१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी बेइजिङ
२०७९ माघ ९ सोमबार ०९:०१:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

बच्चा जन्माउन प्रोत्साहन गर्दा पनि किन घट्यो चीनको जनसंख्या ?

Read Time : > 3 मिनेट
एजेन्सी, बेइजिङ
२०७९ माघ ९ सोमबार ०९:०१:००

चीनको जनसंख्या ६० वर्षपछि पहिलोपटक घटेको आधिकारिक तथ्यांकले देखाएको छ । अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको यो देशमा आगामी लामो समयसम्म जनसंख्या गिरावट हुने प्रक्षेपण छ । हाल एक अर्ब ४१ करोड जनसंख्या रहेको चीनले जन्मदर बढाउन पछिल्लो समय विभिन्न कदम चाले पनि त्यसको असर नदेखिँदा सरकार चिन्तत छ ।

जनसंख्या ह्रासले ‘काम गर्ने उमेर समूह’मा कमी आउने र त्यसले आर्थिक वृद्धिलाई बाधा पुर्‍याउन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । यसबाट पहिलेदेखि नै सार्वजनिक वित्तमाथि दबाब झेलिरहेको चीनमा थप आर्थिक संकट निम्तिन सक्छ । चीनको जनसंख्या सन् २०२२ को अन्त्यमा लगभग एक अर्ब ४१ करोड १७ लाख ५० हजार रहेको बेइजिङको राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)को तथ्यांकले जनाउँछ, जुन अघिल्लो वर्षको अन्त्यको तुलनामा आठ लाख ५० हजार कम हो । 

अघिल्लो वर्ष जन्मिनेको संख्या ९५ लाख ६० हजार र मृत्यु हुनेको संख्या एक करोड चार लाख १० हजार भएको एनबिएसले जनाएको छ । चीन महिलाभन्दा पुरुषको जनसंख्या धेरै हुने विश्वका सीमित देशमध्ये पर्छ । यहाँ पुरुषको जनसंख्या ७२ करोड २० लाख र महिलाको संख्या ६८ करोड ९६ लाख ९० हजार पुगेको छ । नयाँ तथ्यांकले देखाएको चीनको जनसांख्यिकीय ह्रास सन् १९६१ मा चीनले सामना गरेको विषम अनिकालको समयमा भएको ह्रासपछि पहिलो हो । त्यो समय माओत्से तुङले चालेको ‘ग्रेट लिप फरवार्ड’ नामको विनाशकारी कृषि नीतिका कारण चीनमा मानव इतिहासमै ठूलो भोकमरी निम्तिएको थियो । 

चीन लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश रहँदै आएकोमा यही वर्षभित्र भारतले उसलाई उछिन्ने अपेक्षा गरिएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)का प्रमुख काङ यीले देशको समग्र श्रम आपूर्ति अझै पनि मागभन्दा बढी रहेकाले चीनको जनसंख्याको ह्रास चिन्ताको विषय नरहेको बताए ।

तथापि जनसंख्या वृद्धिदर घट्न थालेका कारण नै सन् २०१६ मा चीनले दशकौँदेखि लागू गरिराखेको ‘एक सन्तान नीति’ परित्याग गरेको थियो । त्यसपछि लागू दुई सन्तान नीतिलाई थप खुकुलो बनाउँदै प्रशासनले सन् २०२१ देखि दम्पतीहरूलाई तीनसम्म सन्तान जन्माउन अनुमति दिएको छ । तर, यी नीति परिवर्तनको प्रभाव नगण्य देखिँदाँ जनसांख्यिकीय गिरावट उल्टिएन । अहिलेकै ट्रेन्ड कायम रहे लामो अवधिमा चीनको जनसंख्या सन् २०५० सम्ममा १० करोड ९० लाखले घट्ने संयुक्त राष्ट्र संघका विज्ञहरू विश्वास गर्छन् । यो गिरावट सन् २०१९ मा गरिएको अघिल्लो पूर्वानुमानभन्दा तीन गुणा बढी हो । 

‘जनसांख्यिकीय संकट’
चीनले ‘जनसांख्यिकीय संकट’बाट बच्न विभिन्न पहलकदमी अघि सारेको छ, जसमा एक सन्तान नीति परित्याग गर्ने, बच्चा पाउने आमाबाबुलाई बिदाको सुविधाका साथसाथै अनुदान बढाउनेसम्मका प्रयास छन् । तर, ती प्रयासको प्रभाव न्यून देखिन्छ । स्वास्थ्य अधिकारी अभिभावकका लागि घोषणा गरिएका कार्यक्रमको न्यून प्रभावकारितालाई लिएर चिन्तित छन् । विश्लेषकहरूले चिनियाँ सहरमा बढेको महँगो जीवनयापन (विशेषगरी आवास) र कामकाजी महिलाहरूमाथिको कामको चाप जन्मदर नबढ्नुको कारण बताइरहेका छन् । 

जनसंख्या वृद्धिदर घट्न थालेका कारण सन् २०१६ मा चीनले दशकौँदेखि लागू गरिराखेको ‘एक सन्तान नीति’ परित्याग गरेको थियो । त्यसपछि कार्यान्वयनमा ल्याइएको दुई सन्तान नीतिलाई थप खुकुलो बनाउँदै प्रशासनले सन् २०२१ देखि दम्पतीलाई तीन सन्तान जन्माउन अनुमति दिएको छ ।

पछिल्लो समय सरकारले कोभिड–१९ विरुद्ध अपनाएको कठोर नीतिका बीच पनि दम्पतीहरूमाझ बच्चा जन्माउने कुरामा असहजता छाएको थियो । चीन भर्खरै तीन वर्षको कडा ‘शून्य कोभिड’ नीतिबाट बाहिरिएको छ, जुन अवधिमा आममानिसमा ‘ठूलो अनिश्चितता’ कायम थियो । साथमा शिक्षाका कारण मानिसहरू विवाहमा ढिलाइ गरिरहेका छन् वा विवाह नगर्ने वा बच्चा नजन्माउने विकल्प छनोट गरिरहेका छन् ।

घट्दो जनसंख्याको आर्थिक प्रभाव पनि चीनका लागि प्रमुख चिन्ताको विषय हो । दशकौँसम्म चीनको विशाल कामकाजी उमेर समूहको जनसंख्या (जुन सन् २०१० सम्म पनि कुल जनसंख्याको लगभग ७० प्रतिशत थियो) आर्थिक वृद्धिको प्रमुख इन्जिन रहेको थियो । अहिले आएर काम गर्ने उमेर समूह खुम्चिरहँदा र वृद्धवृद्धाको संख्या बढ्दै जाँदा केही विश्लेषकले चीन समृद्ध हुनुअघि नै बूढो भएको भन्न थालेका छन् ।अस्ट्रेलियाको युनिभर्सिटी अफ भिक्टोरियाका नीति अध्ययनकर्ता सिउजियान पेङका अनुसार चीनको प्रजनन दर अहिले अमेरिका, अस्ट्रेलिया र जापानको भन्दा पनि कम भएको छ ।

चीन सरकारले सम्भवतः जनसंख्याको तथ्यांकमा यस्तो उल्लेखनीय गिरावटको अपेक्षा गरेको थिएन । जुन अधिकारीहरूले निकै पछिसम्म एक सन्तान नीतिबारे पुनर्विचार नगरेबाट प्रस्टिन्छ । यद्यपि, रोजगारी असुरक्षा र चीनमा जीवनयापनको बढ्दो लागत, विशेषगरी आवास र शिक्षाको खर्चमा भएको उलेख्य वृद्धिले जन्मदर बढाउने नीतिहरूको असर निस्तेज बनाउनमा काम गरेका छन् ।

दशकौँ लामो ‘एक सन्तान नीति’का कारण मानिसलाई सानो परिवारमा बानी पर्दै गएको पनि पेङले बताइन् । ‘चिनियाँ सरकारले प्रजननलाई प्रोत्साहन गर्न थप प्रभावकारी नीतिहरू खोज्नुपर्छ, अन्यथा प्रजनन क्षमता झनै कम हुनेछ । अन्यथा अहिलेदेखि २२औँ शताब्दीको प्रारम्भसम्ममा चीनको अर्थतन्त्रमा गहिरो प्रभाव पार्नेछ,’ पेङले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा भनेकी छन् । 

बच्चा जन्माउन प्रोत्साहन भत्ता 
चीनका धेरै स्थानीय अधिकारीले दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहित गर्न फरक–फरक उपाय उपयोग गर्न सुरु गरिसकेका छन् । उदाहरणका लागि, सेन्जेन सहरमा अधिकारीहरूले अब बच्चा तीन वर्षको नभएसम्म जन्म बोनस र भत्ताहरू प्रदान गर्नेछन् । आफ्नो पहिलो बच्चा जन्माउने दम्पतीले स्वतः तीन हजार युआन(४४४ डलर)को प्रोत्साहन रकम पाउनेछन्, जुन तेस्रो बच्चाको लागि बढेर १० हजार युआन(एक हजार ४८० डलर) हुनेछ । देशको पूर्वी भागस्थित जिनान सहरले १ जनवरीदेखि दोस्रो सन्तान जन्माउने दम्पतीलाई मासिक ६०० युआन (८९ डलर) भत्ता दिन थालेको छ । 

मंगलबार जनसंख्यासम्बन्धी नयाँ तथ्यांक सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ यो शीर्ष ट्रेन्डिङ विषय बन्यो । समाजिक सञ्जालहरूमा ‘सन्तान हुनु साँच्चै महत्वपूर्ण हुन्छ हो ? ह्यासट्याग प्रयोग भएर करोडौँ पोस्ट भए । ‘महिलाहरूले बच्चा जन्माउन नचाहनुको मूल कारण तिनमा भन्दा बढी समाज र पुरुषहरू बच्चा हुर्काउने जिम्मेवारी वहन गर्न नसक्नुमा निहित छ । बच्चा जन्माएपछि महिलाहरूको जीवनको गुणस्तर र आध्यात्मिक जीवनमा गम्भीर गिरावट आउँछ,’ जोयफुल नेड नामका एक समाजिक सञ्जाल प्रयोगकर्ताले पोस्ट गरेका छन् । ‘बालबालिकाविना राज्य र राष्ट्रको भविष्य छैन,’ अर्कोले ट्विटरजस्तै एप वेइवोमा टिप्पणी गरेका छन् । 

‘बालबालिका जन्माउनु एक सामाजिक जिम्मेवारी पनि हो,’ एक चर्चित ‘देशभक्त’ प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् । तर, अरू प्रयोगकर्ताले भने देशभित्र बढ्दो जीवनयापनको लागत र आधुनिक चीनमा बच्चा हुर्काउने कठिनाइलाई औँल्याएका छन् । ‘म मेरी आमालाई माया गर्छु, तर म आफैँ आमा बन्नेछैन,’ एक प्रयोगकर्ताको पोस्टमा लेखिएको छ । ‘खासमा हामी किन बच्चा जन्माउन चाहँदैनौँ वा विवाह गर्न चाहँदैनौँ भनेर कसैले पनि गम्भीर रूपमा विचार गरिरहेको छैन,’ अर्की प्रयोगकर्ताले लेखेकी छन् । 

चीनमा प्रजननको ट्रेन्डमा दीर्घकालीन गिरावटको अन्य संकेत पनि देखिन थालेको छ । चीनमा प्रयोग हुने गुगलजस्तो सर्च इन्जिन ‘बाइडु’मा बच्चालाई लिएर हिँड्ने स्ट्रोलरको सर्च गत वर्षको तुलनामा १७ प्रतिशतले र सन् २०१८ को तुलनामा ४१ प्रतिशतले घटेको पाइएको छ । त्यस्तै बेबी बोतलहरूको सर्च पनि सन् २०१८ यता एकतिहाइले घटिसकेको छ । यसविपरीत, वृद्धवृद्धा हेरचाह गृहहरूको खोजी पछिल्लो समय आठ गुणाले बढेको छ । जबकि विश्वको दोस्रो ठूलो जनसंख्या रहेको भारतमा उल्टो प्रवृत्ति देख्न सकिन्छ । त्यहाँ गुगल ट्रेन्ड्सले सन् २०२२ मा बेबी बोतलको सर्च अघिल्लो वर्षभन्दा १५ प्रतिशतले र झोलुंगोको खोजी झन्डै पाँच गुणा बढेको देखाउँछ ।