मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ५ बिहीबार ११:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्लड क्यान्सर कसरी हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ५ बिहीबार ११:१६:००
डा. प्रकाशनिधि तिवारी क्यान्सररोग विशेषज्ञ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर

मानव शरीरमा विभिन्न रक्तकोषिकाहरू हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पुर्‍याउने र अंगहरूलाई सक्रिय बनाउने, सेतो रक्तकोषले रोगप्रतिरोधी क्षमता बढाउने गर्छन् । प्लेटलेट्सको ढिक्का गएर रक्तनलीको प्वाल बन्द गरिदिन्छ । जसकारण, शरीरबाट धेरै रक्तश्राव हुन पाउँदैन । 

यी तीनवटै रक्तकोष हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा बन्छ । जब सेतो रक्त कोषिकाहरूको डिएनएमा क्षति पुग्छ, तब रक्त क्यान्सर विकसित हुन थाल्छ । यहाँ, क्यान्सरका सेल बन्न थालेपछि रगतसँगै शरीरका प्रत्येक अंगमा पुग्छन् । ती सेलले हेमोग्लोबिन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा अत्यधिक बढाइदिन्छन् । शरीरमा रगत बाक्लो भएर जान्छ । जसले गर्दा साना–साना रक्तनली बन्द हुन्छन् ।

हेमोग्लोबिनले अंगहरूमा अक्सिजन पुर्‍याउन सक्दैन । रक्तकोषहरू फुट्छन् । यस्तो हुँदा प्लेटलेट्सले काम गर्न सक्दैन । र, अंगहरूमा क्षति पुग्छ । समयमै उपचार मिलेन भने रक्त क्यान्सरले मानिसको ज्यानसमेत जाने गर्दछ ।

लक्षण 
लामो समयसम्म ज्वरो आइरहने, शरीर सेतो भएर जाने, रक्तअल्पता हुने, नाकबाट रगत बग्ने, दिसा, पिसाबमा रगत देखिने, शरीरमा गिर्खा आउने, सास लिन अप्ठ्यारो हुने, शरीरमा निलो डाम, रातो छिर्का हुने, कहिलेकाहीँ शरीर सुन्निने, हड्डी करकर खाने, जोर्नी दुख्ने, आँखा सुन्निने, टाउको दुखिरहने, वाकवाकी लाग्ने, वान्ता हुने, कहिलेकाहीँ हातखुट्टा एक्कासि नचल्ने (काम्ने), सुस्त मनस्थिति हुने, थकान आदि । 

कसरी बच्ने ? 
विभिन्न रासायनिक पदार्थ धेरै मात्रामा प्रयोग नगर्ने, जथाभावी औषधि प्रयोग नगर्ने, कीटनाशक प्रयोग भएको खानेकुरा नखाने, अर्गानिक र सन्तुलित खानेकुरा खाने  , विकिरणबाट बच्ने, धेरै सिटिस्क्यान नगर्ने, धूम्रपान तथा मद्यपान नगर्ने, थप समस्या भएमा क्यान्सर रोग विशेषज्ञको सल्लाहमा आवश्यक औषधि उपचार गर्ने । 

कारण 
- ब्लड क्यान्सरको निश्चित कारण पत्ता लागेको छैन । तर, केही त्यस्ता कारक छन्, जसले ब्लड क्यान्सर हुने जोखिम बढाउँछ । 
- वंशानुगत कारण 
- धूम्रपान, जसले तीव्र माइलोयड ल्युकेमिया (एएमएल) विकास हुने जोखिम बढाउँछ । 
- किमोथेरापी गरेका व्यक्तिमा पनि पछि गएर ब्लड क्यान्सर हुने जोखिम रहन्छ, तर सबैमा हुन्छ भन्ने होइन । 
- विकिरणको प्रभावले पनि रक्त क्यान्सर हुन सक्छ । 
- डाउन सिन्ड्रोम, फ्यानकोनी एनिमियालगायत आनुवांशिक विकार 
- रक्तविकार (जस्तो, मायलोइड्सप्लास्टिक सिन्ड्रोम) 

उपचार 
बिरामीको उमेर, उसको स्वास्थ्य अवस्था र कुन प्रकारको रक्त क्यान्सरबाट बिरामी प्रताडित छ भन्ने हेरेर यसको उपचार गरिन्छ । सबैभन्दा धेरै प्रयोगमा आउने उपचार विधि किमोथेरापी हो । यदि प्रारम्भिक चरणमा यस उपचार विधि अपनाइयो भने मानिसले स्वस्थ्यलाभ गर्ने सम्भावना धेरै रहन्छ । अर्को उपचार विधि बोनम्यारो प्रत्यारोपण हो । अर्को उपचार विधि लक्षित चिकित्सा हो । त्यस्तै, बिरामीको अवस्था हेरेर इन्टरफेरान, विकिरण उपचारलगायत उपचार विधि प्रयोगमा आउन सक्छ ।