मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार २१:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सूर्यविनायकमा पदयात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार २१:११:००

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एमालेको राष्ट्रिय युवा संघ पर्यटन विभागले पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।

आइतबार भएको पदयात्रा कार्यक्रम एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए । 

बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्युटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौं उपत्यकाका साथै विभिन्न हिमशृंखला देख्न सकिने बताए । 

अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै उनले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए । प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेकोसमेत बताए ।

‘यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ,’ उनले भने, ‘यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ ।’ यस क्षेत्रमा जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुंगी नियाल्न पनि सकिने उनले बताए ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिने बताए ।

बागमती प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको धारणा राखे । 

यस पदमार्गमा यात्रा गर्दा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर तथा पशुपक्षी अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीनवटै सहरको दृश्यावलोकन गर्न सकिने संघका पर्यटन विभाग प्रमुख मोदनाथ सिलवाल सन्तोषले बताए ।

सूर्यविनायकको रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिंगेश्वर, महादेव खोला, कैलाश भ्युटावर, होमस्टे हुँदै रिसालडाँडा पुगेर सम्पन्न भएको थियो ।