१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २६ मंगलबार ११:०३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नियमित व्यायामले बढाउँछ निर्णय क्षमता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २६ मंगलबार ११:०३:००

नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कले सेरोटोनिन, इन्ड्रोफिन, सेन्ड्रोफिनजस्ता हर्मोनको बढी उत्पादन गर्छ । जसले मानिसलाई पोपजिटिभ र रिल्याक्स रहन सहयोग पुर्‍याउने गर्छ । यसले मानिसको निर्णय क्षमता पनि बढाउँछ । 

आदर्श प्रधान मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर

व्यायामलाई मानिसले जीवनशैलीको एउटा अंग बनाउन आवश्यक छ । व्यायामले शरीरलाई फिट मात्र गराउँदैन, मानसिक स्वास्थ्यका लागि पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यी हुन् व्यायामले मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव :

- अहिले मानिसको जीवनशैली एकदमै व्यस्त छ । त्यसैले प्रायले व्यायाम गरेको पाइँदैन । यसले सबैभन्दा ठूलो असर निद्रामा पार्छ । हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया, स्लिप डिसअर्डरलगायतका समस्या निम्तिन्छन् ।

- व्यायामको अर्को महत्वपूर्ण काम भनेको मुडमा परिवर्तन हो । भोकाएको, कुनै समस्या भएका वेला हामीमा रिस उठ्न सक्छ । तर, नियमित व्यायामले यसमा पनि फाइदा पुग्छ । यसर्थ, व्यायामले मुडलाई ब्यालेन्स गर्ने काम गर्छ । जसले मानिसमा हुने तनाव कम गर्न भूमिका खेल्छ । 

- योजना बनाई नियमित व्यायाम गर्दा मानिस खुसी हुन पनि सहयोग पुग्छ । यसरी व्यायाम गर्दा दिमागले खुसी हुने खालका हर्मोन रिलिज गर्छ । 

- व्यायामले सेन्स अफ कन्ट्रोलमा ठूलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ । 

- व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ, जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।

- हरेक मानिसको आ–आफ्नै सपना हुन्छ । कुनै लक्ष्यप्राप्तिका लागि मानिसले काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्यप्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली, अल्छीपना, ढिलो सुत्ने÷उठ्ने खालको देनिकी भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ । 

- कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् । जसले जुनकुनै पेसामा पनि असर पुर्‍याउन सक्छ । व्यायाम गर्दा मानिस सामाजिक हुन पनि सघाउ पुग्छ । खासगरी एरोबिक, जिम, डान्स वा जेसुकै गर्दा होस्, यसले मानिसलाई बिस्तारै सामाजिक रूपमा घुलमेल हुन सहयोग पुर्‍याउँछ ।

- हाम्रो शरीरको आफ्नै खालका मसल्सको नेचर हुन्छ । व्यायामले मसल्समा भएका तनावलाई हटाएर मानिसलाई रिल्याक्स बनाउन सघाउ पुर्‍याउँछ । त्यस्तै, शरीर र मनको पनि अन्तर्सम्बन्ध हुन्छ । जसले गर्दा एक्सरसाइजले सकारात्मक सोचाइको विकास गर्न भूमिका खेलिरहेको हुन्छ । 

व्यायामपछि यस्ता हर्मोन

मस्तिष्कले फरक–फरक अवस्थामा फरक–फरक खालकै हर्मोन रिलिज गर्छ । जस्तो कि खुसी हुँदा, दुःखी हुँदा, उत्साहित हुँदा त्यही प्रकारका हर्मोन रिलिज गर्छ । नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कले सेरोटोनिम, इन्ड्रोफिन, सेन्ड्रोफिनजस्ता हर्मोनको बढी उत्पादन गर्छ । जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्‍याउने गर्छ । 

- त्यस्तै, शरीरलाई मस्तिष्कले नै सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कले उत्पादन गर्ने हर्मोनअनुसार शरीरले प्रतिक्रिया जनाउँछ । त्यसैले मानसिक रूपमा पनि स्वस्थ रहन नियमित व्यायामको आवश्यकता पर्छ ।

कस्तो व्यायाम गर्ने ?
- मस्तिष्ककै लागि भनेर ठ्याक्कै त्यस्तो व्यायाम त त्यति धेरै छैनन् । तर, सामान्यतया योगा, हिँडाइ, डान्स, जिम या अन्य व्यायाम गर्न सकिन्छ ।

- अहिले जाडो मौसम भएकाले बाहिर मर्निङ वाक गर्न हुँदैन । चिसोले शरीर खुम्चिएको हुन्छ । जसले गर्दा सकेसम्म भित्रै बसेर शारीरिक व्यायाम गर्दा राम्रो हुन्छ । आफ्नो शरीरको संरचना हेरेर कस्तो शारीरिक अभ्यास आवश्यक पर्छ, त्यसलाई ख्याल गरेर शारीरिक व्यायाम गर्दा राम्रो हुन्छ । 

- हामीले सकेसम्म हेभी एक्सरसाइज गर्नुहुँदैन । मध्यम खालको एक्सरसाइजले नै बढी फाइदा गर्छ । शरीरको अवस्था हेरी हिँडाइको एक्सरसाइज गर्नुपर्छ । सकेसम्म बिस्तारै हिँड्ने एक्सरसाइज गर्दा राम्रो हुन्छ ।

- व्यायामको अर्को पाटो आराम पनि हो । हामीले हेभी एक्सरसाइज गर्‍यौँ वा काम गर्‍यौँ, तर आराम गरेनौँ भने त्यसले मस्तिष्कमा नकारात्मक असर पुग्छ । 

- व्यायाममा प्राणायाम निकै उपयुक्त हुन्छ । यसले ब्रेनमा सकारात्मक प्रभाव पार्छ ।