१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पर्यटक भिसाको बढ्दो दुरुपयोग : ६ वर्षमा तीन हजार २८ विदेशी निष्कासित

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo

सहज भिसा र कमजोर कानुनका कारण अन्तर्राष्ट्रिय लागुऔषध तस्करदेखि बाल यौन दुराचारसम्मका अपराधी आउँछन् नेपाल

यस्तो उदार भिसा नीतिले विदेशी अपराधी नेपाली भूमि दुरुपयोग गर्छन् 
नेपाल अनअराइभल भिसा (विमानस्थलमै दिइने भिसा)मा उदार भएकाले पनि अन्तर्राष्ट्रिय अपराधीले नेपाली भूमिलाई दुरुपयोग गरेको प्रहरी अधिकारीहरूको भनाइ छ । नाइजेरिया, घाना, जिम्बाबे, इस्वाटिनी, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले मात्रै नेपाल आउँदा दूतावास तथा कन्सुलेटबाट भिसा लिनुपर्ने हुन्छ । अन्य देशका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदै आएको छ । मन्त्रिपरिषद्बाटै निर्णय गरेर अनअराइभल भिसा नपाउने देशको नकारात्मक सूची बनाइन्छ । सरकारले राष्ट्रिय सुरक्षाभन्दा पनि पर्यटक भित्र्याउने उद्देश्यले यस्तो नीति बनाउने गरेको छ । तर, धेरैलाई अनअराइभल भिसा दिँदा पर्यटकको भेषमा अपराधी आउने क्रम बढेको सुरक्षा निकायको विश्लेषण छ । 

विदेशी नागरिकको निगरानी गर्न निर्देशिका बन्यो, तर अनुगमन संयन्त्र निष्क्रिय
अवैध रूपमा बस्ने विदेशीका कारण राष्ट्रिय सुरक्षामा चुनौती बढेको भन्दै चार वर्षअघि सरकारले उनीहरूमाथि अनुगमन गर्न ‘विदेशी नागरिक अनुगमन निर्देशिका– २०७५’ जारी गरेको थियो । केन्द्रमा गृहसचिव र अध्यागमन विभागका महानिर्देशकको नेतृत्वमा दुई छुट्टाछुट्टै उच्चस्तरीय अनुगमन संयन्त्र रहने प्रावधान निर्देशिकामा छ । तर, दुवै संयन्त्र सक्रिय छैनन् । त्यस्तै, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पनि छुट्टै संयन्त्र छन् । केन्द्रीय संयन्त्रका बैठक वेलावेलामा बस्ने गरेको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताइन् । यस्ता बैठक गोप्य हुने भएकाले कहिले बसेको थियो भन्नेचाहिँ जानकारी नभएको उनको भनाइ छ । 

...                                     ... 

नियमन र कारबाहीको संयन्त्र चुस्त नहुँदा पर्यटकका रूपमा नेपाल आउने विदेशी नागरिकले भिसाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । पछिल्ला ६ वर्षमा यस्ता गतिविधिमा संलग्न तीन हजार २८ विदेशीलाई नेपालबाट निष्कासन गरिएको छ । निष्कासित हुनेमा ८५ प्रतिशत ओभर स्टेसम्बन्धी कसुरका छन् । सन् २०२२ मा मात्रै पाँच सय ५८ विदेशी निष्कासनमा परेका छन् । 

अध्यागमन विभागका अनुसार सन् २०२१ मा दुई सय १८ र २०२० मा तीन सय ३२ विदेशीलाई निष्कासित गरिएको थियो । २०२० मा नेपालमा गोप्य रूपमा इन्टरनेटमार्फत जुवालगायत अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई एकैपटक पक्राउ गरी निष्कासन गरिएको थियो । चीनले प्लेन नै चार्टर गरेर उनीहरूलाई लगेको थियो । त्यस्तै, सन् २०१९ मा ६ सय ६८ जना, २०१८ मा ६ सय ९२ जना र २०१७ मा पाँच सय ६० जना निष्कासनमा परेका थिए । 

मुख्यगरी ‘ओभर स्टे’सम्बन्धी अध्यागमन कसुरमा धेरै निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले बताए । नेपालमा अमेरिकीबाहेकका नागरिकले पर्यटक भिसामा एक वर्षमा एक सय ५० दिनसम्म मात्र बस्न पाउँछन् । केही विदेशीले त्यसभन्दा लामो समय बसेर अध्यागमन कानुन मिच्ने गरेका छन् । लामो समय बस्नेहरू घुम्नभन्दा गैरकानुनी रूपमा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्ने तथा आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेका छन् । 

राज्यको ‘पर्यटकमैत्री नीति’का कारण अवैध बस्नेहरूलाई पनि सामान्य जरिवाना गरेर निष्कासन गरिन्छ । एक सय ५० दिनभन्दा धेरै बस्नेलाई दिनको आठ अमेरिकी डलरका दरले जरिवाना हुने गरेको छ । एक वर्षसम्म यसरी बस्नेहरूलाई एक भिसा वर्षसम्म आउन नपाउने गरी निष्कासन हुने गरेको छ । सन् २०२२ मा निष्कासनमा परेका व्यक्ति २०२३ मा आउन पाउँछन् । 

यही फितलो अध्यागमन कानुनको फाइदा उठाउँदै कतिपय विदेशी जानी–जानी कानुनविपरीत पर्यटक भिसामा नेपाल बस्ने गरेका छन् । यसमा धेरैजसो चिनियाँ छन् । पर्यटक भिसामा नेपाल बस्दै आएका चिनियाँ अवैध कल सेन्टर सञ्चालनदेखि मानव बेचबिखनसम्मका अपराधमा पक्राउ पर्दै आएका छन् । नेपालमा चिनियाँ नागरिकलाई ३० दिनसम्मको भिसा निःशुल्क भएकाले पनि अवैध रूपमा बस्ने चिनियाँको संख्या बढेको अध्यागमनका अधिकारीहरू बताउँछन् । 

लामो समय बसेर निष्कासनमा पर्नेमा अमेरिकी नागरिकको संख्या पनि ठूलो छ । यसमा धेरैजसो नेपाली मूलका अमेरिकी नागरिक हुने गर्छन् । उनीहरूमध्ये कतिपयलाई अध्यागमन कानुनबारे जानकारी नै हुँदैन । कतिपय भने जानकारी भए पनि जरिवाना तिरेर बस्ने गरेका छन् । 

अन्य देशका नागरिक एक वर्षमा अधिकतम एक सय ५० दिनसम्म पर्यटक भिसामा बस्न पाउने भए पनि बहुप्रवेशी भिसा लिएका अमेरिकी नागरिक भने एक सय ८० दिनसम्म बस्न पाउँछन् । चार वर्षअघि नेपाल र अमेरिकाले भिसामा पारस्पारिकताको सम्झौता गरी यस्तो प्रावधान लागू गरेका थिए । नेपालले पारस्परिकता पूर्ण रूपमा लागू गरे पनि अमेरिका जाने नेपालीको हकमा भने पूर्ण रूपमा कार्यान्वयन नहुने गुनासो आउने गरेको विभागका एक अधिकारीले बताए । 

त्यस्तै, अध्यागमनबाहेक अन्य अपराध गरी निष्कासनमा पर्ने ३४ जना छन् । त्यसमध्ये एक कुख्यात सिरियल किलर चार्ल्स शोभराज हुन् । उनलाई गत ८ पुसमा निष्कासन गरिएको थियो । दुईवटा हत्या र एउटा हत्या प्रयासको मुद्दामा १९ वर्ष तीन महिना जेल बसी सर्वाेच्च अदालतको आदेशमा नौ महिना कैद छुट पाएर उनी छुटेका हुन् । शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । यसरी निष्कासित हुने धेरैजसो जेलबाट छुटेका कैदी छन् । 

‘विदेशी नागरिक अनुगमन निर्देशिका– २०७५’ मा अध्यागमन अधिकृतलाई आफैँ पुर्जी दिएर खानतलासी गर्ने र पक्राउ गर्ने अधिकार दिएको थियो । ‘कतै विदेशीहरू शंकास्पद गतिविधिमा रहेको सूचना आउँछ, तर छापा हान्न जाने स्वीकृति माथिबाट आउँदैन,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘केही समयअघि २२ जनालाई पक्राउ गरेर प्रहरीलाई बुझायौँ, तर उनीहरूलाई अनुसन्धान नै नगरी छाडिएछ ।’ विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले प्रहरीको सहयोगमा अनुगमन भइरहेको बताए । ‘पर्यटकीय हबमा हामीले निगरानी गरिरहेकै हुन्छौँ,’ उनले भने, ‘पर्यटक प्रहरीले पनि अनुगमन गरिरहेको हुन्छ ।’ 

विदेशीमाथि अनुगमन तथा नियमनका लागि विभागमा सूचना संकलनको छुट्टै शाखा भए पनि अधिकार नदिँदा प्रभावकारी हुन सकेको छैन । पर्यटक मात्र नभई बिजनेस तथा विद्यार्थी भिसामा नेपालमा बस्दै आएका विदेशीसमेत अवैध गतिविधिमा संलग्न रहेको सूचना गृह मन्त्रालय तथा अध्यागमन विभागमा आउने गरेको छ । तर, छानबिन र कारबाही चुस्त हुन सकेको छैन । 

उदार भिसा नीतिका कारण पनि सहजै आउँछन् अन्तर्राष्ट्रिय अपराधी 
नेपाल अनअराइभल भिसा (विमानस्थलमै दिइने भिसा)मा उदार भएकाले पनि अन्तर्राष्ट्रिय अपराधीले नेपाली भूमिलाई दुरुपयोग गरेको प्रहरी अधिकारीहरूको भनाइ छ । नाइजेरिया, घाना, जिम्बाबे, इस्वाटिनी, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले मात्रै नेपाल आउँदा दूतावास तथा कन्सुलेटबाट भिसा लिनुपर्ने हुन्छ । अन्य देशका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदै आएको छ । 

मन्त्रिपरिषद्बाटै निर्णय गरेर अनअराइभल भिसा नपाउने देशको नकारात्मक सूची बनाइन्छ । सरकारले राष्ट्रिय सुरक्षाभन्दा पनि पर्यटक भिœयाउने उद्देश्यले यस्तो नीति बनाउने गरेको छ । तर, धेरैलाई अनअराइभल भिसा दिँदा पर्यटकको भेषमा अपराधी बढेको सुरक्षा निकायको विश्लेषण छ । सहज भिसा र कमजोर कानुनका कारण अन्तर्राष्ट्रिय लागु तस्करदेखि एटिएम ह्याकिङ तथा बाल यौन दुराचारका अपराधीले नेपाललाई सुरक्षित भूमिका रूपमा रोज्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । 

खासगरी द्वन्द्वग्रस्त देशका नागरिकलाई अनअराइभल सुविधा दिइएको छैन । विगतमा द्वन्द्वमा रहेका, तर हाल शान्ति अवस्था सुधार भएका देशलाई नकारात्मक सूचीमै राखिएको छ भने अन्य कतिपय देशमा हिंसा बढे पनि अनअराभइल दिइएको छ । अनअराइभल भिसाको नकारात्मक सूची समीक्षा र संशोधन वर्षाैँदेखि हुन सकेको छैन ।

अफ्रिकामा घानालाई तुलनात्मक रूपमा सुरक्षित देश मानिन्छ । त्यसलाई नकारात्मक सूचीमा राखिएको छ भने ‘विश्व शान्ति सूचकांक’मा सबैभन्दा तल रहेका दक्षिण सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सुडान, लिबिया, माली, बुर्किना फासो, कंगोलगायत देशका नागरिकलाई भने अनअराइभल भिसा दिने गरिन्छ । 

पूर्वएआइजी पुष्कर कार्की भन्छन् –अनुगमन संयन्त्र प्रभावकारी भएन

हाम्रो अनुगमन संयन्त्र प्रभावकारी हुन नसक्दा नै विदेशीले अपराधका लागि नेपाली भूमिको दुरुपयोग गरेका हुन् । हाम्रो डाटा सिस्टम नै राम्रो छैन । अनुगमनको व्यवस्था साह्रै कमजोर भयो ।

अनुगमनको डर नभएकै कारण विदेशी नागरिक नेपालमा महिनौँसम्म पर्यटक भिसामा काम गरिरहेका हुन्छन् । कोही किन बारम्बार आइरहेको छ भनेर हेर्ने सिस्टम बसेको छैन । यसमा अध्यागमन सक्रिय हुनुपर्छ ।

नेपाल आएका विदेशीहरू आर्थिक अपराधदेखि बालयौन दुराचारसम्ममा संलग्न देखिएका छन् । अन्तर्राष्ट्रिय अपराधको सूचना आदान–प्रदानको संयन्त्र पनि चुस्त बनाएर अनुगमनको सिस्टमलाई प्रभावकारी बनाउनुपर्छ ।

ad
ad