१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साना उद्यमीको समस्या समाधान गर्न महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३o:oo

व्यावसायिक उधारोका कारण व्यवसायीले देहत्याग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ । इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले मूलतः व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको विषयमा विज्ञप्ति निकाल्दै महासंघले यस्तो माग गरेको हो । 

तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताका कारण लाखौँ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएको महासंघको भनाइ छ । व्यावसायिक समस्याका कारण व्यवसायीहरू देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निकै दुःखदायी भएकोसमेत उल्लेख छ । 

ब्याजदर स्थायित्व, उधारोसम्बन्धी ऐन, दामासाहीसम्बन्धी ऐन, व्यावसायिक उधारोको बिमा, प्रक्रियागत सहजीकरण, सहज वित्तीय पहुँच, बजार पहुँच विस्तारलगायतका विषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट्र बैंक एवं अन्य सरोकारवालासमक्ष निरन्तर पैरवी गर्दै आइरहेको विषयसमेत महासंघले जोडेको छ । महासंघले यस्ता दुःखद घटना बढ्नुका पछाडि सरकार र केन्द्रीय बैंकबाट मागको सुनुवाइ नहुनुलाई कारण मानेको छ । 

लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघले सरकार, राष्ट बैंक र अन्य सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । ‘महासंघ आफैँले पनि यसै साता मात्रै लघु, घरेलु, साना एवं मझौला उद्यम प्रवर्द्धनका लागि पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरी सबैको ध्यानाकर्षण गराएको थियो । साथै लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पुर्‍याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी निकट भविष्यमा नै वेबसाइटमार्फत गुनासो संकलन गरी सम्बन्धित निकायमा पुर्‍याउने तयारी पनि गरिरहेका छाैँ । व्यावसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ ।’ 

महासंघ सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी–व्यवसायीलाई आफ्ना समस्याबारे महासंघलाई जानकारी गराउन आग्रह गरेको छ । समस्या समाधानका लागि महासंघले भरपूर प्रयास गर्ने बताएको छ ।