मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७९ माघ १२ बिहीबार ०७:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती र कर्णाली सरकारले पाए पूर्णता

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार ०७:४५:००

बागमती र कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाएका छन् । दुवै प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् । सत्तासाझेदार दलहरू एमाले, माओवादी र राप्रपाबाट बुधबार थप मन्त्री नियुक्त गर्दै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नै शपथग्रहण गराए ।

बागमती सरकारमा मुख्यमन्त्रीसहित माओवादीका चार, एमालेका चार तथा राप्रपाका तीन मन्त्री भएका छन् । बुधबार एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायातमन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र काठमाडौंका केशव पोख्रेल पशुपन्छी तथा कृषिमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि नै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री छन् । 

माओवादीबाट सिन्धुपाल्चोकका युवराज दुलालले भौतिक पूर्वाधार विकास, मकवानपुरकी कुमारी मोक्तानले सामाजिक विकास र सिन्धुलीका गंगानारायण श्रेष्ठले आन्तरिक मामिला, कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलाल र मोक्तान अघिल्लो कार्यकालमा पनि मन्त्री थिए ।

राप्रपाबाट धादिङका डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी र काठमाडौंका राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि मुख्यमन्त्री जम्कट्टेलको शपथग्रहणकै दिन विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कर्णालीमा थपिए मन्त्री

कर्णाली प्रदेश सरकार पनि विस्तार भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले १५औँ दिन सरकारलाई पूर्णता दिएका हुन् । बुधबार माओवादीबाट भीमप्रकाश शर्मा र कृष्णबहादुर जिसी तथा एमालेबाट शेरबहादुर बुढा र टेकराज पछाई मन्त्री नियुक्त भए ।  

यसअघि गत २८ पुसमा वनाविभागीय मन्त्रीको शपथ लिएका एमालेका विनोदकुमार शाह र माओवादीका मंगलबहादुर शाहीले पनि बुधबारबाट जिम्मेवारी पाएका छन् । दैलेखका शाहले आर्थिक मामिला तथा योजना र मुगुका शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाए ।

नयाँ नियुक्त भएका एमालेका पछाईलाई सामाजिक विकास र बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको नेतृत्व दिइएको छ । यस्तै, माओवादीका जिसीलाई आन्तरिक मामिला तथा कानुन र शर्मालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनाइएको छ ।