१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भीमप्रसाद सापकोटा भीमप्रसाद सापकोटा
२०७९ माघ ११ बुधबार १९:५६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

यसरी गरौँ शिक्षकले राजनीति

Read Time : > 4 मिनेट
भीमप्रसाद सापकोटा भीमप्रसाद सापकोटा
२०७९ माघ ११ बुधबार १९:५६:००

अब शिक्षकले दलीय राजनीतिका अतिरिक्त समतामूलक शिक्षा, विद्यार्थीकेन्द्रित शिक्षण र शिक्षकको निरन्तर पेसागत विकासमा केन्द्रित रहेर राजनीति गर्नुपर्छ।

फेसबुक स्टाटस र कमेन्टहरूले नै सरकार बनाउन र भत्काउन माहिर हामी शिक्षकले शिक्षणमा नवीनतासम्बन्धी राजनीति गर्यौँ भने समान सिकाइ अवसरबाट वञ्चित भएका विद्यार्थी तथा अभिभावकको सच्चा नेता हुन सकिन्छ।

सिकारुका विभिन्नतालाई आत्मसात् गर्दै उनीहरूको रुचि, सिकाइ क्षमता, गति र विद्यालयमा उपलब्ध सामग्रीको पर्याप्तताअनुसारको शिक्षण विधि, शैक्षिक सामग्री र सिकाइ वातावरण तयार गर्ने राजनीति अबका शिक्षकले गर्न सक्नुपर्छ। 

नेपालको राजनीतिमा धेरै किसिमका चर्चा भइरहन्छन्। चर्चा कतै उम्मेदवारीको हुन्छ, कतै विश्वासको मतको हुन्छ, कतै गुट तथा प्यानलको, कतै राजनीतिक वितृष्णाको त कतै गठबन्धनको। यसै सन्दर्भमा शिक्षक साथीहरूले पनि सामाजिक सञ्जालमा देशको राजनीतिका विषयमा विभिन्न टीका टिप्पणी गरेको देखिन्छ। कुनै दल विशेषको समर्थन र विरोधमा शिक्षकका मत बाझिन्छन्। यति मात्र नभई शिक्षकहरूले बढी राजनीति गर्छन् भन्ने विश्लेषण पनि सुन्न पाइन्छ। 

हुन पनि शिक्षकहरू विभिन्न दलका प्रतिनिधि भएका तथ्य मिडियामार्फत सुन्न र पढ्न पाइन्छ। अझ कतै कार्यकारी पदमा समेत निर्वाचित भएका समाचार पनि आउँछन्। शिक्षकले राजनीति नगर भनेर अदालतले पनि बोल्यो। निर्वाचन आयोगले पनि खबरदारी गर्।यो। पक्ष र विपक्षमा थुप्रै बहस भए। तर, वास्तवमै शिक्षकले राजनीति गर्न हुने कि नहुने ? हुने भए कुन हदसम्म कसरी गर्ने ? दलीय राजनीति मात्र राजनीति हो कि शिक्षणमा पनी राजनीति गर्न सकिन्छ ? शिक्षकले दलीय राजनीति गरे शिक्षा, शिक्षण र सिकाइको राजनीति कसले गर्ने ? 

शिक्षकलाई शिक्षा, शिक्षण र सिकाइको राजनीति गौण कि दलीय राजनीति ? यस्ता प्रश्नले एक्काइसौँ शताब्दीका तमाम शिक्षकलाई गिज्जाइरहेका छन्। फलस्वरूप अब शिक्षकले दलीय राजनीतिका अलावा समतामूलक शिक्षा, सिकारु केन्द्रित शिक्षण र शिक्षकको निरन्तर पेसागत विकासमा केन्द्रित रहेर राजनीति गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। 
सिकाइमा समान अवसरका लागि राजनीति 
दलीय राजनीतिमा प्रायजसो समानताको मुद्दा उठाइन्छन्। विभिन्न कारणले अवसरबाट वञ्चित भएका वर्गलाई समतामूलक सहभागिताका लागि सबै दलले राजनीति गरेको भनिन्छ। अब शिक्षकले पनि साँच्चिकै राजनीति गर्ने हो भने सिकाइको अवसरबाट वञ्चित विद्यार्थीका लागि राजनीति गरौँ। 

एउटा कक्षामा उपस्थित विद्यार्थीमध्ये सबैले सिकाइ प्रक्रियामा भाग लिने अवसर पाएका छन् कि छैनन् भन्ने पहिचान गरौँ। सिकाइ क्षमता फरक–फरक हुन सक्छ। सिक्ने रुचिका विषय फरक हुन सक्छन्। सिक्ने तरिका पनि फरक हुन सक्छ। सिक्ने गति फरक हुन सक्छ। यस्ता पक्षलाई आफ्नो राजनीतिक सिद्धान्त बनाएर राजनीति गर्ने शिक्षक वास्तवमै नेता हो। जसरी दलीय राजनीतिमा पछाडि परेका वर्गलाई सशक्तीकरण गरी समान अवसर प्रदान गर्न राहत, ऋण मिनाह, न्यून ब्याजदरमा ऋण, आय आर्जनका लागि तालिम, विशेष आरक्षणजस्ता व्यवस्था गर्नुपर्छ भनेर आन्दोलन गरिन्छ, त्यसरी नै सिकाइका लागि समान अवसर सिर्जना गर्नका लागि पनि विभिन्न पहल गर्न सकिन्छ। कोही विद्यार्थी शिक्षकको व्याख्या सुनेर सिक्न खोज्छन्, कोही स्वयं आफ्नै सक्रियतामा सिक्न चाहन्छन् त कोही छलफल र अन्तर्क्रियामार्फत सिक्ने रुचि राख्छन्। 

तसर्थ, सिकारुका विभिन्नतालाई आत्मसात् गर्दै उनीहरूको रुचि, सिकाइ क्षमता, गति र विद्यालयमा उपलब्ध सामग्रीको पर्याप्तताअनुसारको शिक्षण विधि, सामग्री र सिकाइ वातावरण तयार गर्ने राजनीति अबका शिक्षकले गर्न सक्नुपर्छ। फेसबुक स्टाटस र ट्विटहरू पनि के कसरी सिकाइमा समान अवसर सिर्जना गर्न सकिन्छ भनेर लेखौँ, जसरी दलीय राजनीतिका टीका टिप्पणी गरिन्छ। अनि स्टाटसमा सिकाइमा समान अवसर सिर्जना गर्न आफूले गरेका अभ्यासलाई समेटेर प्रतिक्रिया तथा सवालजबाफ गरौँ। अरूका अभ्यासमा किन, कसरी, भन्ने समालोचनात्मक कौतुहल राखौँ। तसर्थ, फेसबुक स्टाटस र कमेन्टहरूले नै सरकार बनाउन र भत्काउन माहिर हामी शिक्षकले शिक्षणमा नवीनतासम्बन्धी राजनीति गर्यौँ भने समान सिकाइ अवसरबाट वञ्चित भएका विद्यार्थी तथा अभिभावकको सच्चा नेता हुन सकिन्छ। 

निरन्तर पेसागत विकासको राजनीति 
कुन दलले कति सिट ल्याउला, कुन दलको कुन गुट ठीक कुन बेठिक? दलहरू सुध्रिन यो–यो गर्नुपर्छ। आदि जस्ता प्रक्षेपण दिनानुदिन भइरहेका छन्। तर, हामी शिक्षकले सिक्ने र सिकाउने शैलीलाई समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने चिन्तन भएको छैन। हिजो प्राप्त गरेको आधारभूत योग्यताकै आधारमा म सधैँ अब्बल छु भनिरहेका हुन्छौँ। तर, समयले सिक्ने, सिकाउने शैलीमा ठूलो फड्को मारिसकेको छ। सिकारुहरू प्रविधिसँगै सिक्न चाहन्छन्। तर, हामी किताब पढेरै मास्टर भएका हौँ भन्दै प्रविधि तथा नवीनतालाई आत्मसात् गर्न सक्दैनौँ। कसैको जन्मदिन, राजनीतिक घटनाक्रम, युट्युबमा आएका झिनामसिना कुरामा ध्यान दिन्छौँ, टिप्पणी गर्छौं, वकालत गर्छौँ तर हाम्रो पेसागत विकासका काममा सहभागी हुँदैनौँ। 

मेरो शिक्षणमा यो समस्या आयो, मैले यस्तो नयाँ विधि प्रयोग गरेँ, मैले सिकारुलाई सिकाइमा सहभागी बनाउन यस्तो योजना बनाएको छु आदि जस्ता विषयबारे विरलै लेख्छौँ। कमै बहस गछौँ। पेसागत विकासका माध्यमहरूजस्तै पेसागत तालिम, दैनिकी लेखन, कार्यमूलक अनुसन्धान, घटना अध्ययन, नवीन विधि तथा प्रविधिको प्रयोग आदिलाई अतिरिक्त बोझका रूपमा लिने गरेका छौँ। फलस्वरूप हामी अप्रत्यक्ष रूपमा मिति गुज्रेका औषधिजस्ता भएका छौँ। किनकि, हामी उही पुरानै शैली, चिन्तन, सोच र प्रवृत्तिमा रमाइरहेका छौँ। अब मलाई किन तालिम लिनुपर्यो। त्यो प्रविधि प्रयोगको झन्झट मलाई किन चाहियो, कार्यसम्पादन मूल्यांकन गर्दा यसो मागेर बुझाउनुपर्ला, नत्र त्यो कार्यमूलक अनुसन्धान गर्ने झ्याउ किन गर्ने ! यस्तै–यस्तै सोच र प्रवृत्तिले हामी पनि नेपालको राजनीतिका असफल नेतासरह अघोषित रूपमा असफल शिक्षक साबित भएका छौँ। 

तसर्थ, यदि हामी शिक्षण र सिकाइको राजनीतिलाई विश्वसनीय र समयानुकूल बनाउने हो भने हामी आफू परिवर्तित हुन जरुरी छ। परिवर्तनका लागि ठूलो केही गर्नुपर्दैन। हाम्रो दैनिक शिक्षणमा थुप्रै समस्या छन्। कुनै एउटा समस्यालाई लिएर किन भयो, कसरी भयो, मैले के गर्दा भयो, अरू साथीहरूको कक्षामा पनि भएको छ कि मेरोमा मात्र हो, सम्भावित समाधान के के होलान्, अर्को विद्यालयका साथीहरूले यस्ता समस्यालाई कसरी समाधान गरेका छन् ? यस्तै–यस्तै प्रश्नबारे चिन्तन गर्दैगर्दा घटना अध्ययन बन्छ, कार्यमूलक अनुसन्धान बन्छ, प्रतिविम्बात्मक लेख बन्छ, जुन पेसागत विकासका अभिन्न रणनीति हुन्। 

म्यासेन्जर वा भाइबरमा खाना भयो, के गर्दैैै हुनुहुन्छ, अरू भन्नु के छ, भन्नेजस्ता कुराकानीमा समय खेर फाल्नुभन्दा शिक्षणका नवीन सोच, विधि, सामग्री, असल अभ्यास, शैक्षिक मुद्दामा बात मारौँ। केही फाइदा पक्कै पुग्छ। त्यसैले, निरन्तर पेसागत विकासको राजनीति गर्नाले एकातर्फ कक्षा शिक्षण प्रभावकारी हुन्छ भने अर्कातर्फ हाम्रो पेसागत विकासमा समेत टेवा पुग्छ। 

शैक्षणिक संगठन विस्तारको राजनीति
दलीय राजनीतिमा संगठन विस्तारका विभिन्न तौर तरिका हुन्छन्। वडा समिति तथा टोल समिति गठन, विभिन्न पेसागत समूहमा आबद्धहरूको संगठन निर्माण, बैठक, गोष्ठी, सदस्यता वितरण आदि। हामी शिक्षक पनि कहिलेकाहीँ कुनै दलको सदस्यता लिएको वा कुनै कार्यकारी पदमा बसेका समाचार पनि नआएका होइनन्। अझ शिक्षकले शिक्षण पेसालाई अलपत्र छोडेर दल विशेषको संगठन विस्तारमा लागेको पनि आरोप धेरै खाएका छौँ। तर, अब हामीले दलीय संगठनभन्दा शैक्षणिक संगठनलाई केन्द्रमा राखी राजनीति गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

दलीय संगठन विस्तार गरेजस्तै विद्यालयको सेवा क्षेत्रभित्र विभिन्न टोलमा बसोवास गर्ने विद्यार्थी र अभिभावकलाई समावेश गरी टोल शिक्षा समिति गठन गर्न सकिन्छ। यस्ता समितिमा टोलमा भएका शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूलाई समेत समावेश गरी सिकारुमा नैतिक तथा व्यावहारिक शिक्षाका अभ्यास गराउन सकिन्छ। साप्ताहिक तथा मासिक रूपमा केही समय शिक्षक त्यस्ता टोलमा पुगेर कुन सिकारुको सिकाइ अवस्था कस्तो छ र थप केकस्तो सिकाइ सहयोग आवश्यक पर्छ भन्ने विषयमा अभिभावकको राय लिन सकिन्छ। यसबाट अभिभावकसँग सीधा सम्पर्क हुनुका साथै विद्यार्थीको कक्षाकोठाबाहिरको वास्तविक अवस्था बुझ्न सकिन्छ। यसले शिक्षक, अभिभावक र अन्य सामाजिक व्यक्तिबीचको सम्बन्ध दरिलो भई प्रभावकारी शैक्षणिक संगठन निर्माणमा सहयोग पुग्छ। 

वर्तमान समयमा दलका झोले शिक्षकहरू, पढाउन छाडेर राजनीति गर्ने शिक्षक, ठगेर खाने शिक्षकजस्ता आरोप हामीले खेप्दै आइरहेका छौँ। अझै कहिलेसम्म यस्ता आरोप खेपिरहने, कहिलेसम्म शिक्षकहरू राजनीति मात्र गर्छन् भन्ने विश्वासलाई टिकाउने। तसर्थ, गम्भीर भएर फरक तरिकाले शैक्षणिक राजनीति गर्नुपर्ने अवस्था आएको छ। जहाँ जुन ध्येयका लागि नियुक्त भएका हौँ, त्यहाँ अब्बल बनौँ। त्यहाँका असमानता र कुरीतिलाई चिर्दै समयानुकूल पेसागत विकासमा लागौँ। हाम्रो पहिलो काम सिकारुलाई सिकाउनु हो। समान अवसर सिर्जना गरी सिकाऔँ। अपेक्षित सिकाइ उपलब्धि हासिल गराऔँ। 

समयानुकूल र प्रभावकारी रूपमा सिकाउन सक्यौँ, पेसागत मर्यादामा अडिग रह्यौँ, आफ्नो पेसागत विकासमा लागिरह्यौँ भने कसैले औँला ठड्याउने आँट गर्दैन। विद्यार्थी र अभिभावकको विश्वसनीय पात्र बन्छौँ। सामाजिक रूपमा पनि राम्रो छाप पार्न सक्छौँ। अनि सबैको विश्वसनीय, मर्यादित र सफल शिक्षक वा शैक्षिक राजनीतिज्ञ भोलि शिक्षण पेसाबाट अलग भई दलीय राजनीति गर्न खोज्दा कसो सफल नहोला र? 
(सापकोटा काठमाडौंस्थित विष्णुदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन्)