१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Monday, 15 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २ सोमबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदाको औचित्यमाथि प्रश्न

आगामी दिनमा हवाई वा स्थलमार्गमा सवारी दुर्घटना भएमा सार्वजनिक बिदा दिने कि नदिने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार o६:१३:oo

पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गरेकाहरूको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । आइतबार बिहान भएको दुर्घटनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकका रूपमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर, सरकारको यो निर्णयको चौतर्फी आलोचना भएको छ । 

मन्त्रिपरिषद्ले ‘भावनात्मक’ निर्णय गरेर राज्यलाई भार पर्ने काम गरेको छ । आगामी दिनमा हवाई वा स्थलमार्गमा सवारी दुर्घटना भएमा सार्वजनिक बिदा दिने कि नदिने ? सरकारको निर्णयले कस्तो नजिर बसाउला भन्ने प्रश्न पनि उठेको छ । 
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले सरकारले घोषणा गरेको सार्वजनिक बिदा आवश्यक नभएको बताए । यसले राष्ट्रलाई भार पर्ने उनको भनाइ छ ।

‘सार्वजनिक बिदा दिएर मात्र यस्तो घटनामा मनोवैज्ञानिक न्याय हुन्न,’ उप्रेतीले भने, ‘जेमा पनि सार्वजनिक बिदा घोषणा गर्दा आर्थिक रूपमा थलिएको राष्ट्रलाई थप भार मात्र पर्छ ।’ घटनाको सही छानबिन गरी भविष्यमा यस्ता घटना न्यूनीकरण गर्न सुनिश्चितता गर्ने र कार्यालयहरू नियमित सञ्चालन गर्नु नै उचित हुने भन्दै उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यतातिर किन ध्यान नदिएको होला ?’ 

पूर्वसचिव शारदाप्रसाद त्रितालले शोकमा सार्वजनिक बिदा दिने विषय औचित्यहीन भएको टिप्पणी गरे । ‘विमान दुर्घटनामा परी मृत्युवरण गरेकाप्रति लक्षित गरेर सरकारले सार्वजनिक बिदा दिनु उपयुक्त छैन,’ उनले भने । उद्धार, राहत र छानबिनका कामलाई तदारुकताका साथ अघि बढाउनु नै प्रमुख कुरा भएको भन्दै उनले भने, ‘यस्तो वेला सरकारले आवश्यक कामहरू गर्ने हो न कि बिदा ।’ 

अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले बिदा दिएर सरकारको जिम्मेवारी पूरा नहुने भन्दै ट्विटरमा प्रश्न गरेका छन्, ‘दुर्घटना भएपछि उद्धार–राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के–के न गरेझैँ बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ ?’ सार्वजनिक बिदाको यो संस्कार बिलकुलै अनावश्यक भएको उनको टिप्पणी छ । 

अध्येता उत्तमबाबु श्रेष्ठले पनि सार्वजनिक बिदाको परिपाटीमाथि प्रश्न गरेका छन् । ‘शोकमा पनि बिदा, उत्सवमा पनि बिदा,’ ट्विटरमा उनले लेखेका छन्, ‘यो के चलन हो सरकार ?’ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

सोही बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ । सबै हवाईजहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नसमेत बैठकले निर्देशन दिएको छ । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकिएको छ 

सार्वजनिक बिदाको विपक्षमा
शनिबार पोखरामा भएको यती एयर दुर्घटना मुलुकका लागि डरलाग्दा हवाई दुर्घटनामध्ये एक हो । ६९ यात्रुको दुर्घटनामा निधन ठूला राष्ट्रिय शोकमध्ये एक हो । सिलसिलापूर्ण हवाई दुर्घटनाका कारण र समाधान खोजेर मात्रै हामी यो शोकलाई न्याय गर्न सक्छौँ । सरकारले राष्ट्रिय बिदाको सजिलो र लोकप्रिय बाटो रोज्यो, जुन विवेकसम्मत छैन ।

देशमा दैनिक दर्जनौँ सडक दुर्घटना हुन्छन् । ती दुर्घटनामा मारिनेप्रति राज्यले यही ढंगको राष्ट्रिय बिदाको समवेदना दिने कि नदिने ? देशलाई लोकप्रियतावादी राजनीति होइन, विवेकपूर्ण समाधान चाहिएको छ । पोखरा दुर्घटनाप्रति देशको पूर्ण समवेदना छ, तर बिदा सच्चा समवेदना होइन । हवाई दुर्घटनाको न्यूनीकरण नै मृतकप्रति सच्चा समवेदना हुनेछ । एक दिनको सार्वजनिक बिदा राष्ट्रका लागि कति ठूलो घाटा हो भन्ने विवेक प्रयोग गरौँ । भावनाभन्दा विवेकको सरकार सञ्चालन गरौँ ।

पछिल्ला १० वर्षमा छानबिन आयोग/समितिहरूले सरकारलाई १७५ सुझाव दिए, तर लागू भएनन् 
प्रायः सबै हवाई दुर्घटनापछि सरकारले छानबिन आयोग÷समिति गठन गरेको छ । तर, ती आयोगले दिएका सुझावसहितका प्रतिवेदन कार्यान्वयन भने हुँदैनन् । सन् २०१२ देखि २०२१ सम्म गठन भएका छानबिन प्रतिवेदनले एक सय ७५ सुझाव दिएका छन् । तीमध्ये एक सय ३१ सुझाव पूर्ण रूपमा र ११ सुझाव आंशिक रूपमा स्वीकार गरिएका छन् । १९ सुझाव स्वीकार गरिएको छैन भने १४ सुझावलाई स्वीकार गर्न नपर्ने भनिएको छ । तर, ती  सुझाव कार्यान्वयनको अवस्था के छ भन्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समेत छैन । 

प्राप्त सुझाव कार्यान्वयन भयो कि भएन भनेर नियमन गर्ने संयन्त्र नै नभएकाले पनि यस्ता आयोगको औचित्य खासै नदेखिएको एक पाइलटले बताए । ‘दुर्घटनापछि बन्ने प्रत्येक छानबिन आयोगले सरोकारवाला निकायलाई विभिन्न सुझाव दिँदै आएका छन्, तर प्रत्येक वर्ष जहाज दुर्घटना भइरहेका छन्,’ ती पाइलटले भने, ‘दुर्घटनापछि आयोग गठन गर्ने परम्पराजस्तो मात्रै बन्यो, झारा टार्ने काम भयो, यस्तो परिपाटीले हवाई सुरक्षामा हामी कमजोर देखिएका छौँ ।’ स्वीकार गरिएकामध्ये ७० सुझाव प्राधिकरणलाई, चार सुझाव पर्यटन मन्त्रालयलाई, ५८ सुझाव वायुसेवा कम्पनी र एउटा आयल निगमलाई रहेको छ । 

 विदेशी मिडियामा दुर्घटनाको खबर प्राथमिकतामा
बिबिसी, सिएनएन, एपी, एएफपी, रोयटर्स, न्युयोर्क टाइम्स, वासिङ्टन पोस्टलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखतासाथ जहाज दुर्घटनाको समाचार दिएका छन् । भारतीय सञ्चारमाध्यमले पनि प्रमुखताका साथ विमान दुर्घटनाको समाचार छापेका छन् । टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, हिन्दूलगायतका सञ्चारमाध्यमले अनलाइन संस्करणमा मुख्य समाचार नेपालको जहाज दुर्घटनालाई बनाएका छन् । टाइम्स अफ इन्डियाले दुई साताअघि उद्घाटन भएको चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा बारम्बार हवाई दुर्घटना हुने इतिहास पनि राखेका छन् ।
 

ad
ad
ad
ad