Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
ब्रयाड्ले ब्लेंकेनसिप
२०७९ माघ १२ बिहीबार ०९:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ कोभिडबारे पश्चिमा मिडियाको अनावश्यक चासो 

Read Time : > 2 मिनेट
ब्रयाड्ले ब्लेंकेनसिप
२०७९ माघ १२ बिहीबार ०९:१८:००

पश्चिमा सञ्चारमाध्यमले चिनियाँ नयाँ वर्षलाई स्वागत गर्ने प्रयास गर्नुपर्छ र कोभिड महामारीबाट तंग्रिएर फेरि विश्वमा उदाएकामा बधाई दिनुपर्छ

चीनमा एक साता लामो वसन्त पर्व बिदाको सुरुवात र चिनियाँ नयाँ वर्ष एकैपटक मनाइन्छ । दुर्भाग्य, पश्चिम जगत्बाट शुभकामना आएका छैनन् । अधिकांश कोभिड सम्बन्धित प्रतिबन्ध हटाइएपछि पश्चिमा मिडियाले चीनमा पर्व सम्बन्धित बिदा यात्रा (भ्याकेसन टुर) ले संक्रमणको मामिलाको सुनामी आउने र कैयौँको मृत्युसमेत हुन सक्ने अनुमान गरेका छन् ।

विरोधाभाषी कुरा के छ भने अमेरिकाले १५–२० दिनअगाडि तीनवटा प्रमुख पर्व थ्यांक्स गिभिंग्स, क्रिसमस र नयाँ वर्षका लागि पर्वविदा एवं यात्रा छुट थियो । कोभिड–१९ महामारीको वास्तविक आँकडा हेर्ने हो भने अमेरिकामा डरलाग्दो चित्र देखिन्छ । अमेरिकामा दैनिक सयौँ मानिस अझै पनि कोभिडकै कारण मरिरहेका छन् र कतिपय राज्यले अहिले कोभिड सम्बन्धित आँकडा साझा नै गर्दैनन् । यति हुँदा पनि त्यहाँका मिडियाले समाचार बनाउन आवश्यक ठान्दैनन् । त्यसो भए चीनमा पर्वसम्बन्धी विदाबारे पश्चिममा किन हलचल मच्चिरहेको छ ? यसका पछाडि बेइजिङले स्पष्ट रूपमा गतिशील (डाइनामिक) शून्य–कोभिड नीति त्याग्नुलाई एउटा कारकका रूपमा मान्न सकिन्छ । वास्तवमा नीति त्यागिनु गतिशील शून्य–कोभिड नीतिअन्तर्गत नै पर्छ । अक्सफोर्ड अंग्रेजी शब्दकोशले ‘डाइनामिक’ शब्दलाई प्रणाली वा प्रक्रियाका सम्बन्धमा ‘निरन्तरको परिवर्तन, गतिविधि वा प्रगति’ भनेर परिभाषित गर्छ । हामी शब्दकोशको यस परिभाषामा ‘परिवर्तन’ शब्द देख्न सक्छौँ, जसले पश्चिमा मिडियालाई सचेत गराउनुपर्ने हो अर्थात् नीति परिवर्तनीय छ भन्ने बुझाउन सक्नुपर्ने हो ।  

देशमा आपत्कालीन स्रोतको प्रचुर उपलब्धता भएको अवस्था र पर्याप्त मात्रामा जनतालाई कोभिड–१९ खोप लगाइएको जानकारी पाएपछि चिनियाँ स्वास्थ्य अधिकारीले शून्य–कोभिड नीतिमा परिवर्तन गर्ने निर्णय गरेका थिए । यहाँनेर गतिशीलता छ र नीतिले भनेको परिवर्तन छ । एसियाको महाशक्ति चीनले आफूसँग जनसंख्याको अनुपातमा कैयौँ गुणा बढी इन्टेन्सिभ केयर युनिट (आइसियू) शय्या, सामान्य चिकित्सकीय शय्या र दक्ष एवं तालिम प्राप्त चिकित्सकीय पेसेवर रहेको दाबी गरेको छ । अर्थात् संक्रमणका मामिलामा वृद्धि भए पनि चीनको स्वास्थ्य सेवा प्रणाली असफल हुने देखिँदैन । वास्तवमा भन्ने हो भने चीनको जनस्वास्थ्य अहिले महामारीअघिको अवस्थाभन्दा धेरै राम्रो छ । यति हुँदाहुँदै पनि चीनमा कोभिड महामारी फैलिन नदिन र कम गर्न कैयौँ उपाय मौजुद छन् । 

विनाशकारी कोभिड–१९ महामारी निम्तिहाले पनि यसका पछाडि चीनको सबैभन्दा ठूलो पर्व सम्बन्धित यात्रा कारण बन्नेछैन । अहिले त चीनको अवस्था अमेरिकाको जस्तो खराब पनि हुने देखिँदैन । माथि भनिएझैँ अमेरिकामा दैनिक सयौँ मानिस मारिएको आँकडा चीनले पार गर्नेछैन । अमेरिकामा संक्रमणबारे कुनै किसिमको चासो व्यक्त गरेको देखिँदैन, किनभने संघीय र स्थानीय अधिकारीले कोभिड–१९ भाइरसलाई पूर्ण रूपमा नियन्त्रण गर्ने प्रयास नै त्यागिसकेका छन् अर्थात् लत्तो छाडेका छन् । त्यहाँका मिडियाले महामारीको समाचार लेख्न एवं प्रसारण गर्न पनि बन्द गरिसके (चीनको मामिलामा भने खोजी–खोजी गरिन्छ) । त्यति मात्र नभई अमेरिकामा संघीयस्तरको राहतको कटौतीपछि खोप बनाउने कम्पनीले खोपको मूल्य बढाउने तयारी गरिरहेका छन् ।  

यस अवस्थामा चीनमा पर्व एवं उत्सवमा दिइएको बिदालाई लिएर यति धेरै खसखस किन ? पहिलो, मिडियाबाजीले अमेरिकाको आफ्नै भूभागमा बिग्रिरहेको अवस्थालाई ढाकछोप गरिरहेको छ । अमेरिकी संघीय सरकारले हालै मुलुकमा कोभिडका कारण ११ लाखभन्दा बढीको मृत्यु भएको अपमानजनक तथ्यांक सार्वजनिक गरेको छ । यो आँकडा लुकाउनका लागि सबैभन्दा उत्तम उपाय चीनलाई तारो बनाउनुबाहेक अरू के हुन सक्छ ? 

दोस्रो, मिडियाबाजीले चीनको विशाल आर्थिक वृद्धिलाई कम गर्ने नियोजित एजेन्डालाई सहयोग गर्छ । यदि मिडियाले कोभिड–१९ मा बेइजिङको कथित सुस्तताबारे पर्याप्त मानिसलाई डराउन सफल भए भने प्रमुख कम्पनी चिनियाँ बजारबाट पूर्ण रूपमा बाहिर निस्कन सक्छन् । ती कम्पनी अमेरिकामा आफ्नो व्यवसाय पुनस्र्थापित गर्न सक्छन् अर्थात् वर्तमान राष्ट्रपति जो बाइडेनको एजेन्डालाई वैधानिक बनाउन सक्छन् । राष्ट्रपतिको यो एजेन्डालाई सामान्यतया संरक्षणवादी र स्वतन्त्र–व्यापारविरोधी मूलधारका मिडियाले मन पराउँछन् । 

अन्त्यमा, मिडियाबाजीले औसत अमेरिकीलाई एसियाली देशलाई निरन्तर घृणा गरिराखून् भन्ने नियत झल्काउँछ । अमेरिकाले चिनियाँ क्षेत्र आसपास उत्तेजक कदम चालिरहेको छ, जसलाई हालै राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किसिदाबीचको उच्चस्तरीय वार्ताले पुष्टि गरेको छ । वार्तालाई जापानका प्रधानमन्त्रीले पाँच देशको भ्रमण गरेर निष्कर्षमा पुर्‍याएका छन्, जहाँ जापानको भूभागमा चीनलाई तारो बनाउन आधुनिक हतियार राखेर एसिया प्रशान्त क्षेत्रलाई थप सैन्यीकरण गरिनेछ । यो अत्यधिक अलोकप्रिय, विभाजनकारी र अप्रत्याशित कदम हो । छोटकरीमा भन्नुपर्दा अमेरिकी सरकार बेइजिङसँगको सैन्य तनावलाई थप उचाइमा पुर्‍याउन आमसहमति निर्माण गर्न चाहन्छ र त्यसका लागि ठोस काम भइरहेका पनि छन् । त्यसमध्ये एक हो चीनविरोधी भाष्यको प्रसार । 

म यो खुलमखुला भइरहेको कृत्यलाई निन्दायोग्य ठान्छु । अमेरिकाले चीनलाई घृणा गर्न आवश्यक छैन र अमेरिकाले आफ्नै मुलुकका चिनियाँ (र, अन्य एसियाली आप्रवासी) विरुद्ध द्वेष फैलाउनु वाञ्छनीय होइन । नकारात्मकतामा केन्द्रित हुनुको साटो पश्चिमा सञ्चारमाध्यमले चिनियाँ नयाँ वर्षलाई स्वागत गर्ने प्रयास गर्नुपर्छ र कोभिड महामारीबाट तंग्रिएर फेरि विश्वमा उदाएकामा बधाई पो दिनुपर्छ । 

(ब्लेंकेनसिप प्राग आधारित अमेरिकी पत्रकार एवं राजनीतिक टिप्पणीकार हुन्) ग्लोबल टाइम्सबाट