१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Friday, 09 May, 2025
२o७९ पौष २४ आइतबार १३:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटै कक्षामा डेढ सय विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १३:५७:oo

सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरूले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।

नेपाल–भारत सीमानजिक रहेको उक्त विद्यालय ०११ सालमा स्थापना गरिएको हो। विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन्। शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ।

यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नु परिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए। सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ययनरत छन्।

कक्षा ६ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक यादवले बताए। ‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ,’ उनले भने, ‘यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ। योबाहेक हामीसित अरू उपाय छैन।’

विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ। विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ। शाखा प्रमुख दिनेशकुमार मण्डलले  यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुन सक्ने बताए।

विद्यालयमा ४ बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन्। ‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिकै बसेर के गर्नु ?’ कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, ‘सबै विषयको पढाइ कहिल्यै हुँदैन।’

बालविकास कक्षा सहयोगी नीलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन्। ‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ। विद्यार्थीलाई सम्हाल्नै मुस्किल हुन्छ।’

प्रअ यादवका पनि आफ्नै समस्या छन्। ‘विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ। सधैँ विद्यालयमा भइन्न,’ उनले भने। विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दीअनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताए।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक निजी स्राेतमा राखेर समस्या समाधान गरिने बताउँछन्। विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ। ‘सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ,’ प्रअ यादवले भने।

विद्यालयसित रहेको सात कठ्ठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ। विद्यालयको घेरापर्खालसमेत छैन। प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा रु. २५ लाखको लागतमा हालै दुईकोठे पक्की भवन निर्माण गरिएको छ। रु. ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदै छ। रासस