
माथिल्लो मनाङका ६७ वर्षका पेम्बा छिरिङ गुरुङ यतिबेला अचम्मित छन् । विगतमा मंसिर नलाग्दै हिउँले ढाकेर सेताम्मे हुने मनाङका डाँडाकाँडा अहिले कालापत्थरमा परिणत भएको छ । उनी भन्छन् बिगतमा यतिबेला चारैतिर हिउँले सेताम्मे हुन्थे ।
उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे अहिले त यो वर्ष हिउँ परेको छैन । हिउँ परेपछि खेती–किसानी गर्नेहरू बाली सप्रिने भयो भनेर खुसी हुन्थे । विगतका केही वर्षदेखि मनाङमा पुस महिनामा हिमपात नभए पनि माघ,फागुनमा हिमपात हुने पर्यटन व्यवसायी बिनोद गुरुङ बताउँछन् ।
हिमपात नभए पनि यहाँ अघिल्लो वर्षभन्दा चिसोचाहिँ बढेको उनको भनाइ छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले मनाङमा चिसो अत्याधिक बढेको बताइन् । ‘मनाङमा हालसम्म हिउँ परेको छैन । तर, चिसो निकै बढेको छ,’ उनले भनिन् ।
मनाङमा अघिल्लो साल असोज तेस्रो सातामै हिमपात भएको थियो । हुन त असोजमा हिमपात बिरलै हुने गर्छ । प्रायः मंसिर अन्तिम सातादेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङवासीहरू कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेँसीसहर झर्ने गर्छन् । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । तर, यस वर्ष सिजनमा समेत हिमपात भएको छैन ।
मनाङ पिसाङकी बिष्णु माया गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछिन् । विश्वकै चर्चित अन्नपूर्ण राउन्ड पदयात्रा मार्गमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश छन् । ‘विगतमा जाडोयाममा हिउँले मनाङका डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्,’ गुरुङ भन्छिन् ।
वर्षौँदेखि मनाङवासीले जलवायुको परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन् । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२, थान्चोकका किसान आश्विन गुरुङले बताए । ‘हिउँ परे खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा स्याउ, आलु, गहुँ, फापरलगायत बाली सप्रिन्छन् । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैन,’ उनले भने ।
हिमपातले स्याउका साथै आलु, करु, गहुँ, फापर र तरकारी बालीलाई राम्रो चिस्यान पुग्ने उनले बताए । हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कमा पाइने यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी पनि पाइन छाडेको छ ।
जलवायु परिवर्तनले हिमालमा हिउँ जम्न छाडेको, समयमा हिउँ र पानी नपरेको विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनले मानिसको जनजीविकामा असर परेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपर्ने, हिउँ नपर्ने, बालीनालीमा समयभन्दा अघि नै पाक्नेजस्ता जलवायु परिवर्तनका असर देखिन थालेको छ ।
मानव सिर्जित समस्याजस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुर्याएको बताइन्छ ।
तस्बिर स् छिरिङ गुरुङ