मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ८ आइतबार १४:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ऋण तिर्न नसक्दा अड्कियाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम

Read Time : > 1 मिनेट
२०७९ माघ ८ आइतबार १४:०४:००

भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम  ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।  

कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव र रु. १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेको हो।
 
भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको  २० बिघा ६ कट्ठा जग्गा उपलव्ध गराएको थियो। 

निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताए।  

०७५ माघ १६ मा महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो।सहमतिपत्रमा रंगशाला निर्माणका क्रममा ऋण लागे फाउन्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ। ‘रंगशालाको ऋण तिर्नुपर्नेछ, यसका लागि उपायको खोजी भइरहेको छ,’ उनले भने। 

निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्यसचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउँदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताइन्। 

संघीय सरकारले रंगशाला निर्माणका लागि रु. २२ करोड र प्रदेश सरकारले रु. पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट रु. आठ करोड खर्च गरिसकेको छ। निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको  दाहालको भनाइ छ।
 
रंगशाला निर्माणको काम महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउन्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताइन्। 

यसअघि फाउन्डेसनले निर्माणको जिम्मा लिए पनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो। फाउन्डेसनले महानगरपालिकालाई रंगशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो।