Skip This
आधा उखु क्रसिङ भएपछि तोकियो समर्थन मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 27 July, 2024
भोजराज भण्डारी काठमाडाैं
२o७९ माघ ५ बिहीबार ११:५४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आधा उखु क्रसिङ भएपछि तोकियो समर्थन मूल्य

गत वर्षभन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर ६१० पुर्‍याइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार ११:५४:oo

किसानले आधा उखु क्रसिङ गरिसकेपछि सरकारले बल्ल समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा २० रुपैयाँले बढाएर प्रतिक्विन्टल ६ सय १० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उखुको प्रतिक्विन्टल मूल्य (उद्योगीले दिने मूल्य) पाँच सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ तोक्ने निर्णय भएको उनले बताए ।

सरकारले गत आर्थिक वर्ष ०७८–७९ का लागि प्रतिक्विन्टल पाँच सय ९० (अनुदानसहित) रुपैयाँ तोकेको थियो । पाँच सय २० रुपैयाँ समर्थन मूल्य र ७० रुपैयाँ अनुदान दिएको थियो । कृषि मन्त्रालयका अनुसार गत वर्ष अनुदानबापतको रकम साउनसम्ममा ७६ करोड रुपैयाँ पठाइसकेको छ । 

 ढिलाइ हुँदा असन्तुष्ट किसान
उखु क्रसिङअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत सरकारले आधा उखु क्रसिङ भएपछि समर्थन मूल्य तोकेको हो । उखु उत्पादक संघका अध्यक्ष कपिलमणि मैनाली सरकारले ढिलो गरी समर्थन मूल्य तोकेर पनि २० रुपैयाँ मात्र बढाएकोमा असन्तुष्ट जनाएका छन् । उनले भने, ‘आधा उखु क्रसिङ भइसकेको अवस्था छ, तर मूल्य जम्मा २० रुपैयाँ मात्र बढ्यो, बजार मूल्य कहाँबाट कहाँ पुगेको छ, यो अन्याय भयो ।’ 

उनका अनुसार समग्रमा ४५ प्रतिशत उखु क्रसिङ भएको छ । उखुको मूल्य प्रतिक्विन्टल सात सय पाँच रुपैयाँ तोक्न माग गरेको उनले बताए । त्यस्तै, सर्लाहीमा उखु कृषक राकेश यादवले पनि उखुको समर्थन मूल्यमा चित्त नबुझेको बताए । उनले भने, ‘आधाभन्दा बढी क्रसिङ भइसकेको अवस्था छ यसपटक मूल्य घटीमा पनि सात सय हुनुपर्ने थियो ।’ माघको अन्तिमतिर क्रसिङको काम सकिने किसान बताउँछन् ।

उखु बिक्री गरेको रकम लामो समय बक्यौता बस्ने र उठाउन काठमाडौं धाउनुपर्ने बाध्यताका कारण किसानहरू उखु खेतीप्रति बिस्तारै विकर्षित हुन थालेका छन् । जसले गर्दा बर्सेनि उखु उत्पादन घट्न थालेको छ । गत आव भने भुक्तानीमा निकै सुधार भएपछि किसानहरू केही उत्साहित भई उत्पादन बढाएको कृषि मन्त्रालयको भनाइ छ । गत आवमा एक करोड ४२ लाख क्विन्टल उखु उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । सर्लाहीस्थित उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भुक्तानीमा आएको सुधारका कारण उत्पादनमा केही वृद्धि भएको बताए ।  

उद्योग विभागले गरेको एक अध्ययनअनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष चारदेखि ६ किलो चिनी खपत गर्ने अनुमान गरिएको छ । सो खपतका आधारमा नेपालमा चिनीको सरदर वार्षिक माग दुई लाख ३० हजार मेट्रिकटन रहेको छ । जसमध्ये ६५ प्रतिशत घरायसी प्रायोजनका लागि र ३५ प्रतिशत औद्योगिक प्रायोजनका लागि उपयोग हुने अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेका उद्योगको वार्षिक चिनी उत्पादन क्षमता ४६३९५० मेट्रिकटन रहे तापनि अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । 

केन्द्रीय तथ्यांक विभागले गरेको वार्षिक घरधुरी सर्वेक्षण प्रतिवेदन ०७२–७३ अनुसार नेपालमा सरदर प्रतिव्यक्ति चिनीको उपभोग ८.० केजी रहेको देखिन्छ । नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा चिनीको वार्षिक माग करिब दुई लाख ५० हजार मेट्रिकटन रहेको जसमध्ये नेपालको आन्तरिक उत्पादनले उपभोक्ताको करिब ७१ प्रतिशत माग धान्न सक्ने अवस्था रहेको छ ।

अहिले तोकेको मूल्यप्रति सन्तुष्ट छैनौँ
कपिलमणि मैनाली, अध्यक्ष, उखु उत्पादक कृषक संघ
आधा उखु क्रसिङ भएपछि बल्ल मूल्य तोक्दा पनि २० रुपैयाँ मात्र बढाइएको छ । महँगी कहाँबाट कहाँ पुगिसक्यो उखु किसानमाथि अन्याय भयो । हामीहरूले सरकारलाई सात सय पाँच रुपैयाँ प्रतिक्विन्टल तोक्न भनेर पटक–पटक भनेका थियौँ । यो मूल्यप्रति हामी सन्तुष्ट छैनौँ ।