१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार २०:२८:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

क्रसर उद्योग तत्काल खुलाउन व्यवसायीको माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार २०:२८:००

व्यवसायीहरुले क्रसर उद्योग सम्बन्धी मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने माग गरेका छन्। साथै, अवैध भन्दै बन्द गराइएका क्रसर उद्योग पनि तत्काल खुल्न दिनुपर्ने उनीहरुको माग छ। 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बन्द गराइएको क्रसर उद्योग खुलाउन माग गरेको हो। 

गत २० पुसको गृह मन्त्रालयको निर्देशन पछि जिल्ला प्रशासन लगायतका निकायले झण्डै ७०० क्रसर उद्योग बन्द गराएका छन्।

महासंघले त्यसको दुई साता पछि पत्रकार सम्मेलन गर्दै उद्योग खुलाउन माग गरेको हो । साथै, सरकारको उक्त कदमले क्रसर उद्योगमा भएको एक खर्ब रुपैयाँ बराबरको लगानी समेत जोखिमा परेको महासंघको भनाइ छ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले बर्तमान समस्यालाई दृष्टिगत गर्दै वैध क्रसर उद्योगहरु तत्काल खुलाउनुपर्ने बताए। ‘सरकारले क्रसर उद्योगहरु तत्काल सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने, ‘यसका अलावा क्रसर क्षेत्रमा देखिएको यसका समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने गरि सरकार अघि बढ्नुपर्छ।’

बिशेषगरि सरकारले उद्योग स्थापना भइसकेपछिको अवस्थामा अव्यवहारिक तथा अवैज्ञानिक मापदण्ड ल्याउँदा क्रसर उद्योगहरु अवैध जस्तो बन्न पुगेको उनको भनाइ छ। उद्योग स्थापना भइसकेपछि आएका नयाँ नीति नयाँ उद्योगलाई मात्रै लागू गर्नुपर्ने उनले बताए। 

‘सरकारले उद्योग स्थापना भइसकेपछि क्रसर उद्योगका लागि अव्यवहारिक तथा अवैज्ञानिक मापदण्ड ल्यायो, जुन क्रसर उद्योगहरुले पालना गर्न सकेनन् । सोही कारण क्रसर उद्योगहरु कानुनको नजरमा अवैध जस्तो देखिएका होलान् । तर, यथार्थमा त्यस्तो होइन,’ उनले भने, ‘यद्यपि, केही उद्योगहरु राज्य तथा राजनीतिक  दलहरुको संरक्षणमा अवैधमा रुपमा नै सञ्चालनमा छन्। त्यस्ता उद्योग सरकारले बन्द गर्छ भने हाम्रो गुनासो छैन। तर, सबै उद्योगलाई एउटै बास्केटमा राखेर बन्द गर्नु लोकत्रान्तिक विधी होइन।’ 

यद्यपि, क्रसर उद्योग क्षेत्रमै भएका कमी कम्जोरीहरु भने सुधार गर्न आफुहरु तयार रहेको उनले बताए। समग्रमा उद्योगहरु तत्काल खुला गरेर दिर्घकालिन समाधानमा समेत जानुपर्ने उनको भनाइ छ। 

‘क्रसर उद्योग बन्द गर्दा विकास निर्माणको काम पनि नमज्जाले प्रभावित भएको छ। तसर्थ, तत्काल क्रसर उद्योग सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने, ‘तर, क्रसर उद्योग खुलाए पनि यो समस्यालाई जस्ताको त्यस्तै भने छोड्ने हुदैन । क्रसर उद्योगलाई ठाउँ, भुगोल, क्षेत्र अनुसार फरक फरक मापदण्ड तोक्नुपर्छ । साथै, त्यो मापदण्ड कार्यान्वयन गर्न उद्योगहरुलाई १० बर्ष समय पनि दिनुपर्छ।’ 
 
यस्तै, नविकरण हुन नसकेका क्रसर उद्योगहरु पनि तत्काल नविरकण गर्नुपर्ने महासंघको माग रहेको छ। तोकिएको कर राज्यलाई तिर्दा समेत उद्योग नवीकरण नगर्नु र उल्टै उद्योग बन्द गर्न सरकारको गलत निर्णय भएको महासंघको भनाइ छ। तसर्थ, दर्ता भइ लाइसेन्स लिए सञ्चालनमा रहेका क्रसर तथा खानी उद्योगहरु तत्काल नविकरण गर्नुपर्ने महासंघले बताएको छ। 

यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग बन्द हुदाँ निर्माण कार्य समेत प्रभावित भएको बताए । बालुवा र गिट्टीको अभाव हुदाँ ठुला ठुला र राष्ट्रिय महत्वका आयोजनाको समेत निर्माण कार्य प्रभावित भएको उनको भनाइ छ। 

‘बास्तवमा भन्ने हो भने क्रसर उद्योगको लागि तोकिएको मापदण्ड नै व्यवहारिक छैन। त्यो अवस्थामा क्रसर उद्योग अवैध भनेर बन्द गर्नु गलत छ,’ उनले भने, ‘त्यसको असर स्वयम क्रसर व्यवसायीलाई मात्रै नभएर निर्माण व्यवसायी, निर्माण क्षेत्र र देशको समग्र विकास निर्माणमा परेको छ । तसर्थ, तत्काललाई क्रसर उद्योग खुलाउनुपर्छ। साथै, आवश्यक अध्ययन गरेर व्यवहारिक मापदण्ड बनाएर लागू गर्नुपर्छ।’

यस्तै, राजनीतक संरक्षणका व्यवसायीले मात्रै निर्माण तथा क्रसरको काम गर्ने बातावरणको अन्त्य हुनुपर्ने सिंहले बताए। ‘राजनीतिक  संरक्षणमा केही बाहुबाली व्यवसायीले मात्रै काम गर्न पाउने र साच्चै कै व्यवसायीले उद्योग बन्द गर्नुपर्ने अवस्था कहिले सम्म आउने हो रु यो गम्भिर बिषय हो,’ उनले भने, ‘यस्तो प्रवृति बन्द गरेर सबैले सहज र सजिलो रुपमा व्यवसाय गर्न पाउने बातावरण हुनुपर्छ।’

यस्तै, सरकारले एकदमै गलत समयमा क्रसर उद्योग बन्द गरेको व्यवसायीहरुको भनाइ छ। जेठदेखि असोज मसान्तसम्म त नदी खोलाबाट बालुवा तथा गिट्टी उत्खनन् गर्न पाइँदैन। सोहीअुनसार गत असोजसम्म उत्खन गर्ने काम रोकियो। त्यस लगत्तै दशैं तिहार र चुनावका कारण क्रसर उद्योग राम्रोसँग सञ्चालन हुन सकेनन्। चुनाव लगत्तै सञ्चालन हुन थालेका क्रसर उद्योग आकस्मिक रुपमा बन्द गर्दा थप मर्का परेको व्यवसायीहरुको भनाइ छ। 

यस्तै, बागमती टिप्पर व्यवसायी संघका अध्यक्ष सुरेस खत्रीले पनि क्रसर बन्द हुदाँ ढुवानी व्यवसाय ठप्प भएको बताए। बैंकबाट ऋण लिएर टिप्परमा गरेको लगानी समेत डुब्ने अवस्था आएको उनको भनाइ छ। तसर्थ, तत्काल क्रसर उद्योग सञ्चालन गर्न दिनुपर्ने उनले  बताए।