मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामा पत्रकार सम्मेलनमा बोल्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १६ सोमबार ०७:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानमा चुलियो विवाद

सात असन्तुष्ट केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसँगै कार्यसम्पादन समितिका पाँच सदस्यको राजीनामा माग गरेका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १६ सोमबार ०७:१२:००

नेपाल क्रिकेट संघ (क्यान)का सात असन्तुष्ट केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसँगै कार्यसम्पादन समितिका पाँच सदस्यको राजीनामा माग गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यहरू छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज अन्सारी, करण महतरा क्षेत्री, अमितवीर पाण्डे र धर्मराज गिरीले नेतृत्वविरुद्ध नै असन्तुष्टि जनाउँदै अध्यक्षको राजीनामा माग गरेका हुन् । पत्रकार सम्मेलनमा पाण्डे र गिरीले व्यक्तिगत कारण देखाउँदै सहभागिता जनाएनन् । सात सदस्यले नेपाल टी–२० लिगमार्फत नेतृत्वले क्रिकेटको बदनाम गरेको आरोप लगाएका छन् । 

उनीहरूले स्पट फिक्सिङ र म्याच फिक्सिङमा अध्यक्ष चन्दसँगै कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदक खड्काको संलग्नता रहेको आरोप लगाएका छन् । नेपालको क्रिकेटमा पहिलोपटक म्याच फिक्सिङ प्रकरण भएका कारण नैतिकताका आधारमा अध्यक्षसहित अन्य पदाधिकारीले तत्कालै राजीनामा दिनुपर्ने असन्तुष्ट पदाधिकारीहरूले ठहर गरेका छन् । ‘हामी केन्द्रीय सदस्यहरू उहाँहरूको राजीनामा जोडदार रूपमा माग गर्छाैं,’ उनीहरूले संयुक्त रूपमा भनेका छन् । 

कार्यसम्पादन समिति नै प्रमुख दोषी
सात सदस्यले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा कार्यसम्पादन समितिका सदस्यले राजीनामा दिँदै नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायहरूलाई सघाउनुपर्ने बताए । क्यानसँग सम्झौता गरेको कम्पनी सेभेन थ्री स्पोट्र्सका प्रमुख जतिन अहलुवालिया स्पट फिक्सिङमा संलग्न हुनु दुःखद रहेको सदस्य लामाले बताएका छन् । ‘साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनु क्यानको कार्यसम्पादन समिति नै प्रमुख दोषी हो,’ लामाले भने । पत्रकार सम्मेलनमा लामाले आफू क्रिकेटविरोधी नभएको बताएका छन् । 

कार्यसम्पादन समितिलाई सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्न नहुने बताउँदा आफूहरूलाई क्रिकेटविरोधी आरोप लगाइएको लामाले जनाए । ‘अध्यक्षले जबर्जस्ती प्रतियोगिता आयोजना गर्नुभयो । त्यसवेला हामीले उहाँलाई सचेत गराएका थियौँ, उल्टै हामीलाई क्रिकेटविरोधी भन्नुभयो,’ लामाले भने, ‘तर, उहाँले अहिले आफैँ गल्ती गरेँ भन्नुभएको छ । अब सरकारले उहाँलाई कारबाही गर्नुपर्छ । विधि र ऐनअनुसार क्यान चल्नुपर्छ ।’

९ देखि २७ पुससम्म आयोजना भएको नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको थियो । प्रतियोगितामा लाइभ बेटिङ, स्पट र म्याच फिक्सिङका साथै खेलाडीले पारिश्रमिक नपाएको, विदेशी खेलाडीको श्रमस्वीकृति नभएको र आयोजक सेभेन थ्री स्पोर्टस्का मालिक जतिन भारत भागेपछि प्रतियोगिता चलिरहँदा नै विवाद सतहमा पुगेको थियो । 
यसपछि नेपाल टी–२० लिगलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले छानबिन गरेको थियो । सिआइबीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य मोहम्मद आदिल आलम र राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर मेहबुब आलम स्पट फिक्सिङमा संलग्न रहेको भन्दै पक्राउ गरेको छ । 

यसैगरी, राखेपको छानबिन कमिटीले क्यान र सेभेन थ्री स्पोर्टस्बीचको सम्झौता नेपालको प्रचलित ऐन, नियम, कानुनबमोजिम प्रक्रिया पूरा नगरी गरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको छ । प्रतियोगिता आयोजनाका लागि दुई पक्षबीच आठ वर्षको सम्झौता भएको थियो । क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्झौतामा आफूले गल्ती गरेको स्विकार्दै यसलाई सच्याएर अघि बढ्ने बताएको थियो । यद्यपि, सात सदस्यले सो पत्रकार सम्मेलन क्यानको आधिकारिक नभएको जनाए । 

 मार्गप्रशस्त गर्नुपर्छ : लामा
नेपाल टी–२० लिगको सम्झौताको पत्र आजसम्म हामीले पाएका छैनौँ । यसबीचमा तीनपटक सम्झौता परिवर्तन भएको छ । नियतमा खोट भएर नै हामीलाई सम्झौता देखाइएन । अब उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । गल्ती भएपछि किन पदमा बसिराख्नुभएको हो ? 

 संस्थाभित्रै लड्छौँ : गौतम 
राजीनामा नदिए हामीसँग विकल्प छ । राखेप र आइसिसीले सहयोग नगरे संस्थाभित्रै लड्छौँ । संस्था जोगाउन अघि बढ्छौँ । तर, क्रिकेट संघलाई निलम्बन हुन दिँदैनौँ । उहाँहरूले राजीनामा दिनुपर्छ । अन्तिम विकल्प के हुन्छ, केही समयपछि लिएर आउँछौँ । 

राखेपको स्वीकृतिविना नै मोन्टीले सुरु गरे प्रशिक्षण
प्रशिक्षक मोन्टी देसाईले राखेपको स्वीकृतिविनै आइतबारदेखि राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गरेका छन् । क्यानको कार्यसम्पादन टोली हुँदै प्रशिक्षक छनोट कमिटीले भारतीय नागरिक मोन्टीलाई प्रशिक्षकको रूपमा छनोट गरेको छ । शनिबार नेपाल आइपुगेका मोन्टीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका हुन् । पहिलो दिनको प्रशिक्षणमा २६ खेलाडी सामेल भएको कार्यवाहक सचिव मल्लले नयाँ पत्रिकालाई जानकारी गराए ।

 यद्यपि, क्यानले मोन्टीलाई मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरेको छैन । राखेपसँग स्वीकृति मागे पनि प्रक्रिया पूरा नभएपछि क्यानले प्रशिक्षण प्रभावित हुने भन्दै मोन्टीलाई सार्वजनिक नै नगरी मैदानमा झिकाएको हो । ‘हामीले राखेपसँग एक हप्ताअघि नै स्वीकृतिका लागि पत्र पठाएका हौँ । सरकारी प्रक्रियामा केही ढिला भएको हो । तर, प्रशिक्षकको अभाव नहोस् भनेर प्रशिक्षण सुरु गरेका हौँ,’ मल्लले भने ।

गत २९ मंसिरमा मनोज प्रभाकरले छाडेपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहीन थियो । २४ प्रशिक्षकले निवेदन दिँदा क्यानले भारतीय नागरिक मोन्टीलाई छनोट गरेको हो । मोन्टीसँगै क्यानले पूर्वप्रशिक्षक डेभ ह्वाटमोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादलाई सर्ट लिस्टमा क्यानले राखेको थियो । क्यानले पछिल्लो तीन वर्षमा मोन्टीलाई पाँचौँ प्रशिक्षक बनाएको छ । यसअघि प्रभाकरसँगै पुवुदु दासानायके, ह्वाटमोर र उमेश पटवाल नेपाली टोलीको मुख्य प्रशिक्षकमा रहेका थिए । चारै प्रशिक्षक सम्झौता अवधि नसकिँदै नेपाल छाडेर फर्किएका हुन् ।