१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
चिरञ्जीवी घिमिरे चुलाचुली (इलाम)
२o८१ बैशाख ३० आइतबार १९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

सकियो चुलाचुली नाट्य उत्सव

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, चुलाचुली (इलाम)
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:४३:oo

चुलाचुली रंगमञ्चले आयोजना गरेको दुईदिने चुलाचुली पाठशाला नाट्य उत्सव सकिएको छ। मंगलबार र बुधबार इलामको चुलाचुली–३ स्थित शिववरक मिलनपोखरी वनमा आयोजना भएको नाट्य उत्सवमा झापा, इलाम, मोरङका दश नाटक मञ्चन भएका थिए।

प्रकृतिको काखमा आयोजना गरिएको नाट्य उत्सवमा अधिकांश नाटक प्रकृति र पर्यावरणसँग सम्बन्धित थिए। अधिकांश नाटकमा विद्यालयका बालबालिकाले अभिनय गरेका थिए।

जंगलको बीचमा रंगमञ्च बनाएर गरिएको उत्सवमा नाटक मञ्चनसँगै नाटक र चित्रकलाको कार्यशालासमेत भएको थियो। इलामको दक्षिणी चुरे क्षेत्र चुलाचुलीमा ९ वर्षदेखि क्रियाशील चुलाचुली रंगमञ्चले यो नाट्य उत्सव आफ्नो ९औँ वार्षिक उत्सवमा आयोजना गरेको हो। 

नाट्य उत्सवको यो दोस्रो संस्करण हो। यसअघि ०७६ मा पहिलो नाट्य उत्सव भएको थियो । नाटकमा नयाँ काम गर्न खोज्ने हुटहुटीले जंगलमा नाट्य उत्सव गर्न सफल भएको रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले बताए। 

‘०७६ सालदेखि नै नयाँ केही गरौँ भन्ने थियो। भारतको मनिपुरमा यस्तो काम भएको भेटेँ। त्यो कामलाई तीन वर्षदेखि हेर्दै आएको थिएँ। त्यो काम कहाँ गर्ने होला भन्ने भएको थियो। त्यही भएर यो ठाउँ रोजेँ,’ उनले भने, ‘नेपाली रंगमञ्च एउटा बन्द कोठामा मात्र सीमित हुने कुरालाई भत्काउनु थियो। त्यही भएर नाट्य उत्सव जंगलमा गर्यो।’

जंगलमा नाट्य उत्सव गरेर चुलाचुली रंगमञ्चले एउटा चिन्तनको उठान गरेको रंगकर्मी विजय बरालले बताए। उनले नेपालमा यो नयाँ प्रयोग भएको बताए। 

‘सहर कंक्रिटजस्तो छ। सहर त अहिले भवनजस्तो भयो। सौन्दर्य भवन हैन चिन्तन हो, शैली हो। त्यो हिसाबले फरक शैली आएको छ,’ उनले भने, ‘यही काम काठमाडौंमा भएको भए व्यापक हुने थियो। अब यो कसरी सहरसम्म पुग्छ? यो काम देखेर धेरै खुसी लाग्यो। थिएटरले के गर्न सक्छ भन्ने देखियो।’

रंगकर्मी सिजन दाहालले चुलाचुली रंगमञ्चले गाउँमा नाटक चिनाउनु नै सबैभन्दा ठूलो सफलता भएको बताए। 

‘हामीले नाट्य उत्सव भएको ठाउँसम्म आउनका लागि धेरै ठाउँमा सोध्यौँ। सबै उमेर समूहकाले नाटक कहाँ हुँदै छ सहजै बताए। गाउँका हरेकलाई नाटकबारे थाहा दिन सक्नु यसको ठूलो सफलता हो,’ उनले भने, ‘जंगलमा नाटक गर्ने यो फम थिएटरको धेरैमध्ये एक हो। लोकेसनअनुसारको नाटक पनि डिजाइन भएका थिए। यही काम दमकमा वा इलाम सदरमुकाममा नहुन सक्छ। तर, यसका लागि यही ठाउँ चाहिन्छ।’

नाट्य उत्सवका लागि ६ लाख १२ हजार बढी बजेट लागेको आयोजकले जनाएको छ। यो खर्चमध्ये दुई लाख ५० हजार गाउँपालिकाले व्यहोर्ने गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले उद्घोष गरे।

नयाँ पत्रिकाकर्मी घिमिरेसहित तीन सम्मानित
चुलाचुली रंगमञ्चले नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेसहित तीनजनालाई सम्मान गरेको छ। घिमिरेसँगै रंगकर्मी जीवन बराल र चुलाचुली रंगमञ्चकी कलाकार रमिता राईलाई सम्मान गरिएको हो।

ad
ad