
एमालेका महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्।
एमाले महासचिव पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्तासमीकरणमा फेरबदल नहुने स्पष्ट पारे। राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याको समाधान गरिने उनले बताए।
विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्ति नेपाल फर्किँदा स्वतः नेपाली नागरिक भएका आमअभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको उनको तर्क थियो।
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी गरे। अदालतमा त्यस्तै प्रकृतिका मुद्दाको निरुपण गर्न उदासीन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने, तर कतिपय मुद्दाको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए।