्वीकृति गरेको थियो । त्यसलगत्तै २३ पुसदेखि ठेक्का प्राप्त आरसी, समानान्तर र रेलिग्रे निर्माण कम्पनीले पुल बनाउने कार्य सुरु गरेका थिए ।

विशेष गरी वैकल्पिक ट्राफिक बनाउने, क्याम्प बनाउने काम कम्पनीहरूले गरिरहेका थिए । तर, अचानक फ्लाई ओभरको डिजाइन परिवर्तन हुने भएपछि निर्माण कार्य रोकिएको सडक विभागका एक उच्च अधिकारीले जानकारी दिए । ‘पहिला फ्लाई ओभरको डिजाइन स्वीकृत गरेर नै निर्माण कार्य अघि बढाएको हो । तर, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने देखिएपछि निर्माण कार्य रोकिएको छ,’ उनले भने, ‘हामीले दिएको कमेन्टअनुसार निर्माण कम्पनीले फ्लाई ओभरको नयाँ डिजाइनसमेत पेस गरिसकेको छ । त्यो स्वीकृति भएपछि थप काम अघि बढ्छ ।’ साथै, एसेम्बल मोडलमा फ्लाई ओभर बनाउने भएपछि पनि निर्माण रोकिएको उनको भनाइ छ । 

काठमाडौं उपत्यकाको भित्री चक्रपथस्थित ग्वार्काे चोकमा निर्मित फ्लाई ओभर नेपालकै पहिलो हो । त्यसको निर्माण प्रयोजनार्थ २३ पुसमै ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक डाइभर्सनको समेत व्यवस्था गरिएको थियो । साथै, बीचको मुख्य सडकमा सवारी आवतजावत पनि बन्द गरिएको थियो ।

चक्रपथको उक्त खण्डको सडक आठ लेनको छ । त्यसमा बीचको मुख्य सडक चार लेनको छ भने दायाँ–बायाँका सहायक सडक दुई–दुई लेनका छन् । मुख्य सडक र सहायक सडकलाई छुट्याउन बीचमा अग्लो फुटपाथ छ । बीचमा भएको चार लेनको मुख्य सडकमै फ्लाई ओभर बनाउने हो । सोहीअनुसार बीचको मुख्य सडक बन्द गरेर निर्माण कार्य सुरु गर्ने तयारी थियो । साथै, ट्राफिक व्यवस्थापनका लागि मुख्य सडकलाई सहायक सडकसँग जोड्न फुटपाथ भत्काएर कालोपत्रेसमेत गरिएको थियो । तर, त्यसपछि आयोजना निर्माणको थप कार्य अघि बढेको छैन ।

विभागका प्रवक्ता भीमार्जुन अधिकारीले पनि फ्लाई ओभरको डिजाइन स्वीकृत हुने प्रक्रियामा रहेको बताए । ‘पहिला ट्राफिक व्यवस्थापन प्रयोजनका लागि ट्रायलका रूपमा निर्माण कार्य सुरु गरेको हो,’ उनले भने, ‘अब फ्लाई ओभरको डिजाइन स्वीकृत भएपछि मात्रै थप काम अघि बढ्छ ।’

 एसेम्बल मोडलमा निर्माण हुने 
अब फ्लाई ओभर एसेम्बल मोडलमा बनाइने भएको छ । यसअघि फ्लाई ओभरको संरचना तथा फाउन्डेसन आयोजनास्थलमै बनाउने भनिएको थियो । तर, त्यसो गर्दा लामो समयसम्म सडक बन्द गर्नुपर्ने अवस्था आयो । फलस्वरूप ट्राफिक व्यवस्थापनमा समेत चुनौती हुन्थ्यो । सोही अवस्थालाई दृष्टिगत गर्दै एसेम्बल मोडलमा फ्लाई ओभर बनाउन लागेको विभागका उच्च अधिकारीले बताए ।

फ्लाई ओभरमा बन्ने पिल्लरलगायतका फाउन्डेसन आयोजनास्थलमै निर्माण हुनेछन् । तर, पुललगायतका संरचना भने बाहिर कन्स्ट्रक्सन ल्याबमा बनाइनेछ । कन्स्ट्रक्सन ल्याबमा उक्त संरचना तयार भएपछि आयोजनास्थलमा ल्याएर जडान मात्रै गर्ने काम हुनेछ । 

‘एसेम्बल मोेडलमा काम गर्दा सडक पनि लामो समयसम्म बन्द गर्नुपरेन । त्यसैले एसेम्बल मोडलमा फ्लाई ओभर बनाउने गरी नयाँ ढंगले अघि बढेका छौँ,’ स्रोतले भन्यो, ‘अब बाहिर कुनै कन्स्ट्रक्सन ल्याबमा आयोजनाको संरचना निर्माण गरिनेछ । त्यसको निर्माण अन्तिम चरणमा पुगेपछि यता आयोजनास्थलमा फाउन्डेसन बनाउने काम सुरु गर्नेछौँ । यसो गर्दा ट्राफिक व्यवस्थापन गर्न पनि धेरै सजिलो हुने भयो । त्यसैले एसेम्बल मोडलमा अपनाएका हौं ।’

विशेष गरी पुल तलको सडकमा घुम्ती नपुग्ने देखिएपछि डिजाइन परिवर्तन गर्न लागिएको हो । पहिलाको डिजाइनअनुसार फ्लाई ओभर बनाउँदा पुलमुनिबाट गुड्ने सवारीसाधनलाई घुम्ती पुग्ने देखिएन । त्यसैले घुम्ती पुग्ने गरी पुल तल र साइडको सडकको चौडाइ बढाउन लागिएको विभागको भनाइ छ । त्यसबाहेक अन्य डिजाइन साबिककै हुने बताइएको छ । 

 थप लगानी नचाहिने, अवधि लम्बिने
आयोजनाको डिजाइन परिवर्तन भए पनि सरकार (सडक विभाग)लाई थप आर्थिक भार पर्नेछैन । निर्माण कम्पनीले पहिलाकै ठेक्का सम्झौता रकमअन्तर्गत आयोजनाको डिजाइन परिवर्तन गर्नेछ । तर, निर्माण अवधि भने लम्बिने बताइएको छ । यसै पनि आयोजनाको निर्माण कार्य झन्डै एक महिना रोकिएको छ । अब जति समयसम्म आयोजना निर्माण सुरु हँुदैन, थप त्यति समय नै आयोजनाको निर्माण अवधि बढ्ने देखिएको छ ।

विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने माघ ७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ठेक्का सम्झौता गरेको थियो । त्यसअनुसार आयोजनाको डिजाइन र निर्माण कम्पनीले गर्नुपर्नेछ । आयोजनाको डिजाइन र निर्माण मोडल परिवर्तन भए पनि थप लगानी गर्नुनपर्ने विभागको भनाइ छ । विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरेको छ । त्यसमा हालसम्म झन्डै ११ महिना समय बितिसकेको छ । अब १३ महिनामा कम्पनीले फ्लाई ओभर बनाइसक्नुपर्नेछ ।