१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format ११:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाह न्यूनीकरण गर्न युवतीलाई ग्यास सिलिन्डर उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o३:oo

खजुरा गाउँपालिका– ५ वडा कार्यालयले कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर उपहार दिने भएको छ । बालविवाह न्यूनीकरणका लागि कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर प्रदान गर्ने योजना ल्याएको वडाध्यक्ष गरिबे शेषले बताए ।

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै २० वर्ष पार गरेर विवाह गर्ने युवतीलाई ग्यास सिलिन्डर लैजान आग्रह गरेका छन् । बालविवाह रोक्न वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष शेषले जानकारी दिए ।

वडा नम्बर ५ का स्थायी बासिन्दालाई मात्र सिलिन्डर उपहार दिने वडा कार्यालयले जनाएको छ । ‘२० वर्षमाथिका युवतीको विवाहमा उपहारस्वरूप खाना पकाउने ग्यास सिलिन्डर सेट उपलब्ध गराउने वडा कार्यालयको कार्यक्रम रहेकाले इच्छुक युवतीले उपहार लिन दुलहा–दुलहीको उमेर खुल्ने प्रमाणसहित वडा कार्यालयमा आउनुहोला,’ वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

बालविवाह रोक्न सचेतनामूलक कार्यक्रमसँगै विभिन्न थरीका उपाय अवलम्बन गर्दासमेत कुनै सीप नचलेपछि पछिल्लोपटक उपहारस्वरूप ग्यास सिलिन्डर दिने योजना वडा कार्यालयले ल्याएको वडाध्यक्ष शेषले बताए । उक्त वडामा मुस्लिम र मधेसी समुदायको बसोवास छ । ‘कानुन, सजाय तथा सानो उमेरमा विवाह गर्दा पर्ने सामाजिक, आर्थिक एवं शैक्षिक असरबारे जानकारी गराउँदासमेत बालविवाह न्यूनीकरण भएन,’ वडाध्यक्ष शेषले भने, ‘पछिल्लो उपाय अन्तिम अस्त्रको रूपमा प्रयोग गरेका हौँ । यो कार्यक्रमले केही हदसम्म सहयोग पुर्‍याउने आशा छ ।’

बालविवाह न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालयले किशोरी नाटक, महिला स्वयंसेवक परिचालन, सचेतना कार्यक्रम, र्‍यालीलगायतका कार्यक्रम गरिसकेको उनले बताए । वडा कार्यालयले ३ माघदेखि सिलिन्डर दिने निर्णय गरे पनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको वडा कार्यालयले जनाएको छ ।