मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ माघ ९ सोमबार २३:४८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

अपहरणमुक्त गराउन प्रहरीले बेवास्ता गरेको परिवारको आरोप, गृहमन्त्रीको राजीनामा माग

भारतमा दुई नेपाली युवाको हत्या (फलोअप)

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ माघ ९ सोमबार २३:४८:००

भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएपछि मृतकका परिवारजन र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । 

जनकपुरधामको पिडारी चोकमा सोमबार दिनभर चक्काजाम गरी प्रदर्शन गरेका उनीहरूले गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत मागेका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउसमेत गरे । 

अपहरणको सूचना दिँदा पनि प्रहरीले अपहरणमा परेकालाई मुक्त गराउन बेवास्ता गरेकाले दुई युवाको ज्यान गएको भन्दै उनीहरूले संलग्न दोषी प्रहरीमाथि छानबिन र कारबाहीमोसमेत माग गरेका छन् । 

गत २७ पुसमा जनकपुरधाम उपमहानगरपालिका– ८ का २० वर्षीय विष्णुकुमार साह र २२ वर्षीय रोहितकुमार साहको भारतको बिहार राज्यस्थित सीतामाढीको परिहार मामाघर गएका वेला अपहरण भएको थियो । 

अपहरणको १२ दिनपछि आइतबार हत्या गरी बोरामा बाँधेर जमिनमा गाडिएको अवस्थामा उनीहरूको शव बरामद भएको थियो । 

अपहरणपश्चात् फिरौती माग्दै अपहरणकारीले फोन गरेको सम्बन्धमा तत्कालै प्रहरीलाई खबर गरिएको तथा प्रत्येकपटक अपहरणकारीको फोन रेकर्ड गरेर प्रहरीलाई पठाउने गरेको भए पनि प्रहरीबाट अपहरणमुक्त गराउने कुनै प्रयास नभएको पीडितहरूको आरोप छ । 

प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् खोजतलासमा सहयोग नगरेको मात्र नभई घटनालाई मोड्न अनेकपटक अनेक बहाना बनाएको गम्भीर आरोपसमेत उनीहरूले लगाएका छन् । 

प्रहरीकै लापरबाहीले गर्दा उनीहरूको हत्या भएको परिवारजनको आरोप छ । घटनाको अनुसन्धानको नाममा प्रहरीले आफूहरूबाट पटक–पटक पैसा लिएको पनि परिवारजनले आरोप लगाएका छन् । 

अपहरणमा परेको दुई दिनपछि नै शंकास्पद व्यक्तिलाई पक्राउ गर्न पटक–पटक आग्रह गरे पनि प्रहरीले आनाकानी गरेको र पछि सोही व्यक्तिलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको विष्णुका पिता गणेश साहले बताए । 

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले भने प्रहरीबाट घटनाको अनुसन्धानमा कुनै प्रकारको कमजोरी नभएको दाबी गरेका छन् । 

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले गम्भीरतापूर्वक अनुसन्धानअगाडि बढाएको दाबी गर्दै उनले भने, ‘घटना नेपालभन्दा बाहिर भारतमा भएकोले त्यहाँको प्रहरी प्रशासनसँग समन्वय गरेर मात्रै अनुसन्धान कार्य अगाडि बढाउनुपर्दा कठिनाइ भएको थियो । हाम्रो सक्रियताकै कारण घटनामा संलग्नहरू पक्राउ परेका हुन् । तर, हामीले अपहरणमा परेका युवालाई बचाउन सकेनौँ ।’ 

घटनाको अनुसन्धानमा खटिएका प्रहरीले पीडित परिवारसँगै पटकपटक पैसा लिएको विषय पनि उनले अस्वीकार गरे । 

‘अनुसन्धानमा खटेकामध्ये केही प्रहरीले कसैसँग सरसापट लिएको हुन सक्छ । तर, पैसा असुलेको छैन । सापट लिएको पाइए पनि तत्काल फिर्ता हुन्छ । पैसा लिएर मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको हल्ला निराधार हो,’ उनले दाबी गरे । 

गहन अनुसन्धान हुँदै छ : प्रहरी
घटनापश्चात् प्रहरीले अहिलेसम्म नौजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेपालबाट चार र भारतबाट पाँच गरी नौजनालाई पक्राउ गरेका र उनीहरूमाथि अनुसन्धान चलिरहेको एसपी विश्वराज खड्काको भनाइ छ । 

सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए । अपहरणमा परेको १२ दिनपछि उनीहरूको शव आइतबार नेपाल र भारतका प्रहरीको संयुक्त टोलीले सीतामाढी जिल्लाको पर्साग्राम थानाअन्तर्गत पर्सा गाउँको चौरमा खाल्डो खनेर पुरिएको अवस्थामा भेटिएको थियो । 

दुवैको शव सडेको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा उनीहरूलाई अपहरणको दुई–चार दिनपछि नै मारेर गाडेको हुन सक्ने प्रहरी आकलन छ । 

मृतकमध्ये रोहितको शव बढी सडेकाले उनको हत्या भएको हुन सक्ने प्रहरी अधिकारीहरूको अनुमान छ । 

दुवैको शव सीतामाढीस्थित सरकारी अस्पतालमा पोस्टमार्टमपश्चात् आइतबार मध्यराति जनकपुरधाम ल्याइएको थियो । दुवैको सोमबार अन्त्येष्टि गरिएको छ । 

घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरे पनि अपहरण र हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले भारतमा चार र नेपालमा दुईजनालाई पक्राउ गरेको हो । 

बिहारको आपराधिक समूहले उनीहरूलाई योजनाबद्ध रूपमा अपहरण गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतक रोहितले जनकपुरधामस्थित मिट क्याम्पसमा कक्षा १२ को परीक्षा दिएका थिए भने विष्णु जनकपुरको एक क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिए । 

विष्णु विवाहित हुन्, उनकी एक छोरी छिन् । दुवैजना परिवारका एक्ला छोरा थिए । अपहरणपछि हत्या गरिएका युवा सामान्य आर्थिक अवस्था भएका परिवारका हुन् । प्रहरीले विष्णु चढेर गएको मोटरसाइकलमा भारतीय नम्बरप्लेट लगाएको अवस्थामा बरामद गरेको छ ।