१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format o७:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिक्सिङ प्रकरण : क्यानले राखेपलाई बुझायो कागजपत्र

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आइतबार आवश्यक कागजपत्र बुझाएको छ । राखेपको छानबिन कार्यदल समितिले शुक्रबार क्यानलाई नेपाल टी–२० लिगको फिक्सिङ सम्बन्धमा २४ घन्टाभित्र आवश्यक सबै कागजपत्र बुझाउन पत्र काटेको थियो । राखेपको पत्रअनुसारै क्यानले ६ बुँदामा उल्लिखित सबै कागजपत्र बुझाएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

‘हामीले आज (आइतबार) सबै आवश्यक कागजपत्र राखेपमा बुझाएका छौँ,’ मल्लले भने, ‘फिक्सिङको अनुसन्धानमा क्यानले सबै सहयोग गर्नेछ ।’ कार्यदल समितिका संयोजक एकेन्द्र कुँवरले पनि क्यानका पदाधिकारीले कागजपत्र बुझाएको बताएका छन् । ‘राखेपले ६ बुँदामा माग गरिएको आवश्यक पर्ने कागजपत्र प्राप्त भएको छ,’ कुँवरले भने, ‘अब हामी सोमबारदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौँ ।’ 

कुँवरले क्यानका डकुमेन्ट मंगलबारबाट हेरिने बताए । उनका अनुसार क्यानले प्रतियोगिताको स्वीकृति, खेलाडी श्रमस्वीकृति, भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग भएको सम्झौतापत्र बुझाएको छ । क्यान स्वयंले आयोजना गरेको टी–२० लिगमा खेलाडीदेखि कमेन्टेटरले फिक्सिङ भइरहेको र प्रस्ताव आएको सार्वजनिक गरेपछि प्रतियोगिताले नयाँ मोड लिएको हो । गृह मन्त्रालयको निर्देशनमा सिबिआईले समेत टी–२० को अनुसन्धान गरिरहेको छ । 

यसैगरी, विश्व क्रिकेटकै सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दुई विशेष प्रतिनिधि काठमाडौं पठाएको थियो । आइसिसीका प्रतिनिधिले दुई दिन खेलाडी, क्यान पदाधिकारी, सिबिआई, राखेप र अफिसियलसँग फिक्सिङसम्बन्धमा छलफल गरेका थिए । आइसिसी प्रतिनिधिले आफ्नो प्रतिवेदन आइसिसीमा बुझाउनेछ । 

आइसिसी सकारात्मक 
क्यान कार्यवाहक सचिव मल्लले आइसिसीको भ्रमण टोलीले दुई दिनसम्म गरेको अनुसन्धानमा बोर्डप्रति सकारात्मक रहेको बताएका छन् । ‘उहाँहरू फर्कने क्रममा क्यानप्रति सकारात्मक भएको हामीले पाएका छौँ,’ मल्लले भने । आइसिसीको एन्टिकरप्सन युनिट (एसियू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्र्यु एफग्रेभ र सन्नी छानबिन गर्न गत बिहीबार काठमाडौं आएका थिए ।

मल्लले प्रतियोगिताका दौरान क्यानले सिबिआई र आइसिसीलाई समेत स्पट फिक्सिङ र सम्भावित म्याच फिक्सिङको विषयमा जानकारी गराएको बताए । ‘हाम्रो र आइसिसीको एसियू टोलीले खेलस्थलदेखि खेलाडी बस्ने होटेलसम्म निगरानी राखेको हुन्छ । त्यति हुँदा पनि सम्भावित शंका भएपछि हामीले जानकारी गराएका थियौँ,’ मल्लले भने, ‘सिबिआईमा जानकारी गराएका थियौँ । यसैले पनि आइसिसीका प्रतिनिधि सकारात्मक देखिएका थिए,’ मल्लले भने, ‘आइतबार पनि आइसिसीका प्रतिनिधिसँग वार्ता भएको थियो, फिक्सिङसम्बन्धमा छिटै निर्णय गर्नेछ ।’

इपिएलमा पनि स्पट फिक्सिङ प्रस्ताव 
क्यान स्रोतका अनुसार एभरेस्ट प्रिमियर लिग (इपिएल)मा समेत स्पट फिक्सिङ र म्याच फिक्सिङको प्रस्ताव हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिकासँग सम्पर्कमा आएका क्यानका एक पदाधिकारीले इपिएलमा यस्ता गतिविधि भएको स्विकारे । क्यान आइसिसीको प्रतिबन्धमा रहँदा इपिएल आयोजना भएको थियो । ‘क्यान प्रतिबन्धमा रहँदा आयोजना भएको इपिएलको संस्करणमा पनि स्पट फिक्सिङ र म्याच फिक्सिङको प्रस्ताव आएको थियो,’ स्रोतले भन्यो, ‘त्यो वेला यो घटनालाई लुकाउने प्रयास भयो, बाहिर नै आएन ।’ उनले क्यान र नेपाली क्रिकेटको बदनाम गराउन कुनै गिरोह लागेको आरोप लगाएका छन् । ‘स्पट फिक्सिङ र म्याच फिक्सिङका प्रस्ताव खेलकुदमा हुन्छन् नै । यस्ता सूचना सम्बन्धित स्थानमा दिनुपर्छ । तर, नेपाल टी–२० लिगलाई बदनाम गराउन पहिला हल्ला फिजाउने काम भयो,’ स्रोत भन्छ ।