मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बिबिसी
२०७९ माघ १२ बिहीबार १०:३३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्रिप्टो बहस : नोटको आयु सकिएकै हो त ?

Read Time : > 3 मिनेट
बिबिसी
२०७९ माघ १२ बिहीबार १०:३३:००

क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटिएक्स टाट पल्टिएपछि क्रिप्टोकरेन्सीमाथिको विश्वसनीयता कम हुँदै गएको छ

सन् २०२२ मा क्रिप्टोकरेन्सीको रहस्यमयी दुनियाँमा भूकम्प आयो, जब क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटिएक्सका अमेरिकी संस्थापक स्याम बैंकम्यान फ्रिडले कम्पनी टाट पल्टिएको घोषणा गरे । योसँगै क्रिप्टोकरेन्सी कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । 

३० वर्षीय फ्रिड विश्वकै प्रतिभाशाली व्यक्ति मानिन्थे । उनले ठूला डेमोक्र्याट पार्टीलाई पनि ठूलो रकम चन्दा दिए । तर, अहिले ऋणीहरूले उनीसँग अर्बौं डलर आफ्नो पैसा मागिरहेका छन् । केही देशले क्रिप्टोकरेन्सीको अनुभवमा आफ्नो डिजिटल करेन्सी जारी गर्ने योजना बनाइरहेका छन् । यसो भएको खण्डमा पैसा लेनदेनमा बैंकको भूमिका शून्य हुन सक्छ । हालसालै भातरका केही मुख्य सहरमा केही बैंकले डिजिटल मुद्राको सुरुवात गरेका छन् ।

डिजिटल सुन : त्यसो त क्रिप्टोको सुरुवात ९० को दशकको मध्यतिरै भएको थियो । यसको उद्देश्य कुनै देश वा बैंकमा निर्भर नरही एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पैसा पुर्‍याउनु थियो । तर, यो योजना केही वर्षसम्म डिजिटल दुनियाँका सीमित व्यक्तिसम्म मात्रै रह्यो । तर, सन् २००८ को अन्तर्राष्ट्रिय आर्थिक हलचलपछि यो चर्चामा आयो । बिस्तारै मान्छेहरूले बिटक्वाइनबारे थाहा पाउन थाले । यसको व्यवस्था गैरसरकारी विकेन्द्रीकृत टेक्नोलोजीमार्फत गरिन्छ । र, यसलाई ब्लकचेन भनिन्छ । निर्माताले एक बिटक्वाइन दोस्रोपटक नबन्ने गरी यसको निर्माण गरेका थिए । सन् २००९ मा पहिलो बिटक्वाइन सुरु भयो । त्यतिखेर १० हजार बिटक्वाइनमार्फत दुईवटा पिज्जा किनियो । त्यसपछि केही लगानीकर्ता र सट्टेबाजको रुचि बिटक्वाइनतिर जाग्यो । तर, सामान्य रूपमा यसको प्रयोग पसलहरूमा हुन सकेन । बिटक्वाइन वैश्विक मुद्रा बन्न सकेन, न त सामान्य पसलमा यसको प्रयोग नै हुन सक्यो । तर, सन् २०१३ सम्म बिटक्वाइनले धेरैभन्दा धेरै अपराधीलाई आफूतिर आकर्षित गर्न थाल्यो । 

२०१३ मा अमेरिकी जाँजबुझ आयोग एफबिआईले यसलाई बन्द गरिदियो । तर, हाल सयौँ क्रिप्टोकरेन्सी अस्तित्वमा छन् भने यसको मूल्यमा ठूलो उतारचढाव पनि आइरहन्छ । नोभेम्बर २०२१ मा प्रतिबिटक्वाइन मूल्य ६५ हजार डलरभन्दा बढी थियो । तर, एक वर्षभित्र एफटिएक्स टाट पल्टिएपछि त्यसको मूल्य ६५ हजारबाट घटेर १६ हजारमा झर्‍यो ।

लगानीकर्ताको मान्यता छ, कसैको जालसाजी भएमा बैंकमा राखिको पैसा हराउन सक्छ । तर, बिटक्वाइनको पासवर्ड वा कि कसैलाई साझा नगर्ने हो भने ब्लकचेन टेक्नोलोजीअन्तर्गत त्यो हराउने खतरा रहँदैन । यहाँनेर महŒवपूर्ण विषय भनेको जबसम्म कुनै सरकार वा बैंकद्वारा जारी गरिँदैन वा लेनदेन गर्ने कम्पनीले त्यसलाई नियन्त्रित गर्दैन भने लगानीकर्ताले हराएको पैसाबारे कसैसँग सहयोग लिन सकिँदैन । एफटिएक्सको सन्दर्भमा पनि भएको यही नै हो । 

क्रिप्टोकरेन्सीको दोस्रो कदम : एफटिएक्सका संस्थापक फ्रिडबारे एउटा किस्सा छ । त्यो के भने बिटक्वाइन जापानमा ११ हजार डलरमा बिक्री भइरहेको थियो भने अमेरिकामा १० हजारमा । यो व्यापार गर्ने सही मौका थियो, जहाँ सस्तो छ त्यहाँ किन्ने र जहाँ महँगो छ त्यहाँ बेच्ने । त्यसपछि फ्रिडले साथीसँग मिलेर बिटक्वाइनको कारोबार गर्ने योजना बनाए । त्यसका लागि उनीसँग आफ्नो मात्रै पैसा थियो । ठूलो मात्रामा कारोबार गर्न अरूको पैसा पनि चाहिन्थ्यो । यसका लागि उनले क्रिप्टोकरेन्सी व्यापार गर्न चाहने ग्राहक खोजे । उनी फ्रिड नै थिए । उनीसँग मिलेर आफ्नो पैसा लगाउन मान्छेहरू तयार थिए । यहीँबाट समस्याको सुरु भएको मान्न सकिन्छ ।

नियन्त्रित सेयर बजारमा पैसा लगाउन सकिन्छ, जसका लागि मान्छेले लगानी गरेका हुन्छन् । तर, यो क्रिप्टोकरेन्सी नियन्त्रित थिएन । यसमा कुनै नियम पनि लाग्दैनथ्यो । त्यसो भएपछि फ्रिडले ग्राहकको पैसा क्रिप्टो बजारमा लगाए । 

बजारमा क्रिप्टोकरेन्सी : बजारमा एफटिएक्स मात्रै थिएन । यसको कडा प्रतिस्पर्धी क्वाइन बेस थियो । विभिन्न देशमा यसका ग्राहक १० करोडभन्दा बढी थिए । एफटिएक्स कुनै सेयर बजारमा सूचीकृत वा नियन्त्रित थिएन । तर, क्वाइनबेस न्युयोर्कको नेस्डाक बजारमा सूचीकृत थियो, जसकारण उसले सेयर बजारको नियम पालना गर्नुपथ्र्यो । तर, एफटिएक्समा कुनै नियन्त्रण थिएन । एफटिएक्सले आफूलाई टाट पल्टिएको घोषणा गर्दा थाहा भयो १० लाखभन्दा बढी ग्राहकको अर्बौं डलर बक्यौता थियो । उनीहरूसँग आफ्नो पैसा प्राप्त गर्ने अर्को उपायसमेत थिएन ।

क्रिप्टो प्रयोग कसले गर्छ ? : एफटिएक्स टाट पल्टिनु क्रिप्टो जगत्मा कत्रो विफलता र संकट हो भन्ने प्रश्नमा डिजिटल वित्तीय विश्लेषक एवं सल्लाहकार डेब बर्च भन्छन्, ‘क्रिप्टोकरेन्सी कति ठूलो संकट हो भन्ने विषय एफटिएक्स टाट पल्टिएपछिको तरंगले प्रमाणित गर्छ । अन्य व्यवस्थामा यसको असर कति पर्छ भन्ने हेर्न बाँकी नै छ । तर, यो सुरुवात क्रिप्टो सकिने संकेत पनि हुन सक्छ ।’

ब्राजिल, मेक्सिको, उरुग्वे, कोलम्बिया र चिलीले क्रिप्टोलाई नियन्त्रण गरी आफ्नो अर्थतन्त्रमा समावेश गर्ने कोसिस गरिरहेका छन् । यी देशले थुप्रै नीति पनि लागू गरिसकेका छन् । तर, केही जासुसको यसमा रुचि किन पनि छ भने यसलाई कुनै नियन्त्रण वा निगरानी गरेविनै जोकसैलाई पनि दिन सकिन्छ, त्यो पनि बैंकलाई समावेश नगरीकन । अतः क्रिप्टो प्रयोगकर्ता सरकारी संस्थाभन्दा दुई कदमअगाडि नै रहन्छन् । 

यसरी हेर्दा क्रिप्टोकरेन्सी समाधान होइन । केही देशका केन्द्रीय बैंकले डिजिटल मुद्रा जारी गर्नेबारे सोचिरहेका छन् । अर्थात्, बैंकमा नभएको पैसा मोबाइल र ल्यापटपमा हुनेछ । केही सरकारलाई राष्ट्रिय डिजिटल करेन्सीमा यसकारण अरुचि हुन सक्छ, किनकि यसको वितरण गर्न बैंकमाथि निर्भर हुनुपर्दैन र यसमा सरकारको नियन्त्रण धेरै हुन्छ । यसबारे अमेरिकी तथा युरोपियन बैंकले विचार गरिरहेका छन् । 

यसैबीच, चीनले त्यहाँका २३ सहरमा प्रयोगका रूपमा डिजिटल युआन जारी गरेको छ । यसले चिनियाँ सरकारले धेरैभन्दा धेरै नियन्त्रण गर्न सक्छ भने निगरानी पनि सहजै हुन सक्छ । यस्तै, गैरकानुनी रूपमा देशबाहिर पैसा पठाउन र कर छल्न पनि असम्भव हुनेछ । साथै, कोडिङमार्फत केन्द्रीय बैंकले यो कसरी कहाँ प्रयोग भइरहेको छ भन्ने पनि थाहा पाउनेछन् । 

नोटको आयु सकिएकै हो ? : क्रिप्टोकरेन्सी र सकारी नियन्त्रणलाई लिएर चिन्ता बढिरहेको छ । तर, जसरी कार्ड पेमेन्ट तथा इलेक्ट्रिक भुक्तानीको चलन बढेको छ, त्यसैगरी हाम्रो पैसाको क्षति जसले यो सिस्टम चलाइरहेको छ, उसैबाट हुन सक्छ ।

मुद्राविद् ब्रेट स्टकका अनुसार पैसा दुई प्रकारका हुन्छन् । एउटा सरकाद्वारा जारी नोट वा क्रेडिर्ट कार्ड र अर्को इलेक्ट्रिोनिक मनी ट्रान्सफर । यी दुवै पैसा हुन् । तर, बहसको विषय भनेको क्रिप्टोभन्दा पनि ठूला बैंक र विद्युतीय भुक्तानी टेक्नोलोजी कम्पनीले डिजिटल मुद्रामार्फत मुद्रा नियन्त्रण सरकारी नोटको सट्टा आफ्नो हातमा लेलान् भन्ने हो । उनका अनुसार मिडियामा जति हल्ला आए पनि नोटको प्रयोग भइरहन्छ । तर, डिजिटल मुद्रामा चिन्ताको विषय यो पनि छ कि यदि इन्टरनेट ठप्प भयो भने यसको भविष्य के हुन्छ ? यसैकारण पनि सत्ता र शक्ति सन्तुलनमा पनि नोटको भूमिका अहम् रहन्छ ।