१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जेलमुक्त भएपछि केन्द्रीय कारागार सुन्धाराअगाडि सन्दीप । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सन्दीप १०० दिनमा थुनामुक्त

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o५:oo

बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्तसहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकोमा लामिछाने शुक्रबार २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनी जेलमुक्त हुँदा स्वागतका लागि समर्थक तथा आफन्तको जेलबाहिर भिड लागेको थियो । 

क्रिकेटमा छिट्टै फर्कनेछु : सन्दीप
अदालतबाट जे आदेश आउँछ त्यसको सम्मान गरेर अघि बढ्नेछु । अहिले आफ्नो फेमिली (परिवार)बाहेक केही पनि सोच्न सक्दिनँ । अपार मायाका लागि धेरै धन्यवाद । अदालतबाट जे फैसला आउँछ, त्यसलाई सम्मान गर्छु । अहिले धेरै प्रतिक्रिया दिन सक्ने हालतमा पनि छैन । क्रिकेटमा छिट्टै फर्कनेछु । 

छुटेपछि सन्दीपले अदालतबाट जे फैसला आउँछ त्यसलाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिए । ‘अहिले आफ्नो फेमिली (परिवार)बाहेक केही पनि सोच्न सक्दिनँ, अपार मायाका लागि धेरै धन्यवाद,’ सञ्चारकर्मीसँग उनले भने । अदालतले सो घटनाबारे सार्वजनिक टिप्पणी गर्न रोक लगाएको छ । 

२० असोजमा विदेशबाट फर्कंदै गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । ३० दिन प्रहरी हिरासतमा बिताएका सन्दीप १८ कात्तिकमा जेल चलान भएका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतले कडा सर्त राखेर धरौटीमा छाडेको हो । केन्द्रीय कारागारमा उनले ७० दिन बिताए । 

धरौटीमा छुटे पनि जिल्ला अदालतबाट उनको मुद्दाको फैसला भएको छैन । फैसलाका लागि सबै प्रक्रिया भने पूरा भइसकेको छ । विदेश जान रोक लगाउने मात्र होइन, काठमाडौं उपत्यका छाड्न पनि प्रहरीको अनुमति लिनुपर्ने सर्तमा अदालतले उनलाई रिहाइ गर्न आदेश दिएको हो । त्यस्तै, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने, पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज तथा पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने सर्तहरू उनीमाथि छ । यी सर्त पालना नगरे पुनः थुनामा बस्नुपर्ने उच्च अदालतको आदेश छ । 

बयान भइसकेकाले पीडितलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना नभएको, थुनाबाहिर हुँदा समाजमा उनको ज्यानमाथि खतरा नभएको, थुनामुक्त गर्दा सार्वजनिक शान्ति सुरक्षा, कानुन र व्यवस्थामा पनि खतरा नहुने अवस्था नभएको आधारमा उनी धरौटीमा छुटेका हुन् । घटनाअघि गम्भीर वा जघन्य प्रकृतिको अपराधमा संलग्न नभएको, थुनामुक्त गर्दा पीडितले आत्महत्या वा कुनै अप्रिय घटना छनोट गर्ने सम्भावना नभएको र मानसिक तनावको अवस्थाबाट गुज्रिरहेको इजलाससमक्ष बहसको क्रममा उल्लेख गरेको विषयलाई अदालतले धरौटीमा छाड्ने आधार मानेको हो । ५ भदौमा पिंगलास्थानको एक होटेलमा आफूमाथि बलात्कार भएको भन्दै सन्दीपविरुद्ध एक किशोरीले २० भदौमा जाहेरी दिएकी थिइन् । 

जेलबाट तत्कालका लागि छुटे पनि उनको क्रिकेट करिअर भने अन्योलमै छ । कारागारबाट रिहा हुँदै गर्दा क्रिकेटमा कहिले फर्कनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘भेरि सुन, भेरि सुन, छिट्टै ।’ उनलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानमा पुनर्बहाली गर्नुपर्ने उनका वकिलहरूले जिकिर गरेका छन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले शारीरिक र मानसिक अवस्था ‘फिट’ भए राष्ट्रिय क्रिकेट टिममा खेलाउन सकिने बताएका छन् ।
 

ad
ad