मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
टेकराज थामी काठमाडाैं
२०७९ माघ १२ बिहीबार ०९:२३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे पाँच वर्षमा ३४ हजारले गरे आत्महत्या

ऊर्जावान् युवा आत्महत्याका कारण सकिँदै

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ माघ १२ बिहीबार ०९:२३:००

नेपालमा प्रत्येक दिन १७ जनाले गर्छन् आत्महत्या, प्रदेश १ मा सबैभन्दा बढी

- नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सडकमा इलामको सूर्योदय नगरपालिका– ११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर  आगो लगाए । उद्धार गरेर अस्पताल पुर्‍याइए पनि बुधबार उनको मृत्यु भयो । भ्रष्ट राज्य संयन्त्रका कारण आफू बाँच्न नसक्ने अवस्थामा पुगेको  भन्दै संसद् भवनअघि उनले आत्मदाहको प्रयास गरेका थिए । यो घटनाले देशमा आममानिसको संघर्ष र त्यसले निम्त्याएको विपत्तिलाई बहसमा ल्याएको छ । 

सफल उद्यमी बन्ने सपना साँचेर अघि बढेका थिए आचार्य । पहिलो व्यवसायमा असफल भएपछि वैदेशिक रोजगारीमा गए । विदेशबाट फर्किएपछि कृषिकर्ममा लागे । इलाममा उनले सूर्योदय एग्रो इन्डस्ट्रिज एन्ड फार्म हाउस नामको कृषि फार्म खोले । साना डिपार्टमोन्ट स्टोरदेखि विदेशी कम्पनीलाई उत्पादन बेचे । कतिले उनलाई उधारो तिरेनन्, कतिले व्यावसायिक धोका दिए । अभिभावकीय भूमिका निभाउनुपर्ने राज्य संयन्त्रले समेत उनलाई साथ दिएन । राजनीतिक दलका ‘झोले संस्था’ले राज्य संयन्त्रबाट कृषिका नाममा कुस्त अनुदान पाए, तर उनी खाली हात भए । व्यवसाय घाटामा गयो । उनी चौतर्फी ऋणमा डुबे । निराश बनेका उनले फेसबुकमा लामो स्टाटस लेखी राज्यलाई दोष दिएर आत्मदाहको बाटो  रोजे । 

- सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ का ४५ वर्षीय रामदेव मरिक लघुवित्तमा बुझाउनुपर्ने ऋणका कारण आइतबार तनावमा थिए । २० वर्षीय छोरा राजकुमारको विवाह गर्न उनले गत १ वैशाखमा गाउँकै ग्लोबल आइएमई लघुवित्तबाट ९० हजार र महुली लुघवित्तबाट १५ हजार ऋण लिएका थिए । मंगलबार जसरी पनि किस्ता तिर्न उनलाई लघुवित्तको फर्मान थियो । त्यसैका लागि ऋण खोज्न उनी सोमबार दिनभर गाउँ डुले, तर उनलाई कसैले पत्याएनन् । खाली हात फर्किएका उनी तनावमा थिए । बेलुकाको खानापछि उनी परिवारका सदस्यसँगै सुत्न ओछ्यानतर्फ लागे । बिहान उठ्दा उनी घर छेउकै आँपको रूखमा झुन्डिएको अवस्थामा फेला परे । 

- गत २१ भदौमा न्युरोडका होलसेल व्यापारी सुदर्शन घिमिरेले आत्महत्या गरे । रञ्जना ट्रेड सेन्टरमा होलसेल पसल राखेका उनले व्यापारका लागि चीनबाट सामग्री ल्याउँथे । कोभिड– १९ का कारण नाका बन्द भयो । आयातसँगै व्यापार पनि ठप्प भयो । बैंकको ऋण तिर्न सकेनन् । घरबेटीको भाडा खप्टिँदै गयो । केही समय त उनले तानतुन गरेर व्यवहार धाने, तर पछि सकेनन् । ऋण तिर्न बैंकले ताकेता गर्न थाल्यो । भाडाका लागि घरबेटी कोठामै धाउन थाले । तनावमा रहेका उनी थप तनाव झेल्न सक्ने अवस्थामा रहेनन् । अन्ततः उनले पनि आत्महत्याको बाटो रोजे ।

आर्थिक संकटपछि आत्महत्या गर्नेको संख्या बढ्दो
हालैका तीनवटा आत्महत्याका घटना केही महिनाबीचमा भएका छन् । तीनवटै घटना व्यावसायिक असफलता र आर्थिक संकटसँग जोडिएका छन् । तर, नदेखिने कारण त्यो भन्दा ज्यादा र उत्तिकै घातक छन् । जसले मुलुकका ऊर्जावान युवा शक्तिलाई क्षणक्षण समाप्त गरिरहेको छ । जसमा राज्य कणकणमा जिम्मेवार छ । किनकि राज्य प्रत्येक नागरिकको अभिभावक हो । तर, उसले आफ्नो भूमिका बिर्सेर उल्टै नागरिकमाथि अनेक बहानामा दोहन गरिरहेको छ । यसै कारण व्यक्तिमा निराशा पैदा भएको छ । आत्महत्याको जड यही भएको मनोविद्हरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउने आत्महत्याको दर बढ्नुमा कहीँ न कतै राज्यको शासन संयन्त्र र यसका भ्रष्ट चरित्र मुख्य दोषी रहेको बताउँछन् । उनका अनुसार नेपालको शासन प्रणालीले कर्म गर्नेलाई सघाउने होइन, विभिन्न अड्को थापेर उल्टै थचार्ने काम गर्छ । नैराश्यताको सुरुवात यहीँबाट हुन्छ । ‘राज्य प्रत्येक व्यक्तिको अभिभावक हो । तर, उसले त्यसको अनुभूति जनतामा बाँड्न सकेको छैन । निजी आवश्यकता पूरा गर्न व्यक्ति विविध कर्ममा लाग्छ । त्यसमा सघाउने काम राज्यको  हो । तर, हामी कहाँ राज्यले त्यसो गर्दैन । बरु विभिन्न अड्को थापेर अल्झाउने काम हुन्छ । घुसको संस्कति सुरु हुने यहीँबाट हो । जसले मानिसमा नैराश्यता पैदा गराउँछ । र, उसले अन्ततः आत्महत्यको बाटो रोज्छ,’ उनले भने ।

उपप्राध्यापक चलाउनेका अनुसार आत्महत्याको दर बढ्नुमा बदलिँदो सामाजिक संरचना पनि हो । नेपाली समाजमा सामूहिकता हराउँदै गएको छ । व्यक्तिवादी सामाजिक संरचना पछिल्ला दिनमा रोजाइ बन्न पुगेका छन् । जसले व्यक्तिलाई एक्लो बनाएको छ । यस्तो सामाजिक संरचनामा व्यक्ति सफल हुँदा समाज उसको पछि दौडिन्छ । तर, असफल हुँदा व्यक्ति एक्लो बन्न पुग्छ । यस्तो समाजिक संरचना राज्यले अपनाउने शासन प्रणाली र त्यसले चलाउने प्रशासन संयन्त्रबाट निर्धारित हुन्छ । वर्तमान नेपाली समाजको चरित्र यही हो । ‘प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गरे । त्यस्तै अरूले पनि गरेका छन् । यो हामीले भागेको शासन प्रणालीको परिणाम हो । यदि राज्यले व्यक्तिवादी नभई सामूहिक सामाजिक संरचनलाई प्रोत्साहन गरेको थियो भने प्रेमप्रसादजस्तै कोही पनि एक्लो हुन्न थियो । जसले आत्महत्याको दर घटाउँथ्यो,’ उनले भने ।

व्यक्तिले आत्महत्याको बाटो रोज्नुमा मनोचिकित्सकको विश्लेषण अलिक भिन्न छ । व्यक्तिमा हुने ‘इम्पलसिभिटी’ले आत्महत्या गर्ने नगर्ने निर्धारण हुने मनोचिकित्सकको भनाइ छ । पाटन मानसिक अस्पतालका प्राध्यापक तथा मनोचिकित्सक डा. देवव्रत जोशीका अनुसार ‘इम्पलसिभिटी’ धेरै हुने व्यक्तिले आत्महत्यको बाटो राज्ने गर्छन् । ‘आत्महत्याको कारण तनाव नै हो । कसैसँग तनाव झेल्ने तागत धेरै हुन्छ, कसैसँग कम । तनाव हुँदा केही व्यक्ति अति चाँडो उत्तेजित हुन्छन् । र, उनीहरू क्षणभरमै निर्णयमा पुग्छन् । जसलाई ‘इम्पलसिभिटी’ भनिन्छ । यो कसैसँग धेरै हुन्छ, कसैसँग कम । जोसँग धेरै हुन्छ ऊ चाँडो उत्तेजित हुन्छ । र, उसले क्षणभरमै गर्न हुने नहुने सबै निर्णय गरिसक्छ । आत्महत्या यस्तै प्रवृत्ति भएकाबाट हुने हो,’ उनले भने ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार प्रत्येक दिन देशभर १७ जनाले आत्महत्याको बाटो रोज्छन् । जसमा सबैभन्दा धेरै पुरुष छन् । त्यसमा पनि अधिक संख्या युवाको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले आत्महत्या बढ्नुमा आर्थिकजन्य कारण पनि रहेको बताउँछन् । ‘आत्महत्या गर्ने कारण आर्थिक मात्रै छैनन् । प्रेममा असफल भएर पनि आत्महत्या भएका छन् । व्यापार व्यवसायमा टाट उल्टिएर मान्छेले आत्महत्या गरेका छन् । कतिपय ठाउँमा वैदेशिक रोजगार, बढ्दो प्रविधिको प्रयोग पनि आत्महत्याका कारण बनेका छन्,’ उनले भने ।