Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हनुमानढोका दरबार क्षेत्रमा अलपत्र अवस्थामा रहेको नारायण मन्दिरको भग्नावशेष । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२०७९ माघ १० मंगलबार ०७:५६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर र ललितपुरका सम्पदा पुनर्निर्माण अन्तिम चरणमा, काठमाडौंमा कहिले ?

हनुमानढोका दरबार क्षेत्रका  २३ वटा मठमन्दिरको पुनर्निर्माण अझै सुरु भएन

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ माघ १० मंगलबार ०७:५६:००

विनाशकारी भूकम्प (२०७२) गएको सात वर्ष पूरा भएको छ । तर, भुइँचालोले क्षति पुर्‍याएका काठमाडौं उपत्यकाकै सम्पदा पुनर्निर्माण पूर्ण भएका छैनन् । उपत्यकाका तीन जिल्लाका तीन महत्वपूर्ण सम्पदा  (हनुमानढोका, भक्तपुर र पाटन दरबार क्षेत्र)मध्ये भक्तपुर र पाटन दरबार क्षेत्रमा पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनर्निर्माणले भने गति लिन सकेको छैन ।

हनुमानढोका दरबार क्षेत्रभित्र रहेको गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भई सर्वसाधारणका लागि खुला भइसकेको छ । दरबार क्षेत्रभित्रकै नौतले दरबार, वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर गरी चार टावर चीन सरकारले पुनर्निर्माण गरिसकेको छ । जुन हस्तान्तरण हुन बाँकी छ ।

काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्दी बैठक, ढुकुटी चोक, तलेजु मन्दिरनजिकैको सानो मन्दिर, प्रताप मल्लको सालिक, कणेल चोकमध्ये कतिपयको पुनर्निर्माण जारी छ । जसको पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइका), बागमती प्रदेश सरकार, काठमाडौं महानगरपालिकाबाट काम भइरहेको छ ।

 दरबार क्षेत्रका यी २३ सम्पदाको  पुनर्निर्माण सुरु नै भएन
दरबार क्षेत्रभित्र रहेका ९५ मध्ये ७५ वटा मठमन्दिर र सत्तलमा भूकम्पले क्षति पुर्‍याएको थियो । जसमध्ये ३८ वटाको पुनर्निर्माण सकिएको छ । १४ वटाको पुनर्निर्माण जारी छ भने २३ वटाको अझै पुनर्निर्माण सुरु नै हुन सकेको छैन ।हनुमानढोका दरबार संग्रहालय विकास समितिकाका अनुसार २३ वटा मठमन्दिर र सत्तलको पुनर्निर्माण हुन नसक्नुको कारण ती मठमन्दिर, सत्तल र चोक एक–आपसका अन्तरसम्बन्धित भएर हो ।

‘माजु देगको पुनर्निर्माण हुँदै छ । त्यसको ठीक भित्र कामदेगको मन्दिर छ । माजुदेगको काम नसकी कामदेगको काम अगाडि बढाउन सकिँदैन । जसकारण काम सुरु भएको नदेखिएको हो,’ विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, ‘माजुदेगको काम महानगरले गरिरहेको छ । त्यसबाहेक संस्कृत विश्वविद्यालय, नवआदर्श माध्यमिक विद्यालयको पनि पुनर्निर्माण गर्छु भनेको छ । किन ढिला भइरहेको छ ? हामीलाई जानकारी छैन ।’ 

उनका अनुसार जापान सरकारले पुनर्निर्माण गर्न लागेको आगाछेंको अध्ययन भइरहेको छ । अध्ययनपछि आउने प्रतिवेदनका आधारमा यही वर्षबाट पुनर्निर्माण सुरु हुन्छ । पुनर्निर्माण सुरु गर्ने क्रममा लक्ष्मीनारायण मन्दिरमा पसल गरेर बस्ने व्यक्ति र कालिका मन्दिरमा स्थानीयले मुद्दा हालेका कारण काम अगाडि बढ्न सकेको छैन । 

 यी हुन् पुनर्निर्माण भइरहेका सम्पदा 
दरबार क्षेत्रभित्रका शिवलिंग, काशी भैरवनाथ, दाख चोकको उत्तरतर्फको भाग, नासल चोकको पश्चिम भाग, देगुतले मन्दिर, कृष्ण मन्दिर, नोभ जोगिनी घर (शिव–पार्वती), नारायण मन्दिर, माजुदेग मन्दिर, कामदेव, दुर्गा मन्दिरलगायत १४ वटा सम्पदाको पुनर्निर्माण भइरहेको छ । 

पाटन दरबार क्षेत्रमा निर्माणाधीन सम्पदा । यहाँका सम्पूर्ण सम्पदा यसै वर्ष पुनर्निर्माण सकिने महानगरले जनाएको छ । 

नारायण मन्दिर, लायकु बहिल, बुढानीलकण्ठ नाारायण मूर्ति, कुमारी बहाल, आदर्श स्कुल, कोङ्फुकोट, महेन्द्रेश्वर महादेव मन्दिर, संस्कृत विश्वविद्यालय, कुमारी ध्वछें, विमलेश्वर महादेव मन्दिर, गोपनाथ मन्दिर, आगाछें, नारायण सत्तल, नारायण मन्दिर (दश अवतार)को पुनर्निर्माण सुरु नै भएको छैन । मोहनचोक, सुन्दरीचोक, कालिका मन्दिर, लक्ष्मीनारायण सत्तललगायत २३ मठ, मन्दिर र सत्तलको पुनर्निर्माण कहिले हुने भन्ने जानकारीसमेत छैन । 

 पाटन र भक्तपुरका सम्पदाको पुनर्निर्माण अन्तिम चरणमा
हनुमानढोका दरबार क्षेत्रको पुनर्निर्माणले गति लिन नसकिरहेका वेला ललितपुरको पाटन र भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको छ । पाटन दरबार क्षेत्रभित्र तलेजु र दत्तात्रेय मन्दिर पुनर्निर्माण अन्तिम चरणमा छ । दरबार क्षेत्रभित्रको भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको सालिक, चार नारायण, हरिशंकर र विश्वनाथ मन्दिरलगायतको पुनर्निर्माण सकिएको छ । 

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार तलेजु र दत्तात्रेय मन्दिर मात्रै पुनर्निर्माण बाँकी छ । ती मन्दिरको पुनर्निर्माण काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), महानगर र पुरातत्व विभागको सहकार्यमा भइरहेको छ । ‘दरबार क्षेत्रको पुनर्निर्माणमा अन्तिम चरणमा छौँ । आगामी वर्षभित्र ती सम्पदा पुनर्निर्माण सकिन्छ,’ प्रवक्ता महर्जनले भने । 

पाटन दरबार क्षेत्रझैँ भक्तपुर दरबार क्षेत्र पुनर्निर्माण पनि अन्तिम चरणमा छ । कुनै पनि दाताको सहयोगविनै भक्तपुर नगरपालिकाले दरबार क्षेत्र पुनर्निर्माण गरिरहेको छ । भक्तपुरमा भुइँचालोले साना–ठूला गरी एक सय ३० सम्पदा क्षतिग्रस्त बनेका थिए । दाताले आफूअनुकूल सम्पदा पुनर्निर्माण गर्ने बताएपछि नगरपालिकाले विदेशी सहयोग लिएन । यति मात्र होइन, गलत रूपमा पुनर्निर्माण गरेको भन्दै पुरातत्व विभागको काममा समेत नगरपालिकाले हस्तक्षेप गरेको थियो । सम्पदा क्षेत्रमा कमसल ढुंगा प्रयोग गरियो भन्दै ठेकेदारलाई दोहोर्‍याएर काम गर्न लगाएको थियो । तलेजु मन्दिरभित्र सिमेन्ट प्रयोग गरिएकोमा पनि नगरपालिकाले विरोध गरेको थियो । उसले पुरातत्व विभागसँगको सहकार्यमा दरबार क्षेत्रभित्रको अधिकांश सम्पदा पुनर्निर्माण सकेको छ ।

अब दरबार क्षेत्रभित्र रहेको नगरपालिकाको पुरानो भवन, जगन्नाथ मन्दिरको मात्रै पुनर्निर्माण बाँकी रहेको नगरपालिकाका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले बताए । ‘हामीले दरबार क्षेत्रभित्रका प्रायः सम्पदा पुनर्निर्माण सकेका छौँ । बाँकी सम्पदा पुनर्निर्माण पनि आगामी वर्ष सक्ने तयारी छ,’ श्रेष्ठले भने, ‘सम्पदा पुनर्निर्माण निजी घर बनाएजस्तो हुँदैन । नीति–नियमलाई फलो गर्दै काम गर्दा अलि ढिला भइहाल्छ ।’

यसकारण बनेनन् काठमाडौंका सम्पदा
हनुमानढोका दरबार क्षेत्रभित्र रहेका ९५ मध्ये ७५ वटा मठमन्दिर र सत्तलमा भूकम्पले क्षति पु¥याएको थियो । जसमध्ये ३८ वटाको पुनर्निर्माण भइसकेको छ । १४ वटाको पुनर्निर्माण जारी छ भने २३ वटाको अझै पुनर्निर्माण सुरु नै हुन सकेको छैन । हनुमानढोका दरबार संग्रहालय विकास समितिका अनुसार यी सम्पदा पुनर्निर्माण हुन नसक्नुको कारण ती मठमन्दिर, सत्तल र चोक एक–आपसमा अन्तरसम्बन्धित छन् । जोडिएका सम्पदाको निर्माण नसकिए तिनीहरू बनाउन सकिँदैन ।