Skip This
एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २९ शुक्रबार o७:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार o७:११:oo

एमाले पूर्वउपमहासचिव भुसालले टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए 

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो भुसाल एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ । 

भुसाल एमाले पूर्वउपमहासचिव हुन् । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध छैनन् । भुसाललाई एकीकृत समाजवादीले पार्टीमा स्वागत पत्र पठाइसकेको छ । 

एकीकृत समाजवादीका महासचिव एवं वाम एकता वार्ता समितिका संयोजक डा. बेदुराम भुसालले सैद्धान्तिक र वैचारिक सवाल सम्बोधन हुने गरी पत्र पठाएका हुन् । ‘तपाईंले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’लाई सम्बोधन गरेर ‘नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गर्नुभएका प्रस्तावहरू अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईंले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन्,’ पत्रमा भनिएको छ, ‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नुभएका धारणा उक्त प्रतिबद्धताअनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो एकीकृत समाजवादीमा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान् अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

यसअघि भुसालले सैद्धान्तिक र वैचारिक विषय उल्लेख गरेर एकीकृत समाजवादीको वार्ता समितिलाई पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘एमाले र माओवादीको एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसद्को विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि एमाले र माओवादी दुवै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के, तर एकीकृत समाजवादी सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै बिन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले एकीकृत समाजवादीमा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्कीकन सुखै छैन ।’ 

एमालेको नवौँ महाधिवेशनको निर्णयप्रति एकीकृत समाजवादी अहिले पनि प्रतिबद्ध रहेको र नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै रहेको समाजवादीको ठम्याइ छ । ‘समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । हामीले ०७७ चैत ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ, त्यसमा एकीकृत समाजवादी आज पनि प्रतिबद्ध छ,’ समाजवादीको पत्रमा छ, ‘यतिवेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही एकीकृत समाजवादीमा एकताबद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौँ भन्ने पनि अनुरोध छ ।’