मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २० शुक्रबार
  • Friday, 03 February, 2023
प्रा.डा. ताराप्रसाद भुसाल प्रा.डा. ताराप्रसाद भुसाल
२०७९ माघ ११ बुधबार १८:४४:००
Read Time : > 11 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

उच्चशिक्षामा मानविकी तथा सामाजिक शास्त्र विषय किन ?

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह गर्न चाहने विद्यार्थीहरूका लागि मानविकी तथा सामाजिकशास्त्रअन्तर्गतका विषयहरू के–के छन् ? तिनीहरूको अध्ययन कहाँ र किने गर्ने ? 

Read Time : > 11 मिनेट
प्रा.डा. ताराप्रसाद भुसाल प्रा.डा. ताराप्रसाद भुसाल
२०७९ माघ ११ बुधबार १८:४४:००

मानविकी र सामाजिक शास्त्रका डिग्रीहरू धेरै फरक हुन सक्छन्, तर सबैमा एउटा कुरा समान छ, तिनीहरू मानव जीवनकेन्द्रित छन्। मानविकीका विषयहरू प्रायः विश्लेषणात्मक वा दार्शनिक हुन्छन्। सामाजिक विज्ञान विषयहरू अधिक वैज्ञानिक र प्रयोगात्मक हुन्छन्। 


पृष्ठभूमि
उच्च शिक्षाको लागि विश्वव्यापी रूपमा विशेष चासोको विषय परिवर्तनशील संसार हो। विश्वविद्यालयहरूले गर्ने सिकाइ तथा अनुसन्धानले समाजलाई परिवर्तन गर्न, समाजमा भएका परिवर्तनका बारेमा सिकाउन तथा समाजको वर्तमान र भविष्यको परिवर्तनलाई प्रभाव पार्न अहम् भूमिका खेलेका हुन्छन्। उच्च शिक्षाको अध्ययन र अनुसन्धानले यस परिवर्तनशील संसारमा कसरी जुध्ने भन्नेबारेमा विद्यार्थीहरूलाई ठोस र दिगो रूपमा तयारी हुन सक्षम बनाउँछ। पाठ्यक्रम, निर्देशन, प्रयोगशाला, पुस्तकालय, सेवा एवं शैक्षिक प्रविधिमार्फत विश्वविद्यालयहरूले परिवर्तनशील युगको  ‘कामको संसार’ का लागि रोजगारदाताहरूले चाहेअनुसारको जनशक्ति पर्याप्त रूपमा उपलब्ध गराउनु नै आजको चुनौती हो।

धेरैजसो स्नातक तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई विभिन्न समस्याहरूले सताएको हुन्छ। तीमध्ये उच्च शिक्षा पढ्ने कि नपढ्ने? त्यसमा पनि विदेश जाने कि नेपालमै पढ्ने? नेपालमै पढेमा कुन विश्वविद्यालय छनोट गर्ने? कुन विषय पढ्ने?  आदि समस्याहरूले विद्ययार्थीहरूलाई महिनौँसम्म अनुत्तरित बनाइराखेकाे हुन्छ । यसो हुनुमा नेपालमा व्यक्तिको एवं परिवारको भविष्यको अध्ययन एवं रोजगारसम्बन्धी स्पष्ट योजना नहुनु, विद्यालयमा तथा विश्वविद्यालयहरूमा पनि दीर्घकालीन रूपमा अध्ययन परामर्श (Study Counseling) पेसा परामर्श (Career Counseling) सम्बन्धी व्यवस्था नहुने, अरूहरूको देखासिखी प्रभाव ( Demonstration Effect )पर्ने आदि कारणले विद्यार्थीहरूलाई उच्च शिक्षा छनोटमा ठूलो समस्या रहेको देखिन्छ। त्यसमा पनि स्नातकमा विज्ञान पढ्नेले स्नातकोत्तरमा विज्ञान नै पढ्नुपर्ने, स्नातकमा इन्जिनियरिङ, कम्प्युटर, गणित, व्यवस्थापन, कृषि, वन, पब्लिक हेल्थ आदि पढ्नेले स्नातकोत्तरमा पनि तिनै विषयहरू पढ्नुपर्छ भन्ने समाजमा जुन पूर्वनिर्धारित मानसिकता (Predetermined Mindset_ छ, त्यसले गर्दा पनि विद्यार्थीहरूले स्नातकोत्तर तहमा भर्ना भइसकेपछि पनि समस्याहरू झेलिरहेका हुन्छन्। 
यसबारेमा आजसम्म  राज्यले न त कुनै परामर्श गर्ने संस्थागत व्यवस्था गरेको छ, न त विश्वविद्यालयहरूमा यसबारेमा समुचित व्यवस्था नै गरेका छन्। त्यसैगरी, नेपालमा निजी क्षेत्रमा पनि अध्ययन तथा पेसासम्बन्धी परामर्श दिने व्यवस्थित संस्थाहरू रहेका छैनन्।
यस लेखमा मानविकी भनेको के हो? सामाजिकशास्त्र भनेको के हो?  त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतका विषयहरू के के छन्? तिनीहरूको अध्ययन कहाँ र किन गर्ने? त्यससम्बन्धमा चर्चा गरिएको छ।

 

लेखक ः प्राडा ताराप्रसाद भुसाल

के हो मानविकी तथा सामाजिक शास्त्र ?
मानविकी मानव, हाम्रो इतिहास, संस्कृति र समाजको व्यक्तिपरक अध्ययन हो भने सामाजिक शास्त्रले वैज्ञानिक र प्रमाणमा आधारित दृष्टिकोण प्रयोग गर्दछ। सामाजिक विज्ञान मानवता र यसको अतीत, वर्तमान, प्रवृत्ति र भविष्यवाणीमा आधारित भविष्यको वस्तुनिष्ठ अध्ययन हो। सामाजिक विज्ञान भनेको मानिसले एकअर्कासँग कसरी अन्तर्क्रिया गर्छ भन्ने अध्ययन हो। सामाजिक वैज्ञानिकहरूले समाजले कसरी काम गर्छ भन्ने अध्ययन गर्छन्। सामाजिक विज्ञानले हामीलाई हामी बस्ने समाजको ज्ञान प्राप्त गर्न मद्दत गर्दछ र यसले सबैको लागि अधिक दक्षता र जीवनको गुणस्तरको नेतृत्व गर्ने गर्छ।

‘सामाजिक वैज्ञानिक’ वा ‘मानववादी’ दुवै सभ्य समाजको लागि आवश्यक छ, मानविकी र सामाजिक शास्त्र दुवै उच्च शिक्षाको लागि आवश्यक छन्। सामाजिक विज्ञान एकेडेमिक अध्ययनका विषयहरू हुन्, जसले समाजका विभिन्न पक्षहरूको जाँच गर्दछ। त्यहाँ सामाजिक विज्ञानका धेरै शाखाहरू छन्, ती सबैले मानिसहरूले कसरी व्यवहार, अन्तर्क्रिया र संसारलाई प्रभाव पार्छन् भन्ने अध्ययन गर्ने एउटै उद्देश्य साझा गर्छन्। सामाजिक विज्ञानले हामीलाई समाजले कसरी काम गर्छ भन्नेबारे बताउँछ। हामीलाई सामाजिक, सामुदायिक र व्यक्तिगत स्तरमा प्रक्रियाहरूलाई कसरी सुधार गर्ने भनेर बुझ्न मद्दत गर्छ। नतिजाको रूपमा, सामाजिक विज्ञान विषयको अध्ययनले धेरै अवसरहरू खोल्न सक्छ र विद्यार्थीहरूलाई बहुमूल्य कौशलको विस्तृत शृंखला प्रदान गर्न सक्छ।

के गर्छ मानविकीले?
शिक्षा भनेको जान्नु मात्र होइन, गर्ने पनि हो। विज्ञानले  कसरी गर्ने भनेर सिक्न मद्दत गर्छ र तेसले तपाईंलाई प्रविधिलाई करिअरमा प्रयोग गर्न सक्ने आधारभूत सीपहरू सिक्न मद्दत गर्छ। मानविकीले तपाईंलाई केही महत्त्वपूर्ण कुराहरू कसरी गर्ने भनेर पनि सिक्न मद्दत गर्छ। यसले हामीलाई  कसरी आफ्ना विचारहरू सञ्चार गर्ने भनेर सिकाउनेछ। तिनीहरूले हामीहरूलाई कविता, कथा, चित्रकला, संगीत, मूर्तिकला, र नाटकीय कलाहरूमार्फत कसरी आफ्ना विचारहरू व्यक्त गर्ने भनेर सिकाउँछ। केही मानिसहरू मानवतावादी शिक्षा 'व्यावहारिक' होइन भन्ने सोच्छन्। तर, यो झुटो हो किनभने सबै अन्तिम लक्ष्यहरू बुझ्ने, मूल्यांकन गर्ने र कदर गर्नु भनेको व्यावहारिक कुरा हो। यो कुरा मानवतावादी शिक्षाको मूल्य बुझ्नेले मात्र थाहा पाउँछ। मानविकीले मानिसहरूको सोच्ने, तर्क गर्ने र विचारहरू प्रस्तुत गर्ने, मानवतावादी सीपहरू विकास गर्ने क्षमतामा वृद्धि गर्दछ। 

सामाजिक विज्ञान पढ्नु किन महत्त्वपूर्ण छ?
सामाजिक विज्ञानहरू अध्ययन गर्नु महत्त्वपूर्ण छ किनभने त्यसले  मानव हुनुको अर्थ के हो, भन्ने कुराको ज्ञान दिन्छ । जब हामी आफैँलाई राम्रोसँग बुझ्छौँ, हामी राम्रोसँग बुझ्न सक्छौँ कि संसार कसरी काम गर्दछ। एकपटक हामीले यो बुझेपछि हामी समाजका समस्याहरूका मूल कारणहरू पहिचान गर्न र थप प्रभावकारी समाधानहरू खोज्न सक्षम हुन्छौँ। सामाजिक विज्ञानले समाजले कसरी काम गर्छ भनेर व्याख्या गर्न मद्दत गर्दछ। यसको साथै सामाजिक विज्ञानले हामीलाई यो किन हो भनेर बुझ्न र व्यक्ति र समाजको लागि राम्रो नतिजाहरू प्राप्त गर्न मानिसहरूसँग काम गर्न सक्ने नीतिहरू, हस्तक्षेपहरू र कार्यहरू विकास गर्न मद्दत गर्न सक्छ। यो हाम्रो सामाजिक र आर्थिक कल्याणमा कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा यसले सरोकार राख्दछ।

यसअन्तर्गत के के छन् कार्यक्रमहरू?
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुमा विश्वका धेरै विद्यार्थी संख्या हुने विश्वविद्यालयहरूमध्ये एक हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन्। यीमध्ये मानविकी तथा सामाजिक शास्त्र संकाय एउटा हो।  यस संकायमा स्नातक तहमा करिब ४३ वटा विषयहरूको पठनपाठन हुन्छ भने अधिस्नातक डिप्लोमाअन्तर्गत ५ वटा विषयहरूको पठनपाठन हुन्छ।  यस संकायअन्तर्गत स्नातकोत्तर तहमा  २२ वटा विषयहरूका  केन्द्रीय विभागहरूसहित ३६ वटा विषयहरूको पठनपाठन हुँदै आइरहेको छ। २४ वटा विषयहरूमा दर्शनाचार्य– विद्यावारिधि (MPhil–PhD ) तह को पठनपाठन भैरहेको छ।

कुन कुन विषयहरू पढ्न पाइन्छन्?
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायमा नियमित रूपमा पठनपाठन हुने विषयहरूमा मानवशास्त्र (Anthropology), बौद्ध  अध्ययन (Buddhist Studies), अर्थशास्त्र (Economics), अंग्रेजी (English), ललित कला (Fine Arts), नृत्य (Dance), नेपालको इतिहास, संस्कृति तथा पुरातत्व (Nepalese History Culture and Archeology), भूगोल (Geography), हिन्दी (Hindi), इतिहास (History), पत्रकारिता तथा आमसंचार (Journalism and Mass Communication), गृह विज्ञान (Home Science), पुस्तकालय विज्ञान (Library Science), भाषा विज्ञान (Linguistics), मैथली (Maithili), नेपाल भाषा (Nepal Bhasha), नेपाली (Nepali), राजनीति शास्त्र (Political Science), जनसंख्या अध्ययन (Population Studies), मनोविज्ञान (Psychology), ग्रामीण विकास (Rural Development), संस्कृत (Sanskrit) तथा समाजशास्त्र (Sociology), दर्शनशास्त्र (Philosophy) गरी जम्मा २४ वटा विषयहरू छन् ।

यसका अतिरिक्त यस संकायमा स्कुल परामर्श मनोविज्ञान (School Counseling Psychology ), परामर्श मनोविज्ञान ( Counseling Psychology), पोषण विज्ञान  तथा पब्लिक हेल्थ पोषण (Dietetics and Public Health Nutrition_, Women Studies, Yogic Science जस्ता आन्तरिक स्रोतबाट सञ्चालित एकवर्षे दुई सेमेस्टर अवधिका अधिस्नातक डिप्लोमा (PGD Diploma) कार्यक्रमहरू सञ्चालन भइराखेका छन् । 

सामाजिक विज्ञानले विद्यार्थीहरूलाई लोकतन्त्र, स्वतन्त्रता र अधिकारको महत्व र समाजमा कसरी बाँच्ने भनेर जान्न मद्दत गर्छ। यसले विद्यार्थीलाई समाजप्रति जिम्मेवार, सक्रिय र चिन्तनशील बनाउँछ । र, विद्यार्थीहरूलाई संस्कृति, धर्म र समाजको बारेमा राम्ररी जानकारी गराउँदछ। छोटकरीमा, यसले विद्यार्थीलाई राम्ररी जानकार नागरिक बनाउँछ।

के के छन् नयाँ विषयहरू ?
माथि उल्लेख गरिएका नियमित कार्यक्रमतर्फका विषयहरूबाहेक डिन कार्यालयले आन्तरिक स्रोतबाट सञ्चालन गरेका विभिन्न विषयहरूको स्नातकोत्तर तहको पढाइ पनि सञ्चालनमा रहेका छन्। 
स्नातकोत्तर तहमा अन्तर्रास्ट्रिय सम्बन्ध तथा कूटनीति (International Relations and Diplomacy), द्वन्द्व शान्ति तथा विकास अध्ययन (Conflict Peace and Development Studies), सामाजिक कार्य (Social Work) र लैंगिक अध्ययन ( Gender Study) जस्ता विषयहरू विभिन्न ४ वटा विभागहरूमा सञ्चालित छन् भने खेलकुद विज्ञान (Sports Science), श्रम अध्ययन (Labour Studies), परामर्श मनोविज्ञान (Counseling Psychology), सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन (Governance and Anticorruption Studies), पर्यटन तथा आतिथ्य व्यवस्थापन अध्ययन ( Tourism and Hospitality Management Studies) संकट व्यवस्थापन अध्ययन (Crisis Management Studies) र यौगिक विज्ञान (Yogic Science) जस्ता विषयहरू पनि यस संकायले आन्तरिक स्रोत परिचालन गर्ने गरी स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्दै आएका छन् । 

तिनीहरूमध्ये संकट व्यवस्थापन अध्ययन धुम्बाराहीस्थित संकट व्यवस्थापन कलेजमा सञ्चालनमा छ भने अरू कीर्तिपुर विश्वविद्यालय क्याम्पस परिसरमा सञ्चालित छन्। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सामरिक अध्ययन (Strategic Study) विषयको पठनपाठन सैनिक स्टाफ कलेज शिवपुरीमा र सुरक्षा, शान्ति तथा विकास अध्ययन (Security, Peace and Development) विषयको पठनपाठन सशस्त्र प्रहरी नेपालको स्टाफ कलेज सानो गौचरणमा सञ्चालनमा रहेका छन्।

कुन विषय कहाँ पढ्ने?
माथि उल्लेख गरिएका धेरैजसो विषयहरूको स्नातकोत्तर तहको पठनपाठन विश्वविद्यालय क्याम्पस कीर्तिपुर परिसरमा सञ्चालन भइरहेका छन् भने अन्य विषयहरूको पठनपाठन उपत्यकाका ठूला  क्याम्पसहरूमा हुँदै  आएका छन्। रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग, मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतका विषयहरूको मात्र पठनपाठन हुने त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस हो। यसबाहेक पाटन संयुक्त क्याम्पस, ललितपुर, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, त्रिचन्द्र बहुमुखी क्याम्पस घन्टाघर, सरस्वती बहुमुखी क्याम्पस ठमेल तथा भक्तपुर बहुमुखी क्याम्पसमा पनि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका धेरैजसो विषयहरूको स्नातक एवं स्नातकोत्तर तहका कक्षाहरू विद्यार्थीहरूको मागबमोजिम बिहान, दिवा तथा बेलुकी समयमा सञ्चालन भइरहेका छन्।

मैथिली विषयको पठनपाठन रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा सञ्चालन भइराखेको छ। नेपाल भाषाको पढाइ भने पाटन संयुक्त क्याम्पसको हातामा रहेको केन्द्रीय विभाग र रत्नराज्य क्याम्पसमा सञ्चालन भइरहेको छ। पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन केन्द्रीय विभागबाहेक महेन्द्र मोरङ क्याम्पस तथा मदन भण्डारी कलेज नयाँ बानेश्वरमा हुँदै आएको छ।

यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयहरूको पठनपाठन सञ्चालन गरिरहेका छन्। सामुदायिकस्तरबाट सञ्चालित स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेका उपत्यकाका प्रमुख क्याम्पसहरू जस्तैः मदन भण्डारी कलेज, पशुपति बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, भक्तपुरको ख्वप कलेज, बागेश्वरी कलेज, डिल्लीबजार कन्या क्याम्पस, ग्रामीण आदर्श आदि क्याम्पसहरूमा समाजशास्त्र, राजनीति शास्त्र, अंग्रेजी, नेपाली, ग्रामीण विकासलगायत विभिन्न विषयहरू सञ्चालनमा रहेका छन्।
निजी स्तरबाट सञ्चालित काठमाडौं मोडेल कलेजमा अंग्रेजी विषयको स्नातकोत्तर तहको पठनपाठन हुन्छ भने गोल्डन गेट कलेजमा अर्थशास्त्र विषयको पठनपाठन हुने गरेको छ। त्यसैगरी, बानेश्वरस्थित के एन्ड के कलेजमा मनोविज्ञान तथा लैंगिक अध्ययन विषयहरूका कक्षाहरू सञ्चालनमा रहेका छन्। त्यसबाहेक अन्य निजी क्याम्पसहरूले पनि समाजशास्त्र तथा उपत्यकाबाहिर पूर्वमेचीदेखि महाकालीसम्म सातै प्रदेशमा रहेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले पनि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका विभिन्न विषयहरूको स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्दै स्थानीय विद्यार्थीहरूलाई अध्ययन गर्ने मौका उपलब्ध गराएका छन्।

उपत्यकाबाहिरको स्थिति के छ?
उपत्यकाबाहिर पनि सातवटै प्रदेशमा स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयहरूमा पढाइ सञ्चालन भइरहेका छन्। 
प्रदेश १ अन्तर्गतका क्याम्पसहरूमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, मेची बहुमुखी क्याम्पस झापा, दमक क्याम्पस झापा, स्नातकोत्तर क्याम्पस विराटनगर, महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगर, महेन्द्र क्याम्पस धरान, धनकुटा बहुमुखी क्याम्पस, तेह्रथुम क्याम्पस, म्याग्लुङ क्याम्पस, उर्लाबारी क्याम्पस तथा दिक्तेल क्याम्पसहरू पर्दछन्। 

मधेस प्रदेशअन्तर्गत महेन्द्र बिन्देश्वरी क्याम्पस, सप्तरी, रामस्वरूप रामसागर क्याम्पस, जनकपुर, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज, जेएस मुरारका क्याम्पस लाहान, रामप्रताप रामप्रसाद तामाङ क्याम्पस गोलबजार, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, हरिखेतान क्याम्पस वीरगन्ज तथा नेसनल पिपुल कलेज, कञ्चनपुर सप्तरी आदि क्याम्पसहरूमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषयहरूको पठनपाठन भइरहेका छन् ।

बागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका क्याम्पसहरूमा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, सहिद स्मृति क्याम्पस टाँडी, सप्तगण्डकी क्याम्पस भरतपुर, मकवानपुर बहुमुखी क्याम्पस हेटौँडा, सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीमाडी, काभ्रे बहुमुखी क्याम्पस काभ्रे तथा लम्पन्टार क्याम्पस सिन्धुली आदि क्याम्पसहरूले स्नातक तथा स्नातकोत्तर तहमा गुणस्तरीय पढाइ सञ्चालन गर्दै आएका छन्।

गण्डकी प्रदेशमा रहेका त्रिविका क्याम्पसहरूमध्ये पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, धौलागिरि क्याम्पस बाग्लुङ, कालिका बहुमुखी क्याम्पस पोखरा, मर्स्याङ्दी बहुमुखी क्याम्पस लमजुङ, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, वालिङ बहुमुखी क्याम्पस, गल्याङ बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पस दमौली आदि क्याम्पसहरूमा मानविकीतर्फका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न विषयहरूकाे पठनपाठन भइरहेकाे छ।

लुम्बिनी प्रदेशमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, बुटवल बहुमुखी क्याम्पस, बुटवल, भैरहवा बहुमुखी क्याम्पस रूपन्देही, राममणि क्याम्पस बुटवल, अन्नपूर्ण मोडेल कलेज बुटवल, महेन्द्र बहुमुखी क्याम्पस दाङ, राप्ति बबई क्याम्पस तुलसीपुर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जजस्ता क्याम्पसहरूले स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न विषयहरूको अध्ययन अध्यापन गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशमा डोटी बहुमुखी क्याम्पस, डडेल्धुरा बहुमुखी क्याम्पस एवं कैलालीको सुखडमा रहेका घोडाघोडी बहुमुखी क्याम्पस तथा रास्ट्रिय कलेजले मानविकी तथा सामाजिकशास्त्र संकायका विषयहरूका कक्षाहरू सञ्चालन गरिरहेका छन्। त्यसैगरी, कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसले पनि स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

किन र कुन विषय पढ्ने?
समाज बुझ्नका लागि मानविकी तथा सामाजिक शास्त्र अध्ययन गर्नुपर्छ। मानविकी तथा सामाजिक अध्ययनका विषयहरूले विद्यार्थीहरूलाई सामाजिक आचारसंहिताका बारेमा सिकाउँछन्, जसले गर्दा विद्यार्थीहरूमा उनीहरूको भूमिकाबारे सचेत गराउँदछ। उच्च शिक्षा अध्ययनका  लागि भर्ना गर्नुअघि  समय, श्रम र पुँजी लगानीको प्रतिफल के हुने भने कुराको ख्याल गर्नुपर्दछ। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत विद्यार्थीहरूको आफ्नो रुचि, चाहना एवं आवश्यकताअनुसारका एक से एक विषयहरू रहेका छन्।

हाम्रोजस्तो देशमा केवल ज्ञान हासिल गर्ने उद्देश्यले मात्र उच्च शिक्षा पढ्ने हुन्छन् भन्न सकिन्न। मानविकी तथा सामाजिकशास्त्र संकायमा यस्ता धेरै विषयहरू छन्, जसको अध्ययन गरेर रोजगारीका लागिसमेत अवसर प्राप्त गर्न सकिन्छ। मानविकी तथा सामाजिक शास्त्र पढेर सामाजिक दायित्व बोध गर्ने, नीति निर्माण गर्न विश्लेषण गर्न तथा मानवको गुण दिलाउनु यो संकायको उद्देश्य रहेको हुन्छ। तर, यो संकायमा उच्च शिक्षा अध्ययनपछि रोजगारीसँग जोड्न थालेपछि यी विषय प्राथमिकतामा परेका हुन्। 

उदाहरणको लागि भविष्यमा निजामती सेवामा उच्चतहको पदमा जागिरमा लागि कुशल प्रशासक हुने हो भने अर्थशास्त्र, राजनीति शास्त्र, भूगोल, इतिहास, संस्कृति आदि जस्ता विषयहरू अध्ययन गर्न राम्रो हुन्छ। त्यसमा पनि परराष्ट्र तथा कूटनीति सेवामा रुचि हुनेहरूका लागि अन्तर्राष्ट्रिय  सम्बन्ध तथा कूटनीति अध्ययन र अंग्रेजी विषय रोज्नु उपयुक्त हुन सक्छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्न इच्छुकहरूले समाजशास्त्र, मानवशास्त्र,  ग्रामीण विकास, जनसंख्या अध्ययन, द्वन्द्व शान्ति तथा विकास अध्ययन, लैंगिक अध्ययन, श्रम अध्ययन, सामाजिक कार्य, संकट व्यवस्थापन, सुशाशन तथा भ्रष्टाचारविरोधी अध्ययन आदि छनोटका विषयहरू हुन सक्छन्। 

राजनीतिमा लाग्नेहरूले राजनीति शास्त्रबाहेक अर्थशास्त्र, समाजशास्त्र,  इतिहास आदि विषयको ज्ञान हुनु अपरिहार्य हुन्छ। उच्चशिक्षा अध्ययन गरी भविष्यमा कुशल शिक्षक तथा प्राध्यापक हुन् इच्छा राख्ने व्यक्तिहरूका लागि अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र, गणित, नेपाली, ग्रामीण विकास आदि जस्ता विषयहरू अनुकूल हुन सक्ने देखिन्छ।

नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरू तथा वित्तीय संघसंस्थाहरूमा सेवा गर्नका लागि तथा अर्थशास्त्री भई राम्रो अनुसन्धान गर्नका लागि अर्थशास्त्र उत्तम विषय हो भने तथ्यांक विभागअन्तर्गत काम गर्नका लागि अर्थशास्त्र एवं जनसंख्या अध्ययन विषय अनुकूल हुन सक्छ। पत्रकारितालाई आफ्नो पेसा बनाई त्यसमा आफ्नो विज्ञता आर्जन गर्न चाहनेहरूले पत्रकारिता तथा आमसञ्चार विषय छनोट गर्न सक्नेछन् भने भाषा र साहित्यमा रुचि राख्नेहरूले संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी, भाषाविज्ञान, मैथली, नेपाल भाषाजस्ता विषयहरूमध्ये कुनै विषय अध्ययन गर्न सक्छन्।

त्यसैगरी, बौद्ध दर्शनमा विज्ञता हासिल गर्नका लागि लागि बौद्ध अध्ययन एउटा उपयोगी विषय रहेको छ। संगीत, तबला वादन, चित्रकला, मूर्तिकला, नृत्य फिल्म अध्ययनजस्ता विषयहरूमा रुचि हुनेहरूका लागि ती विषयहरूको अध्ययन गर्ने व्यवस्था गरिएको छ। यसबाहेक खेलकुदमा विज्ञता हासिल गर्नका लागि खेलकुद विज्ञान विषय अध्ययन गर्नुपर्ने हुन्छ भने पर्यटन क्षेत्रमा दक्षता हासिल गर्न चाहनेहरूले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत पर्यटन तथा आतिथ्य अध्ययन विषय एउटा जल्दोबल्दो रूपमा आएको छ।

मनोविज्ञान,  परामर्श मनोविज्ञान, दर्शनशास्त्र, योग विज्ञानजस्ता विषयहरू पनि त्यसतर्फ रुचि हुनेहरूका लागि अब्बल विषयका रूपमा रहेका छन्। यी विषयहरूमा चिकित्सा शास्त्र अध्ययन संस्थानतिरका विद्यार्थीहरूको बढी आकर्षण भएको देखिन्छ। यसको अध्ययनले सैद्धान्तिक कुरा मात्र होइन, व्यावहारिक कुरा सिक्ने र रोजगारीका लागिसमेत बाटो खुलेका छन्।

कसले के पढ्ने ?
मानविकी तथा सामाजिक शास्त्र संकायमा १२ कक्षा उत्तीर्ण भएका सबै विद्यार्थीहरूले स्नातक तहमा आफूले अध्ययन गर्न चाहेको जुनसुकै विषयमा पनि  भर्ना हुन पाउनेछन्। स्नातकोत्तर तहमा भने अंग्रेजी र अन्य भाषासम्बन्धी विषयहरूमा भर्नाका लागि स्नातक तहमा सोही विषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था छ। तर, अन्य विषयहरूमा व्यवस्थापन, कानुन, शिक्षाशास्त्र संकाय तथा इन्जिनिरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि अध्ययन संस्थानहरूबाट स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा आफ्नो रुचिअनुसार विभिन्न विषयहरूमा विषय समितिले राखेका न्यूनतम सर्तहरू पूरा गरेर भर्ना हुन सक्ने प्रावधान राखिएको छ। 

विगतमा भर्नाको प्रवृत्ति हेर्दा अन्य संकाय तथा अध्ययन संस्थानहरूबाट यस संकायमा भर्ना हुने विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको देखिन्छ। खासगरी अर्थशास्त्र, समाजशास्त्र, ग्रामीण विकासजस्ता साधारण विषयहरू तथा अन्य अन्तरसम्बन्धित विषयहरूमा अन्य संकाय तथा अध्ययन संस्थानहरूबाट मनग्य विद्यार्थीहरू अध्ययन गर्नका लागि आइरहेका देखिन्छन्।

कलालाई प्रविधिसँग जोड्दै
मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका विषयहरू कला,  साहित्य, मानवता एवं सामाजिक क्षेत्रसँग सम्बन्धित भएकोमा दुई मत छैन। आजको वैज्ञानिक युगमा कलालाई प्रविधिसँग जोडिएन भने समाज परिवर्तनको गतिलाई हासिल गर्न नसकिने भएकोले यस संकायले पछिल्ला वर्षहरूमा स्नातक तहमा सेमेस्टर प्रणालीमा आधारित चारवर्षे आठ सेमेस्टरको ब्याचलर्स डिग्री इन कम्प्युटर अप्लिकेसन (Bachelor's Degree in Computer Application – BCA) कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उत्तीर्ण भएका पहिलो ब्याचका सबै विद्यार्थीहरू स्वरोजगारी एवं स्वदेशी तथा विदेशी प्रतिस्पर्धी श्रमबजार (JobMarket) मा सफलतापूर्वकअगाडि रही कार्यरत छन् । यसै वर्षदेखि डिन कार्यालयले स्नातकोत्तर तहमा पनि सेमेस्टर प्रणालीमा आधारित दुईवर्षे चार सेमेस्टरको (Master's Degree in Computer Application – MCA)  कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

भर्नाका आधारहरू के के छन् ?
मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालन हुने सबै स्नातक र स्नातकोत्तर तहमा भर्ना हुनका लागि तल्लो तह उत्तीर्ण गरेका विद्यार्थीहरूले डिन कार्यालयले तोकेबमोजिमको प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ। न्यूनतम योग्यता पुगेका तथा विषय समितिले निर्धारण गरेका मापदण्ड पूरा गरेका विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्र प्रथम सेमेस्टरमा भर्ना हुन पाउनेछन्। 

साधारण विषयहरूमा सिट संख्या निश्चित नतोकिएको भए तापनि अन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूमा सिट संख्या अधिकतम ५० निर्धारण गरिएको छ। विद्यार्थीहरूले भर्ना हुनका लागि लिइने प्रवेश परीक्षा एवं अन्य सेमेस्टरका परीक्षाहरूका लागि डिन कार्यालयले अनलाइन (Online) पद्दतिबाट वेबसाइट (Website) मार्फत फारम भर्ने व्यवस्था गरेकोले विद्यार्थीहरूलाई सुविधा भएको देखिन्छ। 

अध्ययन, अध्यापन र परीक्षा प्रणाली कस्तो हुने?
स्नातक तहमा विद्यार्थीहरूले चार वर्षमा आठ सेमेस्टर अध्ययन गर्नुपर्नेछ। स्नातकोत्तर तहमा विद्यार्थीहरूले दुई वर्षमा चार सेमेस्टर अध्ययन गर्नुपर्नेछ। प्रत्येक सेमेस्टरमा कम्तीमा १६ हप्ता अध्ययन गर्नुपर्नेछ। चार सेमेस्टरहरूमा कुल क्रेडिट आवर करिब ६३ हुनेछ। एक क्रेडिट आवर बराबर १६ घण्टाको समय हुनेछ। कक्षामा पठनपाठनको माध्यम भाषाका विषयहरूबाहेक अंग्रेजी भाषा नै हुनेछ। 

प्रत्येक सेमेस्टरमा ४० प्रतिशत अन्तरिक मूल्यांकन र ६० प्रतिशत बाह्य परीक्षा हुने गरी व्यवस्था गरिएको छ। आन्तरिक परीक्षामा विद्यार्थीहरूले उपस्थिति, प्रस्तुतीकरण, असाइन्मेन्ट, प्रोजेक्ट कार्य, शिक्षक मूल्यांकन तथा लिखित परीक्षा हुनेछ भने बाह्य परीक्षा सामान्य तया प्रयोगात्मक विषयहरूबाहेक तीनघन्टाको लिखित परीक्षा हुनेछ। 

बाह्य परीक्षा डिन कार्यालयले सञ्चालन गर्दछ। बाह्य परीक्षामा संलग्न हुनको लागि कक्षामा ८० प्रतिशत उपस्थिति र आन्तरिक परीक्षामा सम्पूर्ण विषयहरू उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको छ। विद्यार्थीहरू परीक्षामा उत्तीर्ण हुनका लागि प्रत्येक विषयमा न्यूनतम ५० प्रतिशत (GPA 2.7) सहित समष्टिगतमा  ६० प्रतिशत (CGPA 3.0)  प्राप्त गरेको हुनुपर्नेछ । आन्तरिक परीक्षा र बाह्य परीक्षाको प्राप्तांकमा २० प्रतिशतभन्दा बढी फरक भएमा आन्तरिक परीक्षामा प्राप्त गरेको अंकलाई केवल २० प्रतिशत मात्र बढी हुने गरी ह्रास गर्ने व्यवस्था त्रिभुवन विश्वविद्यालयको सेमेस्टर परीक्षा सञ्चालन कार्यविधिमा रहेको पाइन्छ। 

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालन हुने स्नातकोत्तर तहमा अध्ययन गर्दा लाग्ने शुल्क सामान्य नै रहेको छ। साधारण तथा नियमित कार्यक्रमका विषयहरूमा केन्द्रीय विभागहरू तथा आंगिक क्याम्पसहरूमा चार सेमेस्टरको जम्मा शुल्क करिब ४० देखि ५० हजार रुपैयाँ रहेको छ भने आन्तरिक स्रोतबाट व्ययभार बेहोर्ने स्नातकोत्तर कार्यक्रमहरूमा भने करिब एक लाख पचास हजारदेखि दुई लाख रुपैयाँसम्म शुल्क लाग्ने गरेको देखिन्छ। सम्बन्धन प्राप्त क्याम्पसहरूमा भने यो शुल्क सामान्य रूपमा फरक–फरक रहेको देखिन्छ।

अन्त्यमा, 
मानविकी र सामाजिक शास्त्रका डिग्रीहरू धेरै फरक हुन सक्छन्, तर सबैमा एउटा कुरा समान छः तिनीहरू मानव जीवनमा केन्द्रित छन्। मानविकी विषयहरू प्रायः विश्लेषणात्मक वा दार्शनिक हुन्छन्। सामाजिक विज्ञान विषयहरू अधिक वैज्ञानिक र प्रयोगात्मक हुन्छन्। सामाजिक विज्ञानले विद्यार्थीहरूलाई लोकतन्त्र, स्वतन्त्रता र अधिकारको महत्व र समाजमा कसरी बाँच्ने भनेर जान्न मद्दत गर्छ। यसले विद्यार्थीलाई समाजप्रति जिम्मेवार, सक्रिय र चिन्तनशील बनाउँछ। र, विद्यार्थीहरूलाई संस्कृति, धर्म र समाजको बारेमा राम्ररी जानकारी गराउँदछ। छोटकरीमा, यसले विद्यार्थीलाई राम्ररी जानकार नागरिक बनाउँछ।

(लेखक प्रा.डा. ताराप्रसाद भुसाल, त्रिभुवन विश्वविद्यालयको मानिविकी तथा सामाजिक शास्त्र संकायमा सहायक डिनको रूपमा कार्यरत छन् ।)