
ट्राफिक नियम उल्लंघनका १६ वटा कसुरमा पहिलोपटकमै एक हजार पाँच सय जरिवाना गराउन थालेको उपत्यका ट्राफिक प्रहरीले यससम्बन्धी प्रावधान संशोधन गर्ने भएको छ । त्यसविरुद्ध उजुरी परेको र कानुनअनुसार नभएपछि जरिवानाको दर संशोधन गर्न लागिएको हो ।
यातायात व्यवस्था विभागले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३ पुसदेखि १६ वटा कसुरमा एक हजार पाँच सय जरिवाना हुने प्रावधान लागू गरेको थियो । त्यो प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ सँग बाँझिएपछि संशोधन गर्न लागिएको हो । सो दफामा २० वटा कसुरमा सुरुमा पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिवाना गर्ने प्रावधान छ ।
अब त्यहीअनुसार जरिवाना प्रणाली लागू गर्न लागिएको छ । त्यसका लागि तयारी भइरहेको ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ‘अहिलेलाई एक हजार पाँच सय नै जरिवाना छ,’ उनले भने । ०७५ सालमा विभागले १६ वटा कसुरमा अधिकतम जरिवाना गर्न ट्राफिक प्रहरीलाई अधिकार प्रत्यायोजन गरेको थियो । सो प्रावधान हालै कार्यान्वयन भएपछि सर्वसाधारणले यातायात व्यवस्थापन विभागमा उजुरी गरेका थिए ।