मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ १० मंगलबार ०८:५४:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७९ माघ १० मंगलबार ०८:५४:००

हामीलाई दैनिक जीवनमा विभिन्न कुराको तनाव हुन्छ । जसमध्ये कामको तनाव पनि एक हो । हामी जीवनयापन गर्ने क्रममा विभिन्न काम वा व्यवसायमा लागेका हुन्छौँ । घरायसी काम, खेती किसानी, सामाजिक काम, व्यवसायमा कहिलेकाहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नुपर्ने हुन सक्छ, जसले हामीलाई मानसिक तनावसमेत दिने गर्छ । 
किन हुन्छ ?
 कामको चाप बढ्नु 

कहिलेकाहीँ कामको अत्यधिक चाप हुन्छ । काममा बढी मिहिनेत गर्नुपर्ने वा सधैँको भन्दा बढी समय दिनुपर्ने हुन्छ । आफ्नो काममा सफल हुन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कामको तनाव पनि बढ्दै जान्छ ।

 काम गर्ने वातावरण नहुनु 
अफिस वा कम्पनीको भौतिक वातावरण उपयुक्त नहुँदा पनि तनावको अवस्था आउँछ । कार्यालयका सहकर्मी र हाकिमको व्यवहार तनावको कारण बन्न सक्छ । काममा टिमवर्क नहुनु, कामको जस नपाउनु, काममा हौसलाको कमी, असुरक्षा, प्रोत्साहनको कमी, हीनताबोध आदिले तनाव दिन सक्छ ।

 मानसिक तथा शारीरिक कसरत 
अत्यधिक रूपमा शारीरिक तथा मानसिक बल लगाउनुपर्ने अवस्थामा पनि मानिस तनावमा आउँछ । 

 रुचिको काम नहुनु 
आफ्नो रुचि, क्षमता, दक्षता र अनुभवभन्दा बाहिरको काम बाध्यताले गर्नुपर्ने भएमा पनि तनावको अवस्था आउँछ ।

 दोहोरो भूमिका 
घरपरिवार तथा अफिसको दोहोरो जिम्मेवारी, आफ्नो करिअर र घरपरिवारलाई सन्तुलनमा राख्न नसक्नु जस्ता कारणले तनाव उत्पन्न हुन सक्छ । विशेष गरी कामकाजी महिलाले घर र अफिस दुवैको काम भ्याउनुपर्ने हुँदा थप तनावको सामना गर्नुपर्ने हुन सक्छ ।

 सेवासुविधाको कमी 
जति मिहिनेत गरेर काम गर्दा पनि सोचेजस्तो प्रतिफल नआउँदा, भनेजस्तो आर्थिक लाभ हासिल गर्न नसक्दा, न्यून तलब, बोनस तथा आवश्यक सेवासुविधा नपाउँदा, पदोन्नति नहुँदा, रिफ्रेसमेन्टलगायतका तालिमको अभाव हुँदा पनि तनावको सामना गर्नुपर्ने हुन सक्छ । काममा आवश्यक जनशक्ति र सरसामानको अभावले पनि काममा अवरोध तथा तनाव पुर्‍याउने हुन्छ ।

व्यवस्थापन यसरी गर्नुस् 
श्वासप्रश्वासको अभ्यास गर्नुहोस् :  आफ्नो ढाडलाई सीधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने, गहिरो लामो श्वास छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ । नियमित योग वा ध्यान गर्नाले पनि मन शान्त हुन्छ । 

संगीत सुन्नुहोस् :  काम गर्दागर्दै पनि आफ्नो अनुकूलताअनुसार आफूलाई मन पर्ने गीत–संगीत सुन्न सकिन्छ । संगीतले मानसिक तनाव कम गर्छ । 

आराम : आफ्नो दौडधुप पूर्ण दिनचर्याबाट केही समय छुट्टी लिनाले कामको तनाव कम भएर जान्छ । सधैँ एकैनास काम गर्दा कार्यक्षमता र सिर्जनशीलता घट्छ । काम पनि राम्रो हुँदैन । छुट्टीको वेला प्राकृतिक दृश्यावलोकन गर्नका लागि घुमफिरमा निस्कन सक्नुहुन्छ । 

पानी प्रशस्त पिउनुहोस् : काम गर्दा प्रशस्त पानी पिउनुपर्दछ । शरीरमा पानीको मात्रा कम भयो भने पनि थकाइ लाग्ने, आलस्य हुने, तनाव बढ्ने हुन्छ ।

समस्याको हल खोज्नुहोस् :  काम गर्ने क्रममा समस्या पनि आउन सक्छन् । यसले तनाव दिन सक्छ । समस्याको बारेमा आफ्ना साथीभाइ, सहयोगी तथा सहकर्मीहरूसँग छलफल गर्ने, आफ्नो अवस्था र समस्याको बारेमा जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ । समस्याको सिर्जनशील र रचनात्मक रूपमा समाधान खोज्नुपर्छ । 

मनोपरामर्श सेवा लिनुहोस् :  कामको तनाव झेल्न गाह्रो भएमा वा कामको तनावले दैनिक जीवनमा असर पर्न थालेमा वा अन्य मानसिक स्वास्थ्य समस्या देखा परेमा आवश्यकताअनुसार मनोविद्सँग परामर्श गर्न सक्नुहुन्छ ।