
एक युवा राजालाई दरबारको एउटा महत्वपूर्ण पदका लागि एक योग्य र विश्वसनीय उम्मेदवारको खाँचो थियो । उनले आफ्ना आसपासका युवकको विभिन्न कोणबाट परीक्षा पनि लिए । तर, उनी निष्कर्षमा पुग्न सकेनन् ।
उनी अन्योलमा परिरहेकै समयमा एक सन्त दरबारमा आइपुगे । उनी यसैगरी यदाकदा दरबारका अतिथि बनेर आउने गर्थे । युवा राजाले वयोवृद्ध सन्तसामु आफ्नो मनको द्विविधा प्रकट गरेर सहयोगको अपेक्षा गरे । उनले भने— मैले दरबारको महत्वपूर्ण पदका लागि अनेक युवकलाई फरक–फरक कोणबाट परीक्षण गरेको छु । अब मेरो दृष्टिमा दुई युवक परेका छन् । यिनै दुईमध्ये एकलाई म सो पद दिन चाहन्छु । तर, मेरो मनले दुईमध्ये एकको चयन गर्न सकिरहेको छैन । राजाको समस्या सुनिसकेपछि सन्तले प्रश्न गरे– को हुन् ती दुई युवक ? राजाले जवाफ दिए– दुईमध्ये एक त राजपरिवारभित्रकै हुन् । र, अर्काचाहिँ बाहिरका । तर, उनका पिता दरबारका पुराना सेवक थिए । अब उनको निधन भइसकेको छ । उनका पुत्र पढेलेखेर सुयोग्य बनेका छन् । सन्तले प्रश्न गरे– ती राजपरिवारका युवकको योग्यता कस्तो छ ? राजाले जवाफ दिए– उनको योग्यता सामान्य छ । सन्तले पुनः प्रश्न गरे– तपाईं कसको पक्षमा हुनुहुन्छ ? राजाले भने– मैले निर्णय लिन सकिरहेको छैन । मेरो मनमा द्वन्द्व मच्चिरहेको छ ।
सन्तले प्रश्न गरे– कुन कुरालाई लिएर तपाईंको मनमा द्वन्द्व चलिरहेको छ ? राजाले भने– राजपरिवारका युवक कम योग्य भए पनि उनी आफ्नै परिवारका नातेदार हुन् । सन्तले गम्भीर हुँदै राजालाई भने– महाराज, रोग पनि जब शरीरमा उत्पन्न हुन्छ त्यतिखेर त्यो आफ्नै हुन्छ । तर, उसको उपचार पहाड या जंगलमा हुर्किने जडीबुटीको प्रयोगबाट गरिन्छ । तिनै जडीबुटी आफ्ना नहुँदा–नहुँदै पनि हितकर हुन्छन् । सन्तको भनाइले राजाका आँखा खुले । उनले निष्पक्ष भएर योग्य युवकलाई दरबारको जिम्मेवार पदमा नियुक्त गरे ।