Skip This
६ महिनामा ८३ प्रतिशत योजना सम्झौता, बर्खे विकास रोक्न बजेट कार्यान्वयनमा कडाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ३० शनिबार २o:२४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

६ महिनामा ८३ प्रतिशत योजना सम्झौता, बर्खे विकास रोक्न बजेट कार्यान्वयनमा कडाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार २o:२४:oo

बाग्लुङ नगरपालिकाले बर्खे विकास रोक्न योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ। नगरपालिकाले गत साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध मिलाएर योजना सम्झौता र कार्यान्वय गएको हो। 

नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ८३ प्रतिशत योजना सम्झौता गरी कार्यान्वयनको चरणमा गएको छ। 

४ सय ७१ योजना सम्झौता कार्यान्वयनमा

चालू आर्थिक वर्षमा कुल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ सम्झौतापछि कार्यान्वयनको चरणमा छन्।
 
नगरपालिलकामा हाल ९१ योजनाका काम सकिएर फरफराक भैसकेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। शुक्रबार १२औँ नगरसभामा जानकारी दिँदै श्रेष्ठले यस वर्ष बढीभन्दा बढी योजना समयमै सम्पन्न हुने बताए। 

नगरपालिकाले समयमा नै योजना सम्झौता गरी समयमा नै काम सम्पन्न गर्ने उद्देश्यले वडा तहमा नै योजना सम्झौताका लागि घुम्ती सेवा सञ्चालन गरेको थियो। 

१४ वटै वडालाई लक्षित गरेर गरिएको घुम्ती सेवामार्फत स्वास्थ्य सेवा अपांगता परिचयपत्र र टोल विकास संस्था साथै व्यक्ति घटना दर्तासमेत गरिएको थियो। घुम्ती सेवामा सम्झौता भएको ९३ वटा योजना पनि हाल कार्यान्वयनको पक्षमा रहेको नगरप्रमुख श्रेष्ठले बताए। 

‘नगरका योजना कार्यान्वयनलाई व्यवस्थित र प्रभावकारी बनाउन समयमा नै सम्झौता गरी कार्यान्वयनको पक्षमा छौँ। नगरप्रमुख श्रेष्ठले भने, ‘उपभोक्ता समितिमार्फत कामअगाडि बढाइएका योजना पनि धमाधम सम्पन्न हुँदै छन्। सम्झौताका लागि सयमसीमा नै तोकेपछि यो वर्ष धेरै योजनाको काम बेलैमा अघि बढेका छन्।’ 

जेठ–असार लागेपछि बल्ल योजनाका काम लिएर नगरपालिका धाउने प्रवृत्ति अब हट्ने नगरप्रमुख श्रेष्ठले बताए। 

आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित

सम्झौता भएका योजना चैत–वैशाखभित्रै फरफारक गर्न नगरपालिकाले उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सचेत गराएको छ। 

योजनाहरू अन्तिम समयतिर सम्झौता भएर काम हुँदा मूल्यांकन र नापजाँच गर्न पनि कठिनाइ हुने हुँदा यसपटक साउनदेखि नै योजना सम्झौताको काम अगाडि बढाइएको प्रमुख प्रशासकीय  अधिकृत पुरुषोत्तम सापकोटाले बताए। 
नगरपालिकाले चालू आवको स्वीकृत नीति, कार्यक्रम र बजेटमा सो प्रावधान राखेको छ। नगरपालिकाको हिउँदे अधिवेशनबाट स्वीकृत भएका र ससर्ततर्फका योजना पनि फागुन मसान्तभित्रैमा सम्झौता गर्नुपर्ने नगरपालिकाले जनाएको छ। 

योजना सम्झौता ढिलो हुने, आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यान्वयन प्रणालीलाई व्यवस्थित गर्न लागिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘यसबाट नगरपालिकाको सेवा प्रवाहमा पनि सकारात्मक टेवा पुग्छ। सेवा प्रवाहलाई छरितो र चुस्त बनाउन नगरपालिकालाई सहज हुनेछ।’
 
नगरपालिकामा वडास्तरीय तीन सय ६३, नगरस्तरीय एक सय ३३, संघ र प्रदेशका २९, बोलपत्रमार्फत सञ्चालन हुने २९ र राष्ट्रपति शैक्षिक सुधारतर्फ विद्यालय पूर्वाधारका १५ योजना सञ्चालित छन्। निर्माण व्यवसायीबाट काम हुने योजनामध्ये १३ निर्माणाधीन अवस्थामा रहेको र पाँच योजनाको काम सुरु हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

असार मसान्त बुझाउनुपर्ने करमा जरिवाना छुट

नगरपालिकाले आगामी असार मसान्तभित्र बुझाउनुपर्ने व्यवसाय कर, सम्पत्ति करलगायतका बिलम्ब गरिएका कर तथा शुल्क बुझाएमा अहिलेसम्म लागेको जरिवाना छुट दिने निर्णय गरेको छ। 

नगरसभाले नगरपालिकालाई दिगो विकास र कर राजस्वमा सक्षम नगर बनाउने निर्णय गरेको छ। नगरलाई थप विकसित गर्न सफा तथा दिगो र योजनाबद्ध विकासलाइ गति दिन समयमा सन्तुलित विकासको नीति लिएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले मुख्य बजार क्षेत्रमा भूमिगत ढल निकास र फोहोर व्यवस्थापनको काम सुरु भैसकेको जानकारी दिए।

२८ प्रतिशत रकम खर्च 

१२औँ नगरसभाले आर्थिक वर्ष ०७९/८० को संशोधित बजेट पास गरेको छ। नगरसभाको ११औँ सभाले पारित गरेको १ अर्ब ३१ करोड बजेटबाट थप भएको बजेटसमेत संशोधन गरी १ अर्ब ५६ करोड ५ लाख बजेट पारित गरेको छ। 

साथै, उक्त बजेटको पूर्ण कार्यान्वयनको चुनौती पूरा गर्न काम कारबाही चुस्त बनाउनुपर्ने विषयमा छलफल भएको थियो।  नगरपालिकाले चालू वर्षको ६ महिनाको अवधिमा कुल बजेटको २८.३८ प्रतिशत र्खच गरेको नगर उपप्रमुख खड्काले बताए।

जसमा चालूतर्फ ३२.२२ र पुँजीगततर्फ २७.६५ प्रतिशत रकम खर्च भएको छ। नगरपालिकाले झन्डै ८३ प्रतिशत योजना तथा कार्यक्रमहरू सम्झौता गरी कार्यान्वयनमा ल्याएको उपप्रमुख खड्काले जानकारी दिए।