
लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनको तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ। सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको छ भने उपसभामुखमा तीनजनाको उम्मेदवारी परेको छ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म भएको उम्मेदवार दर्ताका क्रममा पाल्पा २(२)बाट निर्वाचत घर्तीले एमालेका भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिषकुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
भागबन्डाअनुसार लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाएको थियो। त्यस्तै, उपभामुखमा राप्रपाको भागमा परेको थियो। जसमध्ये गठबन्धनले राप्रपाबाट मेनुका खाण केसीलाई उम्मेदवार बनाएको छ। जसको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन्।
त्यस्तै, उपसभामुखमा नेपाली कांग्रेसका नवलपरासी पश्चिम १(१) बाट निर्वाचित विश्वप्रेम पाठकले पनि उम्मेदवारी दर्ता गराएका छन्। जसको प्रस्तावकमा बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारू(चौधरी)ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन्। रुपन्देहीकी चौधरीको समर्थकमा धर्मबहादुर चौधरी छन् भने प्रस्तावकमा नरमाया ढकाल छन्।
सभामुख, उपसभामुखको निर्वाचन मंगलबार दिउँसो १ बजे बस्ने संसद् अधिवेशनमा हुनेछ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०(दीपेन्द्र पुनसहित), राप्रपाका ४, जनमतका ३, जसपाका ३ गरी ४९ जना छन्।
त्यस्तै, दुईजना स्वतन्त्र सांसदले पनि सत्तापक्ष गठबन्धनलाई नै समर्थन गरेका छन्। सत्तागठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने उपसभामुखमा आफ्नै उम्मेदवार दर्ता गराएको छ, जसका ४ जना सांसद छन्।
त्यस्तै, कांग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १-१ गरी ३२ सांसद छन्। लुम्बिनी प्रदेशमा जम्मा ८७ सांसद छन्। तीमध्ये बहुमतका लागि ४४ सांसद चाहिन्छ।