Skip This
निगमका पाइलटले दुर्व्यवहार गरेको परिचारिकाको आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ माघ १३ शुक्रबार o६:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निगमका पाइलटले दुर्व्यवहार गरेको परिचारिकाको आरोप

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार o६:४४:oo

उजुरीमाथि छानबिन नभएपछि ८९ परिचारिका आन्दोलित, उडानसमेत रोकियो

नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र इमेलमार्फत उजुरी गरे पनि छानबिन नभएपछि निगमका ८९ परिचारिका आन्दोलित बनेका छन् । 

गत ११ साउनमा मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौंसम्मको उडानका क्रममा पहारीले सिनियर परिचारिका महर्जनलाई जिम्मेवारीविहीन बनाएर जुनियर परिचारिकालाई भूमिका दिएको आरोप छ । महर्जनलगायत अन्य परिचारिकाले यसको विरोध गरेपछि पाइलट पहारीले त्यसपछिका आफ्ना उडानहरूमा उनीहरूलाई ‘क्याबिन क्रु’ राख्नै अस्वीकार गरेकोसमेत आरोप छ । निरन्तर दुर्व्यवहार भएपछि महर्जनले निगमको सम्बन्धित शाखामा उजुरी दिएकी हुन् । 

तर, पाँच महिनासम्म पनि छानबिन नभएपछि २ पुसमा पुनः अपरेसन विभागसँगै निगमका अध्यक्ष युवराज अधिकारी, निगमकै मानव संसाधन विभाग निर्देशक अशोक सिग्देल, उडान सुरक्षा निर्देशक रवीन्द्रकुमार शेरचन, क्याबिन क्रु प्रमुख सुमिली सुब्बा जुहार्चन र नागरिक उड्डयन मन्त्रालयमा समेत उजुरी दिएकी थिइन् । तर, उजुरी मन्त्रालयसम्म पुग्दा पनि छानबिन भएको छैन । बरु आन्दोलित परिचारिकाहरूको करार अवधि नथप्ने, जिम्मेवारीमा भेदभाव गर्ने, धम्क्याउनेजस्ता दुर्व्यवहार भएको आरोप छ । 

तर, आरोपित पाइलट पहारी भने उडानको समयमा भएका सामान्य मनमुटावलाई दुर्व्यवहार भन्दै उजुरी दिएको दाबी गर्छन् । ‘मैले दुर्व्यवहार गरेको भए निगमले मलाई कारबाही किन गरेन ? कसैलाई ह्यारेसमेन्टको आरोप लगाउनुभन्दा पहिले ह्यारेसमेन्ट भनेको के हो भनेर भन्नुप¥यो नि । काम गर्न नजान्ने क्याबिन क्रुलाई गाली गर्दा वा कहिलेकाहीँ ठूलो स्वर गर्दा दुर्व्यवहारको आरोप लगाएका हुन्,’ उनले भने । 

क्याबिन क्रु प्रमुख सुमिली सुब्बा जुहार्चन कर्मचारीमाथि दुर्व्यवहार भएको स्विकार्छिन् । तर, यो विषयलाई मिडियामै सार्वजनिक गर्नु ठीक नभएको उनको भनाइ छ । ‘हाम्रा कर्मचारीमाथि दुर्व्यवहारका घटना भइरहेका छन्, तर यो विषयलाई मिडियासम्मै ल्याउनु राम्रो कुरा भने होइन,’ उनले भनिन्, ‘मैले आफ्नोतर्फबाट छानबिनका लागि दबाब दिइरहेकी छु । संस्थाले पनि उजुरीमाथि कारबाही अगाडि बढाइरहेको होला, तर सबै कुरा बाहिर ल्याउनुपर्ने आवश्यकता देखिँदैन ।’ 

निगमका अध्यक्ष अधिकारी, अपरेसन डाइरेक्टर शेरचन र प्रवक्ता खड्काले भने पाइलटमाथि परिचारिकाले आरोप लगाएको दुर्व्यवहारको उजुरीबारे जानकारी नभएको बताएका छन् । ‘यो घटनाबारे मलाई कुनै जानकारी छैन, त्यस्तो कुनै उजुरी भएको भए अपरेसन विभागले छानबिन गरिरहेको होला,’ अधिकारीले भने । तर, अपरेसन विभाग प्रमुख शेरचन ‘यो विषयमा नबोलम्’ भन्दै पन्छिए । पाइलट पहारीले गरेको दुर्व्यवहार ढाकछोपमा उनी लागेको परिचारिकाहरूको आरोप छ । 

एकै दिन तीन अन्तर्राष्ट्रिय उडान नै रोकिए
पाइलट पहारीविरुद्ध उजुरी दिएपछि निगमले १५ वर्षदेखि सेवामा रहेका परिचारिकाद्वय आरती महर्जन र स्मिता गुभाजूको करार अवधि थप्ने प्रक्रिया नै रोकिदिएको थियो । त्यसको विरोधस्वरूप परिचारिकाहरूले काम गर्न अस्वीकार गरेपछि २९ मंसिरमा तीन अन्तर्राष्ट्रिय उडान नै रोकिएका थिए । काठमाडौंबाट साउदी अरेबियाको रियाद, भारतको दिल्ली र बेंग्लोरका उडान रोकिएका थिए । निगमले भने प्राविधिक कारणले ती उडान रोकिएको दाबी गरेको छ । आन्दोलनपछि महर्जन र गुभाजू दुवैको करार अवधि दुई वर्षका लागि थप भएको छ । 

विगतमा पनि दुर्व्यवहार
क्याबिन क्रुमाथि दुर्व्यवहार गरेको आरोप पाइलट पहारीमाथि विगतमा पनि लागेको थियो । तत्कालीन समयमा अपरेसन विभागको उपनिर्देशक रहेका उनले पदीय दुरुपयोग गर्दै क्रमागत रूपमा आउने ‘नाइट स्टप’ र ‘डे रिटर्न’ उडानमा अवैज्ञानिक हस्तक्षेप गरेको भन्दै ०७३ चैतमा ६२ क्याबिन क्रु कर्मचारीले आन्दोलन गरेका थिए । तत्कालीन क्याबिन क्रु प्रमुख सिर्जना तुलाचनले उक्त घटनाबारे भनिन्, ‘निगममा निकटताका आधारमा सेवा–सुविधा दुरुपयोग गर्ने, हवाई सुरक्षाविपरीत उडान गर्दासमेत पाइलटलाई कारबाही नगर्ने, क्याबिन क्रुमाथि उडानकै क्रममा दुर्व्यवहार गर्ने घटना वर्षौँदेखि भइरहेका छन् ।’