
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन्।
सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरूलाई आग्रह गरेका हुन्।
उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए। उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरूको नेतृत्व गर्न सक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। महासचिव पोखरेलले अनेरास्ववियुलाई अर्ग्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए।
महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए। सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उहाँले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताए।
उनले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरूले सरकारको नेतृत्व गर्दा भने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे।