Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ माघ १२ बिहीबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम सुरु

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार ०९:०९:००

एक वर्षभित्र निर्माण सक्ने गरी अघि बढेको पाइपलाइनबाट पेट्रोल र मट्टीतेलसमेत आयात हुने, निगमको मासिक १५ करोड जोगिने

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको छ । एक वर्षभित्रै निर्माण सक्ने गरी सन् २०२३ को जनवरीदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु गरिएको हो ।  

सन् २०२४ जनवरीभित्र पेट्रोल र मट्टितेल आयात गर्न सकिने गरी पाइपलाइन निर्माणको काम अघि बढाइएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए । ‘हाल सञ्चालनमा रहेको पाइपलाइनबाट डिजेल मात्रै आइरहेको छ,’ उनले भने, ‘अब बन्ने पाइपलाइनबाट पेट्रोल र मट्टितेल पनि आउनेछ ।’ गत डिसेम्बरसम्म निर्माणपूर्वका सम्पूर्ण तयारी सकेर यसै महिनादेखि पाइपलाइन निर्माण सुरु गरेको उनले बताए । 

दोस्रो चरणको यस योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा पेट्रोल टैंक र अर्को दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स टैंक निर्माण गरिनेछन् । त्यस्तै, पम्पहाउस, एउटा पेट्रोल टैंक दुईवटा ट्रान्समिक्स, तीन हजार किलोलिटर क्षमता दुईवटा फायरवाटर टैंक, अत्याधुनिक प्रयोगशालालगायत निर्माण गरिनेछ । दोस्रो चरणको पाइपलाइन निर्माणको जिम्मा लिखिता इन्फ्रास्ट्रक्चरले पाएको हो ।

यस परियोजनामा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त लगानी गर्ने समझदारी भएको छ । २४ वटा पूर्ण स्वचालित लोडिङ वे, एउट पेट्रोल टैंक, पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टम स्तरोन्नति, ओडब्लुएस र पिएमसिसी रुम निगमको खर्चमा बन्नेछ । त्यस्तै, एउटा पेट्रोल टैंक, दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स, तीन हजार किलोलिटर क्षमताका दुईवटा फायरवाटर ट्यांकको निर्माण खर्च भारतीय आयल कर्पोरेसनले व्यहोर्ने गरी समझदारी भएको जनाइएको छ । 

हाल भदौ ०७६ देखि सञ्चालनमा आएको मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । हाल दुई सय ९४ किलोलिटर प्रतिघन्टाका दरले डिजेल आइरहेको छ । दोस्रो परियोजना सम्पन्न भएपछि पेट्रोल र मट्टितेलसमेत पाइपलाइनबाटै आउनेछ । पेट्रोलको ढुवानी लागत र प्राविधिक नोक्सानी शून्य हुँदा मासिक १५ करोड रुपैयाँ निगमलाई बचत हुने जानकारी दिइएको छ । पाइपलाइपबाट पेट्रोल, डिजेल र मट्टितेल आयात भएपछि अमलेखगन्ज बरौनीसम्म ढुवानी गर्दै आएका टैंक ट्रकको संख्या शून्य हुने जनाइएको छ ।

दोस्रो चरणको निर्माण सम्पन्न भएसँगैपछि अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर पेट्रोलको भण्डारण क्षमता १६ हजार ६ सय ३० किलोलिटर पुग्ने निगमले जनाएको छ । निगमका अनुसार सरकारको ९० दिनको इन्धन भण्डार नीति रहेकाले थप पाँच–पाँच हजार किलोलिटर क्षमताको पेट्रोल र डिजेलको टैंक निर्माणसमेत अघि बढाइएको छ । यसका लागि रेकिगेर कन्स्ट्रक्सन प्रालिसँग निर्माणको ठेक्का सम्झौता भएको छ ।