Skip This
विमान दुर्घटनापछि सुस्तायो पोखरा  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १३ शुक्रबार १५:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विमान दुर्घटनापछि सुस्तायो पोखरा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १५:४२:oo

माघ १ गते पोखराको सेतीकाे खोँचमा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि  पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। 

अंग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरि सुस्ताएको हो।

‘जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका  थिए । तर, विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेका छन्,’ रेवान पोखराका अध्यक्ष एवं होटेल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिए।   

‘अहिले झन्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ,’ उनले भने। हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिक रूपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनुजस्ता कारणले पर्यटक घटेको उनको भनाइ छ।  

यतिवेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन्। होटेल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो संख्या घटेको बताए। 

उनले भने, ‘विमान दुर्घटनापछि मानिसहरू मानसिक रूपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए, तर बुकिङ रद्द भइरहेका छन्।’ 

उनका अनुसार होटेल सरोवरमा  जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिक रूपमा समेत दुःखी भएको बताए। उनले, ‘अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटेलमा बुकिङ रद्द भइरहेका छन्।’

उनले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए।  

होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटेलमा ३०-४० प्रतिशत बुकिङ रहेकामा दुर्घटनापछि झरेर १०-१५ प्रतिशतमा पुगेको बताए।

‘बिस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ। सडक पूर्वाधार राम्रो छैन, त्यसैले अधिकांश हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे, दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्,’ उनले भने। 

उनका अनुसार लेकसाइड र ड्यामसाइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटेल छन्। जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि देखिएको छ। 

संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयमा दैनिक सिजनको वेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँच सयको हाराहारीमा आउने गरेको तथ्यांक अहिले घटेको जानकारी दिए। 

उनले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवं अन्य पर्यटक पनि नआएको उनको भनाइ छ। 

माघ १ मा काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज सेतीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो।