Skip This
६ महिनामै थन्कियो काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्स
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ माघ १३ शुक्रबार o९:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ महिनामै थन्कियो काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्स

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार o९:११:oo

सात कर्मचारी बिदामा, सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का लगाइँदै

काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न र भत्केको कालोपत्रे तत्काल मर्मत गर्ने गरी सञ्चालनमा ल्याएको ‘पूर्वाधार एम्बुलेन्स’ थन्किएको छ । खाल्डा टाल्ने काम प्रभावकारी नभएको भन्दै मेयर बालेन्द्र साहले पुसदेखि नै पूर्वाधार एम्बुलेन्स सेवा बन्द गराएका हुन् । एम्बुलेन्स सञ्चालनका लागि तीनजना इन्जिनियरसहित सातजना कामदार राखिएको थियो । एम्बुलेन्स नै बन्द भएपछि उनीहरू पनि बिदामा छन् । महानगरले असारमा पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । 

खाल्डा टाल्न छाडेर १५ करोडको ठेक्का लगाइँदै
सडकका खाल्डा पुर्नसमेत पछि हटेको महानगरले १५ करोडमा महानगरभित्रका सडक कालोपत्रे गर्न ठेक्का लगाउँदै छ । अहिले महानगरभित्रका अधिकांश सडक कालोपत्रे भएका वेला ठेकेदार कम्पनीलाई पोस्न मेयर साहले नै खाल्डाखुल्डी पुर्ने गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएको महानगर स्रोतको भनाइ छ । 

महानगरकै दुईवटा गाडीलाई ‘मोडिफाई’ गरेर गत असारमा महानगरले पूर्वाधार एम्बुलेन्स बनाएको थियो । तर, त्यसलाई थन्क्याएर महानगरले ठेक्का प्रक्रियामार्फत कालोपत्रे गर्न लागेको हो । ठेक्का प्रक्रिया हाल मूल्यांकनको चरणमै छ ।

महानगरका भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले महानगरभित्र अहिले कच्ची सडक नै नभएको बताए । उनका अनुसार महानगरभित्रका सडक मर्मतका लागि नयाँ ठेक्का आह्वान गर्न लागिएको छ । महानगरले आठफिटे चौडाइसम्मका सडक हेर्छ । त्यसभन्दा बढी चौडाइका सडक कालोपत्रे र मर्मत गर्ने जिम्मा सडक विभाग र सडक डिभिजन कार्यालयको हो । ‘महानगरभित्र कच्ची सडक छैनन्, हामीले काम गर्ने सीमित सडक छन्,’ उनले भने, ‘ती सडक मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको हो ।’

खाल्डाखुल्डी पुर्ने काम प्रभावकारी नभएको भनाइ 
काठमाडौं महानगरपालिका पूर्वाधार एम्बुलेन्स सेवाका संयोजक हरि बुढाले पनि प्रभावकारी नभएपछि सडकका खाल्डाखुल्डी पुर्न छाडेको जानकारी दिए । ‘परीक्षणका रूपमा केही ठाउँमा खाल्डा पुर्न थालेका थियौँ, तर त्यो टिकाउ र भरपर्दो भएन,’ उनले भने, ‘अब कालोपत्रे नै गर्ने गरी नयाँ ठेक्का लगाउँदै छौँ ।’ उनका अनुसार मेयर साहले नै प्रभावकारी नभएको भन्दै पूर्वाधार एम्बुलेन्सको काम रोक्न निर्देशन दिएका थिए । 

खाल्डा पुर्न तीन महिनामा १९ लाख खर्च
काठमाडौं महानगरले तीन महिनासम्म खाल्डा टाल्ने कार्यमा १९ लाख रकम खर्च गरेको छ । तर, महानगरले टालेका खाल्डा केही दिनमा पुनः भत्किएका थिए । महानगरले खाल्डो छोप्ने ढुंगा, गिटी, बालुवा, इँटा, रड, प्लग, ग्राभेल बेसलगायतको प्रयोग गर्थ्यो । यसबाहेक अलकत्रा पनि खरिद गरेको थियो । उक्त एम्बुलेन्समा अलकत्रा भने बोकिँदैनथ्यो । विभागले सडकका अन्य समस्या भएमा सम्बन्धित निकायलाई जानकारी पनि गराउँछ । महानगरको एम्बुलेन्सले नयाँ बानेश्वर, तिनकुने, गौशाला, मित्रपार्क, चाबहिल, लाजिम्पाट, बालुवाटार, रविभवन, त्रिपुरेश्वर, थापागाउँ सडक, पुरानो बानेश्वर, मैतीदेवी, कमलपोखरी, पुतलीसडक, न्युप्लाजा, नयाँ बानेश्वर–शंखमूल सडकलगायत क्षेत्रका केही खाल्डा पुरेको थियो । तर, यीमध्ये केही सडकमा पुनः खाल्डा परेका छन् ।