१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७९ माघ ७ शनिबार ०६:३२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिमपात नहुँदा बालीनाली पनि सुक्न थाले

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२०७९ माघ ७ शनिबार ०६:३२:००

मुस्ताङ : हिमपात नहुँदा हिमशृंखला नांगा डाँडामा परिणत

पुसदेखि माघसम्म सेताम्मे देखिने हिमाल यसपटक फुङ्ग छन् । समयमै हिमपात नहुँदा हिमशृंखला नांगा डाँडामा परिणत भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका– २ कोबाङका ८० वर्षीय वसन्त शेरचनले जीवनमा पहिलोपटक यस्तो अनुभव गरे । हिमाल कालापत्थर बन्न थालेकामा चिन्तित शेरचन यही अवस्था रहे हिमालको परिचय नै फेरिने हो कि भन्ने चिन्तामा छन् । 

गत वर्ष तीनदेखि चार फिटसम्म हिउँ परेको मुस्ताङमा यतिवेला माघको पहिलो सातासम्म पनि हिउँ परेको छैन । तल्लो मुस्ताङ मात्र मात्र होइन, माथिल्लो मुस्ताङमा समेत हिमपात भएको छैन ।

‘यतिवेला सिंगो मुस्ताङ हिमालले धपक्क ढाकिनुपर्ने हो, तर अवस्था त्यस्तो छैन, हिउँ पर्ने छाँटकाँट छैन, हिमालका डाँडाहरू उजाड र फुस्रा देखिन थालेका छन्,’ स्याउ खेतीसमेत गर्दै आएका शेरचनले बताए । पछिल्ला वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको छ । गत पुस पहिलो साता नै हिमपात भएपछि मुस्ताङमा हिउँ खेल्न जानेको भिड लागेको थियो । 

हिमपात नभएको र चिसो बढेको कारण मुस्ताङमा पर्यटकको आगमन घटेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल पहाडजस्ता देखिन थालेको र जंगली फूलमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टन डमबहादुर पुनले बताए । 

‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन् । मौसम यसरी नै बिग्रँदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ,’ अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका पुनले भने । 

समयमै हिमपात नहुँदा हिउँदेबाली लगाएका कृषक चिन्तित बनेका छन् । हिमपात भएपछि हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्व रहेको धवलागिरि गाउँपालिका– १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

मनाङ : जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा 

मनाङका ६७ वर्षका पेम्बा छिरिङ गुरुङ यतिवेला अचम्मित छन् । विगतमा मंसिर नलाग्दै हिउँले ढाकेर सेताम्मे हुने मनाङका डाँडाकाँडामा अहिलेसम्म हिमपात भएको छैन । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार मनाङमा अघिल्लो वर्ष असोज तेस्रो सातामै हिमपात भएको थियो । तर, यसपटक हिमपातको सुरसार छैन । 

मनाङ पिसाङकी विष्णुमाया गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछिन् । विश्वकै चर्चित अन्नपूर्ण राउन्ड पदयात्रा मार्गमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश छन् । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका– २ थान्चोकका किसान आश्विन गुरुङले बताए ।

‘हिउँ परे खेती गर्न सहज हुन्थ्यो  । उत्पादन पनि बढ्थ्यो । हिउँले गर्दा स्याउका साथै करु, आलु, गहुँ, फापरलगायतका बाली सप्रिन्थे । सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैनथ्यो,’ उनले भने । हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कमा पाइने यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीसमेत पाइन छाडेको छ ।

माछापुच्छ्रे क्षेत्रमा पनि भएन हिमपात 
पर्यटकीय गन्तव्य पोखरामा फेवाताल र हिमाली शृंखलाको दृश्यावलोकन मुख्य आकर्षक हो । पोखराबाट देखिने माछापुच्छ्रे, धौलागिरिदेखि मनास्लु, नीलगिरि, गणेश हिमाल, अन्नपूर्ण प्रथम/दोस्रो/तेस्रो तथा चौथो, हिमचुली, लमजुङ हिमाल, मर्दी हिमाल क्षेत्रमा बाक्लो हिउँ देखिनुपर्ने हो । तर, माघ लागिसक्दा पनि हिउँ परेको छैन । 

पुस धेरै हिउँ पर्ने महिना हो । पुसको तुलनामा केही बढी तापक्रम हुने भएकाले माघमा परेको हिउँ पुसको तुलनामा केही कम समय रहने गर्दछ । लामो समयदेखि वर्षा नभएका कारण हिमाली क्षेत्रमा अघिल्ला वर्षको तुलनामा कम मात्रामा हिउँ देखिएको हो । पोखराबाट देखिने मुख्य हिमालका रूपमा रहेको माछापुच्छ्रे हिमाल यो समय हिउँले ढाकिएर तल्लो क्षेत्रसम्म हिउँ देखिनुपर्ने हो, तर हिमालमा हिउँ होइन, जता हेर्दा पनि कालो पत्थर देखिन्छ । 

होटेल व्यवसायी जगन्नाथ गौतम ०५३ तिर हिमाली क्षेत्रमा पदयात्रा गर्दा बाटोमा ६–७ फिटसम्म हिउँ परेको स्मरण गर्छन् । ०५७/५८ मा आइपुग्दा चार–पाँच फिटमा झरेको थियो । विगतका दुई–तीन वर्षमा त हिउँको मात्रा निकै घटेको उनले बताए । २,९७० मिटरको उचाइमा रहेको मर्दी हिमाल टे«कको लो क्याम्पमा समेत हिउँ देख्न नदेखिएको उनले बताए । 
पृथ्वीनारायण क्याम्पस पोखरा, भूगोल विभागका प्रमुख नरेश पौडेल हिउँ नपर्नुको सबैभन्दा धेरै असर नदीखोलामा परेको बताउँछन् । वर्षभरि बग्ने अधिकांश नदी हिमाली भागबाटै बगेका हुन्छन् । हिमालमा जति धेरै हिउँ प¥यो, ती खोला नालामा पानीको सतह पनि धेरै हुन्छ । हिमाली क्षेत्रमा हिउँ कम पर्दा खोलानालामा समेत पानीको मात्रा कम हुन्छ भने केही सुक्ने अवस्थामा पनि पुग्न सक्छन् ।

खुम्बु क्षेत्रको सौन्दर्य हराउँदै 
संसारको सर्वोच्च हिमशिखर ‘सगरमाथा’ रहेको सोलुखुम्बुमा हिमपात भएको छैन । जता फर्किंदा पनि सेता हिमाल टल्कने सोलुखुम्बुको सौन्दर्य हराउँदै गएको छ । विगतका वर्षमा मंसिर अन्तिम र पुसको पहिलो साताबाट नै हिउँ पर्न सुरु हुने सोलुखुम्बुमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ परेको छैन । जसले गर्दा हिउँले टल्किने यहाँका हिमाल यतिवेला कालो पहाडमा परिणत हुँदैै गएका छन् । 

दशकदेखि ट्रेकिङ गाइडको काम गर्दै आएका माप्य दूधकोसी गाउँपालिका– ७ सकनामका नवीन मगर भन्छन्, ‘पहिलेजस्तो हिउँ पर्नै छाड्यो, हिउँले हिँड्न पनि गाह्रो हुन्थ्यो । आजभोलि हिउँविनाको हिमाल उजाड देखिन्छ ।’

पर्यटन व्यवसायी लामाकाजी शेर्पा हिउँ परिहाले पनि १५–२० वर्षपहिलाको जस्तो बाक्लो हिउँ पर्न छाडेको बताउँछन् । जिल्लामा सबैभन्दा पहिला हिउँ पर्दा खुम्बु क्षेत्रमा नै पर्ने गरेको छ । तर, यस वर्ष माघको पहिलो सातासम्म पनि मौसम सफा रहेको र हावा चलिरहेको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ ।

गत वर्ष हिउँ पर्दा खुम्बुको तापक्रम माइनस १७ डिग्रीसम्म थियो । तर, हाल माइनस ९ डिग्रीसम्म मात्र छ । सिजनमा हिउँ पर्दा नाम्चे बजारआसपासमा चारदेखि पाँच फिटसम्म हिउँ पर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । हिउँ नपर्दा बालीनाली नै सुक्न थालेको सोलु रिङमुका कुमार विश्वकर्माको भनाइ छ ।

संखुवासभाका हिमालमा हिउँ पर्न छोड्यो
संखुवासभा भोटखोला गाउँपालिका– १ किमाथांकाका ८० वर्षीय आप्टुक भोटे स्मरण गर्छन्, ‘मंसिरदेखि नै बाक्लो हिमपात हुन्थ्यो । किमाथांका गाउँका डाँडामा चार फिटसम्म हिउँ जम्थ्यो । तर, यसपटक माघ पहिलो सातासम्म खासै चिसो पनि बढेको छैन, डाँडामा हिउँ छैन ।’ 

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे १० वर्षदेखि हिउँ कम हुँदै गएको बताउँछन् । १६ पुसमा चिसो बढेपछि हिमपात हुन आकलन गरिएको थियो । तर, फेरि घाम लागेकाले हिउँ नपरेको अध्यक्ष भोटेले बताए । उनले भने, ‘पहिले–पहिले न्यानोको खोजी गर्दै भोटखोलावासी औल अर्थात् कोबेली सदरमुकाम खाँदबारी आसपास, धरान, विराटनगर र भारतको दार्जिलिङसम्म पुग्ने गर्दथे । अहिले गाउँमा नै बस्न थालेका छन् ।’

विगतमा हिउँले टल्कने डाँडापाखा र हिमालहरू यतिवेलासम्म उराठलाग्दा छन् । सदरमुकाम खाँदबारीबाट नै देखिने विश्वको पाँचौँ अग्लो मकालु हिमाल (८,४६३ मिटर), गणेश हिमाल, कञ्चनजंघा हिमालमा समेत यस वर्ष हिउँ परेको देखिँदैन । यस वर्ष माघको पहिलो सातासम्म खाँदबारीआसपासका क्षेत्रमा समेत खासै चिसो बढेको छैन ।

हिमपात कम हुँदा मारमा किसान 
हुम्लामा ढिलो र कम हिमपात हुँदा किसान मारमा परेका छन् । यो समयमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्ला हिउँकै कारण मनमोहक देखिन्थे । तर, सात–आठ वर्षयता कम हिउँ पर्न थालेपछि यहाँका डाँडा, पाखापखेरा र हिमालको मनमोहक हराउन थालेको छ । शुक्रबार बिहान हुम्लामा हल्का हिमपात भए पनि फेरि कम भएको छ ।

सिमकोट गाउँपालिका– ५ का अगुवा वृद्धा अदानसिंह रावतका अनुसार बाक्लो हिउँ परेपछि असोजदेखि पुससम्म छरिने जेठासी बाली उवा, जौ र गहुँको उत्पादन राम्रो हुन्थ्यो ।चंखेली गाउँपालिका– ५ का भियाले तामाङका अनुसार पहिला–पहिला मंसिरबाटै हिउँ पर्थ्यो । ‘५–६ फिटसम्म पर्ने हिउँका कारण चैत वैशाखतिर छर्न सुरु हुने कात्तिके बाली कोदो, फापर, चिनो, मार्से, लट्टे, भटमास, धान, सिमी, कागुनो, आलु आदि उत्पादन राम्रो हुन्थ्यो,’ तामाङले भने ।

तर, यसपटक मंसिरबाटै हिउँ नपरेकाले हुम्लाका विभिन्न जंगलमा पाइने जडीबुटी अतिस, सेतो चिनी, कुट्की, च्याउ, पाँचेऔँले, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी उत्पादनमा पनि हिउँको ठूलो योगदान हुने गरेको उनले बताए । हिउँ कम पर्न थालेपछि खेतीपाती पनि कम हुन थालेको नाम्खा गाउँपालिका– ३ का विष्णुबहादुर लामाको भनाइ छ । 

सोलुखुम्बुमा सोनी राई, हुम्लामा नरजन तामाङ, म्याग्दीमा कमल खत्री, लमजुङमा शान्ता कमली, पोखरामा रोहितराज पराजुली, संखुवासभामा नवीन गुरुङ