१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार ११:११:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीमा १ बजे शपथग्रहण, तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:११:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराउनेछन्। साथै आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ।

एमाले र माओवादी केन्द्रबाट एक–एक मन्त्री बनाउने तयारी गरिएको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए। ‘आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ,’ उनले भने, ‘त्यसका लागि छलफल भइरहेको छ।’

माओवादी केन्द्रमा बाँकेबाट निर्वाचित कृष्णा केसीको नाम चर्चामा छ। उनले भौतिक पूर्वाधार विकास मन्त्रालय वा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको माग गरेकी छिन्। ‘म मन्त्रिपरिषदमा जाने लगभग पक्काजस्तै भएको छ,’ उनले भनिन्, ‘भाैतिक पूर्वाधार वा सहरी विकासमध्ये एउटा मन्त्रालयको माग गरेकी छु। यो विषयमा पार्टीमा छलफल भइरहेको छ।’ त्यस्तै एमालेले भूमेश्वर ढकाललाई पठाउने तयारी गरेको छ। 

अहिले लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन्। यसलाई घटाउने गरी छलफल भइरहेको छ। १० वटा मन्त्रालय मात्रै राख्ने तयारी गरिएको बाँकेबाट निर्वाचित सांसद कृष्णा केसीले बताइन्। ‘मन्त्रालय घटाउने गरी छलफल भइरहेको छ। सायद १० वटा मात्रै हुन्छ होला,’ उनले भनिन्, ‘त्यसमै भागबन्डा मिल्ला।’

१० वटामध्ये एमालेले मुख्यमन्त्रीबाहेक चारवटा मन्त्रालय दाबी गरेको छ। तर, यो कुरालाई गठबन्धनका अन्य दलले स्वीकार गरिरहेका छैनन्। त्यस्तै, माओवादी केन्द्रले तीनवटा र अन्य साना दललाई तीनवटा मन्त्रालय दिने गरी छलफल अगाडि बढाइएको केसीले बताइन्।

एमालेले रुकुम पूर्वबाट एकजना र बाँकेबाट एकजनालाई मन्त्री बनाउन सक्ने आकलन गरिएको छ। मुख्यमन्त्री रुपन्देही २ (१) र मन्त्री बन्ने पक्काजस्तै भएका ढकाल रुपन्देही ५ (१)बाट निर्वाचित हुन्। दुवैजना रुपन्देहीका भएकाले अन्य मन्त्रालय रुकुम पूर्व र बाँकेलाई दिने सम्भावना रहेको बताइएको छ। रुकुमपूर्वबाट एमाले सांसद सरिता पुन छिन् भने बाँके १ (२)बाट निर्वाचित दुर्गा चौधरीको नाम पनि चर्चामा छ। तर, मन्त्रीका लागि चेतनारायण आचार्यसहितका सांसदहरू आकांक्षी छन्।

त्यस्तै माओवादी केन्द्रमा संसदीय दलका नेता जोखबहादुर महरा पनि मुख्यमन्त्री बन्न सक्ने चर्चा छ। शक्तिशाली मन्त्रालय लिएर मन्त्रिपरिषदमा जाने गरी तयारी गरेका नेता महराले स्वीकार गरे। त्यस्तै दाङ ३ (२)बाट निर्वाचित धनबहादुर मास्कीको पनि मन्त्रीमा चर्चा छ।  माओवादी केन्द्रका १० सांसदमध्ये अधिकांशले मन्त्रीको आकांक्षा राखेका छन्।

आज मुख्यमन्त्री र मन्त्रीले नेपालको संविधान धारा १७२ बमोजिम शपथ लिनेछन्। बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

ad
ad