मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ माघ ४ बुधबार १०:१४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा २९ महिला कामदारको विदेशमा मृत्यु, २१ बेपत्ता

३९ महिला ६ देशका जेलमा

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ माघ ४ बुधबार १०:१४:००

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये २९ महिला कामदारको गत वर्ष विभिन्न देशमा मृत्यु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा सो संख्यामा महिला कामदारको मृत्यु भएको हो । 

पछिल्लो १४ वर्षमा मात्र दुई सय ५५ महिला कामदारको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । आव ०७७/७८ मा २८ जना, आव ०७६/७७ मा १७ जना महिलाको मृत्यु भएको थियो । तथ्यांकअनुसार प्रत्येक वर्ष मृत्यु हुने महिला कामदारको संख्या बढ्दो छ । गत आवमा दुईजना महिला कामदारको मलेसियामा मृत्यु भएको थियो । त्यस्तै, साउदी अरबमा चार, कतारमा चार, युएईमा १३, कुवेतमा दुई, ओमानमा एक, रोमानियामा दुई महिलाको मृत्यु भएको तथ्यांक छ । 

त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये दुईजना महिला कोमामा छन् भने २० जना घाइते भई नेपाल फर्किएका छन् । त्यस्तै, २१ जना महिला कामदार विदेशमा नै बेपत्ता भएका छन् ।साथै, ३९ जना महिला कामदार खाडीका विभिन्न जेलमा रहेको तथ्यांक छ । मन्त्रालयका अनुसार २४ जना महिला युएईको जेलमा छन् । त्यस्तै, ओमानको जेलमा सातजना, कुवेतमा चारजना, मलेसियामा दुईजना, कतारमा एक र साउदीको जेलमा एक नेपाली कामदार रहेका छन् । 

महिला कामदार क्लिनिङमा अधिक
वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली महिला कामदार सरसफाइ पेसामा रहेका छन् । मन्त्रालयको गत आवको तथ्यांकअनुसार ५७.३ प्रतिशत सरसफाइजस्ता प्राथमिक पेसामा छन् । त्यस्तै, दोस्रो मुख्य पेसा भनेको सेवा क्षेत्रमा २५.६ प्रतिशत महिला गएको तथ्यांक छ ।  प्रशासनिक कामका लागि ६.१, उत्पादन क्षेत्रमा ५.७, कृषि क्षेत्रमा १.८, प्रोफेसनल म्यानेजरमा एकजना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । 

सरकारले घरेलु कामदारका रूपमा नेपाली महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध गरेको छ । तैपनि, विभिन्न अनौपचारिक माध्यमबाट महिलाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् । सरकारले औपचारिक रूपमा जाने महिलाको रेकर्ड राखेपछि अनौपचारिक रूपमा गएर जोखिममा परेका महिलाको संख्या अझ बढी रहेको श्रमविज्ञहरू बताउँछन् । औपचारिक रूपबाट भन्दा दोब्बर बढी अनौपचारिक रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा गएको श्रमविज्ञ सरू जोशी बताउँछिन् । ‘दलालमार्फत कतिजना महिला रोजगारीमा गए, त्यसको सरकारकासँग तथ्यांक नै छैन । गएकामध्ये कतिको मृत्यु भयो, कति जेलमा छन्, कति बेपत्ता छन् । सरकारसँग यसको तथ्यांक नै छैन,’ उनले भनिन्  । 

वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला झनै जोखिममा पर्ने सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘महिलामैत्री नीति–नियम निर्माणमा न त नेपाल स्वयं आफँैले पहल गरेको छ, न त गन्तव्य मुलुकलाई जिम्मेवार बनाउन सकेको छ,’ उनले भने । त्यति मात्रै होइन, पुरुषको तुलनामा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या कम छ । त्यसैले महिलाको मुद्दा सधैँ ओझेलमा पर्ने गरेको उनको भनाइ छ । 

महिला कामदार वैदेशिक रोजगारीमा जाने मुख्य १० जिल्ला
मन्त्रालयको प्रतिवेदनअनुसार मुख्य १० जिल्लामध्ये झापाबाट विदेश जाने महिला कामदारको संख्या अधिक ८.१ प्रतिशत छ । सिन्धुपाल्चोकको ६.१ प्रतिशत छ भने मकवानपुरको ५.६ प्रतिशत छ । त्यस्तै, मोरङको ५.३, काभ्रेपलान्चोकको ५, नुवाकोटको ४.३, काठमाडौंको ३.८, सुनसरीको ३.२, चितवनको ३.१, धादिङको ३.१ प्रतिशत हिस्सा छ । अन्य जिल्लाको भने ५२.४ प्रतिशत हिस्सा रहेको छ । 

मन्त्रालयको तथ्यांकअनुसार ०७८/७९ आवमा एक हजार तीन सय ८० महिला कोरिया रोजगारीमा गएका थिए । त्यस्तै, जापानमा ९६ हजार आठ सय २४ नेपाली कामदार रहेकोमा ४० हजार सात सय ६९ महिला छन् । नेपाल सरकारले सम्झौता गरी इजरायल र कोरिया रोजगारीमा महिला कामदार पठाउने गरेको छ । इजरायलमा केयर गिभर र कोरियामा कृषि उत्पादनलगायतका क्षेत्रमा महिला कामदार पनि पठाउने गरेको छ । त्यस्तै, जोर्डनमा केयर गिभर भिसाका लागि खुला गरिएको छ ।

नेपाली महिलाको पहिलो रोजाइ दुबई
वैदेशिक रोजगारीमा जाने नेपाली महिला कामदारको पहिलो रोजाइ दुबई पर्ने गरेको छ । सहज प्रक्रिया र कानुनी रूपमा खुला मुलुक भएकाले पनि नेपाली महिला कामदार दुबईप्रति आकर्षित भएका हुन् । श्रम मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा ३३ हजार ६२ नेपाली महिलाले वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

जसमध्ये करिब ९० प्रतिशत महिला कामदार १० वटा मुलुकमा गएको देखिन्छ । मन्त्रालयका अनुसार नेपाली महिला कामदार रोजगारीमा जाने १० मुलुकमध्ये युएई, कतार, जोर्डन, साइप्रस, कुवेत, माल्टा, टर्की, बहराइन र ओमन हुन् ।  

गत आवमा नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली महिला कामदारमध्ये ३९.१ प्रतिशत दुबई पुगेका छन् । कतार जानेको हिस्सा १३.२ प्रतिशत छ भने कुवेतको हिस्सा ११.३ प्रतिशत छ । साइप्रस ८.६, मलेसिया ३.८, क्रोसिया ३.३, माल्दिभ्स २.७, रोमानिया २.५, जोर्डन २.३, बहराइन १.९ र अन्य मुलुकको हिस्सा ११.३ प्रतिशत महिला रोजगारीमा गएका छन् । अघिल्लो आव ०७७/७८ मा सात हजार एक सय ७८ महिला कामदार नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आव ०७६/७७ मा १८ हजार दुई सय दुई नेपाली महिला कामदारले नयाँ श्रम स्वीकृति लिएर रोजगारीमा गएको देखिन्छ । 

श्रम मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १६ हजार ६६ नेपाली महिला कामदारले श्रम स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये आठ हजार दुई सय ११ युएई गएका छन् । दुई हजार सात सय ९० जना कतार गएका छन् । एक हजार ६ सय ३३ कुवेत, दुई सय ६ साइप्रस, पाँच सय १८ साउदी अरेबिया, तीन सय ६९ बहराइन, दुई सय १४ इजराइल, दुई सय ६३ माल्दिभ्स, दुई सय ६३ ओमान र अन्य मुलुकमा सात सय ७३ महिला कामदार गएको तथ्यांक छ ।